कोरोनाको रिपोर्ट अब मोबाइलमा

रासस
भाद्र २०, २०७७
Mobile Phone

भरतपुर, २० भदौ । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताए । ‘कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ’, उनले भने, ‘पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।’

उनले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताए । फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उनले बताए । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए ।

नेगेटिभ वा पोजिटिभ रिपोर्ट आएकाको मोबाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेबसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिङ्कमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ । ‘स्वाब सङ्कलनपछि सबै सफ्टवेयरबाट काम हुन्छ’, बस्यालले भने, ‘फर्म र स्याम्पल बारकोडमा हालिन्छ । यसले हराउने र तलमाथि हुने सम्भावना कम हुन्छ ।’ सबै रिपोर्ट डिजिटल सिस्टममा हुने भएकाले फाइल पल्टाउने झन्झट गर्नु नपर्ने उनले बताए ।

प्रयोगशाला प्रमुख डा नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गरे । ‘कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तै आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिँदैन’, डा अधिकारीले भने । रिपोर्ट मोबाइलमा पठाउन शुरु भएपछि कर्मचारी र सर्वसाधारण दुवैलाई सहज हुने भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । रिपोर्टकै लागि धेरै समय खर्च गर्नुपर्ने बाध्यता हट्ने उनको विश्वास छ ।

अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ । चैत २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म करीब २१ हजार नमूना परीक्षण गरिएको छ । चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width