कुश्माको पुल सञ्चालनमा नआउँदै त्रुटि

रासस
श्रावण २३, २०७७

पर्वत २३ साउन । पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै संख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताए ।

करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । उनले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताए । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उनले बताए ।

थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो । पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ । पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width