इङ्लिस प्रिमियर लिग फुटबलमा भार्डीको १०० औं गोल

आदर्श समाज सम्वाददाता
असार २२, २०७७
Jamie Vardey

पोखरा । लेस्टर सिटीका जेमी भार्डीले इङ्लिस प्रिमियर लिग फुटबलमा सय गोल पूरा गरेका छन् ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा लेस्टर सिटीका फरवार्ड भार्डीले २ गोल गर्दै आफ्नो गोल संख्या १ सय बनाएका हुन् ।

घरेलु मैदान किङ्स पावर स्टेडियममा ३–० को जित निकाल्ने क्रममा भार्डीले ७७ र दोस्रो हाफको इन्ज्यूरी समयमा गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मिडफिल्डर हार्वे बर्नर्सले भार्डीका लागि दुवै गोलमा असिस्ट गरे ।

प्रिमियर लिग करिअरको आफ्नो २०६ औं खेल खेल्ने क्रममा भार्डीले व्यक्तिगत पहिलो र क्लबका लागि समग्र दोस्रो गोल गर्दै सय गोल पूरा गरे । प्यालेसका लेफ्ट ब्याक बल क्लियर गर्ने क्रममा चिप्लिएपछि पाएको बललाई बर्नर्सले पेनाल्टी एरियाभित्र रहेका भार्डीलाई बल एसिस्ट गरेका थिए । पाएको अवसरलाई बिना गल्ती पोस्टको दिशा दिँदै भार्डीको १०० औं गोल पूरा गरेका थिए ।

लिगमा लेस्टरको लागि १०१ औं गोल गर्न पनि भार्डीले धेरै समय कुर्नुपरेन । दोस्रो हाफमा थप गरिएको इन्जुरी समयमा बर्नर्सले नै मिलाइदिएको पासमा भार्डीले व्यक्तिगत दोस्रो र लेस्टर सिटीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

मैदानको मध्य भागमा पाएको पास बललाई भार्डीले एक्लै अघि बढाएर सुन्दर गोल गरेका थिए । यससँगै ३३ वर्षीय भार्डी इङ्लिस प्रिमियर लिगमा सय गोल गर्ने २९ औं खेलाडी बनेका छन् । एउटै क्लवबाट सय गोल गर्ने भार्डी १६ औं खेलाडी हुन् ।

यो सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका भार्डीले २१ गोल गरेका छन् । २५ वर्षसम्म इङ्लान्डको लिग फुटबलमा सहभागी नभएका भार्डीको उपलब्धि साँच्चिकै उदाहरणीय छ । जुलाई २०१२ मा लेस्टर सिटीमा अनुबन्ध भएका भार्डीले इङ्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट २६ खेल खेलेका भार्डीले ७ गोल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width