नवलपुरमा १६ वर्षीया सुत्केरी आमाको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
unnamed (3)

नवलपरासी, २४ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ वर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ ।

देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका ९ निवासी १६ वर्षीय एक महिने सुत्केरी आमा शान्ति आलेको अत्यधिक रक्तश्रावका कारण निधन भएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले जानकारी दिए ।

देवचुली नगरपालिका ९ का वडा अध्यक्ष मेखबहादुर सारुका अनुसार उनको जेठ २२ गते राति निधन भएको हो । उनको बच्चा भने जीवितै र स्वास्थ्य रहेका छन् । वडाध्यक्ष सारुका अनुसार बैशाख १६ गते भरतपुर अस्पतालमा सुत्केरी भएका उनी शुरुमा स्वस्थ्य थिए घर आएको केही दिन पछि विरामी हुन थाले पछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अध्यक्ष सारुले अत्यधिक रक्तश्रावका साथै निमोनिया, टाउको दुख्ने र दीर्घरोग समेत रहेका कारण उनको निधन भएको अस्पतालले जनाएको बताए । बालमैत्री नगरपालिका देवचुलीमा अझै पनि बालविवाह रोकिएको छैन । केही महिना अगाडि एउटा विद्यालयका प्रधानाध्यापककी छोरीकै बालविवाह भएको थियो ।

अहिले निधन भएको आलेको पनि १५ बर्षको उमेरमा १७ वर्षका युवक सुदिप महतोसँग प्रेम विवाह भएको थियो । कक्षा ७ र कक्षा ९ मा पढ्ने केटाकेटीबीच प्रेमपछि गर्भवती भएकै कारण उनीहरुको विवाह भएको बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताए ।बालिका आलेको गत फाल्गुनमा सुदीप महतोसँग भागी विवाह भएको भुसालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width