ए डिभिजन लिगमा सरस्वतीले खाता खोल्यो

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
Saraswati vs Brigade Boys, A Division League

ए डिभिजन लिग सरस्वतीले खाता खोल्यो

पोखरा । सरस्वती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खातामा पहिलो अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो ।

अघिल्ला पाँच खेलमा पराजित बन्दै आएको सरस्वतीले छैटौं खेलमा आएर १ अंक जोड्न सफल रह्यो । सरस्वतीले पहिलो अंक जोडेको खेलमा ब्रिगेडले पाएको अवसर सदुपयोग गर्न सकेन । बल पोजिसनमा पकड राखेपनि ब्रिगेडका स्ट्राइकर चम्कन सकेनन् ।

खेलको ४० औं मिनेटमा शिशिर लेखीको प्रहार क्रसबारमाथिबाट बाहिरियो । यस्तै, ४९ औं मिनेटमा रोशन रानामगरको प्रहार आकासियो । खेलको ६२ औं मिनेटमा ब्रिगेडका जया गुरुङ गोल गर्न चुके । डिबक्सभित्र प्राप्त बललाई अनमार्क रहेका उनले क्रसबारमाथि प्रहार गरे ।

सरस्वतीले पनि केही गोलको अवसर खरे फाल्यो । खेलको दोस्रो मिनेटमै विदेशी खेलाडी कजिम बुसारीको ग्रासबल ब्रिगेडका गोलरक्षक विशाल सुनुवारले पञ्च गर्दै बाहिर फ्याले । खेलको ७९ औं मिनेटमा तिर्थ बस्नेतले गोलको सुन्दर मौका गुमाए । उनको प्रहारले पोस्टको सही दिशा लिन सकेन ।

खेलमा सरस्वतीका ‘मनिष थापा म्यान अफ दी म्याच’ बने । ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ । ब्रिगेड ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

फ्रेण्डसँग थ्री स्टार स्तब्ध

त्यस्तै, ए डिभिजन लिग फुटबलमा आइतबार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग स्तब्ध बनेको छ । ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित बनेको हो ।

बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए ।

विश्व अधिकारीको फ्री–किक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् । फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलबाट १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा छ ।

फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्लो ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ खेल हारेको थियो । फ्रेन्ड्सले ६ खेलबाट ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width