अग्रज पत्रकार अमात्य सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
20190914_092043_Fotor

गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखराया भिन्तुनाका प्रधानसम्पादक तथा प्रकाशक उदयबहादुर अमात्य सम्मानित भएका छन्।

उक्त पत्रिकाले प्रकाशनको २० औँ वर्ष पूरा गरेको अवसरमा हेल्थ अपडेट मासिक पत्रिका र प्रतीक अफसेट प्रेसले संयुक्त रुपमा प्रधानसम्पादक अमात्यको सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पोखरा हेल्थ अपडेटका सम्पादक ऋषि खतिवडा, अध्यक्ष अनिशा श्रेष्ठ र प्रतीक अफ्सेट प्रेसका प्रबन्ध निर्देशक पदमलाल श्रेष्ठले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले पत्रिकाका माध्यमबाट नेपाल भाषा र संस्कृतिको संरक्षणमा प्रधानसम्पादक अमात्यले दिएको योगदान अतुलनीय रहेको बताए।

उनले नेपालका सबै भाषा संस्कृति राष्ट्रको पहिचान भएको उल्लेख गर्दै यसैका माध्यमबाट पर्यटनको विकास गरी देश सम्मृद्ध बनाउन सकिने धारणा राखे। साथै उनले एक प्रकाशनले अर्को प्रकाशनको वार्षिकोत्सवको आयोजना गरी सम्मान गर्नु विरलै मात्र देखिने नमूना कार्य भएको उल्लेख गरे।

हेल्थ अपडेटका सम्पादक ऋषि खतिवडाले अमात्यजीले पत्रिकाप्रति समर्पित भएर देखाउनु भएको लगनशीलता उदाहरणीय रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरु प्रतिष्पर्धी मात्र होइन सहयात्री भएर अघि बढ्नु पनेर्मा जोड दिए। नेपाल मुद्रण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले लगनशील भएर लागेमा जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने नमूना अमात्यजी भएको बताए।

व्यवसायी अनमोल ताम्राकारले नेवारी भाषाप्रतिको लगाव देखेर आफू आकर्षित भएको धारणा राखे।

कार्यक्रमको सञ्चालन हेल्थ अपडेटका अध्यक्ष अनिशा श्रेष्ठले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width