खगेन्द्रले जिते अन्नपूर्ण म्याराथन उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
mara_Fotor

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित म्याराथन प्रतियोगितामा प्रथम भएका धावक खगेन्द्र भाट। तस्वीरः वासुदेव पौडेल/रासस

अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले जितेका छन्। अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गत अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी ४ घण्टा ६ मिनेट ५३ सेकेण्डमा पार गर्दै भाटले उपाधि जितेका हुन्।

हरिकुमार रिमालले उक्त दूरी ४ घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे। गोपाल तामाङले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बने।

समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको थियो।

म्याराथनमा विजेता धावकले १ लाख ५ हजार, दोस्रोले ७५ हजार र तेस्रोले ५५ हजार नगद प्रमाणपत्र हात पारे। विजयी धावकलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

Related News

सम्बन्धित समाचार

hero news full width