‘विधान विपरित क्याम्पस प्रमुख नियुक्त’

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७६

उपकुलपतिले अधिकारको दुरूपयोग गर्दै गैर प्राविधिक व्यक्तिलाई प्रमुख नियुक्त गरेको आरोप लगाउँदै प्राध्यापकले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्।

पोखरा, १५ वैशाख। वन विज्ञान अध्ययन संस्थान पोखराका तत्कालीन प्रमुख विरबहादुर खनाल अघिल्लो बर्षको जेठ २२ गते पदावधी सकिएपछि विदा भए।

उनको म्याद सकिनुभन्दा २ दिनअघि जेठ २० मै क्याम्पसका डिन प्राडा कृष्णराज तिवारीले तीनजनाको नाम क्याम्पस प्रमुखमा सिफारिस गरेर उपकुलपतिलाई पत्र पठाए।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार रिक्त रहेको पदमा कार्यकारि परिषदले ३ महिनाभित्रै प्रमुखको नियुक्ति गर्नुपर्ने हो। तर १० महिनासम्म निमित्त प्रमुखले क्याम्पसको कामकाज चलाए। उपकुलपतिले समयमै प्रमुख नतोकेपछि डिनले जेठ २३ गतेदेखि लागु हुने गरी उपप्राध्यापक ठाकुर सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी तोकिदिए।

हालसम्म उनै सिलवालले काम गरिरहेका छन्। तर गएको चैत २८ गते उपकुलपति तीर्थराज खनियाले डिनको सिफारिस बाहिरका ब्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गरिदिए, ३ महिनाको लागि। ‘डिनको सिफारिसमा प्राध्यापक विनोद हेंजु, उपप्राध्यापक विष्णु देवकोटा र ठाकुर सिलवालको नाम थियो। १० महिनासम्म निमित्त प्रमुखको रूपमा सिलवालजीले काम गर्नुभयो, प्रजातन्त्रबादी प्राध्यापक संघ वन क्याम्पसका सचिव विष्णुहरी वाग्लेले भने–अहिले एकाएक सिफारिस मै नपर्नुभएको प्रेमनारायण खनाललाई प्रमुखमा नियुक्त गर्नुभएछ। राजनीतिक दवावमा अन्याय भएको छ। यो हामीलाई मान्य छैन। ’

पोखरामा पत्रकार सम्मेलन गर्दै नियुक्तीप्रति असन्तुष्ट प्राध्यापकहरूले अवैध बाटोबाट क्याम्पस प्रमुख नियुक्त गरिएको आरोप लगाएका छन्। उनीहरूले गलत प्रक्रियाबाट गरिएको नियुक्ती खारेज गर्न माग समेत गरे। उपकुलपतिले अधिकारको दुरूपयोग गर्दै गैर प्राविधिक ब्यक्तिलाई प्रमुख नियुक्त गरेको आरोप लगाउँदै प्राध्यापकहरूले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्। ‘अहिले नियुक्ती पाएको ब्यक्ति पिएचडी पनि होईन। फरेष्ट्रीको प्राध्यापक पनि हुनुहुन्न, उनीहरू भन्छन्–सिफारिसमा परेको ब्यक्तिलाई नै नियुक्त गरेको भए हाम्रो आपत्ति थिएन। तर चोरबाटोबाट मान्छे ल्याएर प्रमुखमा नियुक्त गर्दा संस्थाको गरिमा जोगिँदैन। यो तत्काल सँच्याईयोस्। ’ उपकुलपति तीर्थ खनियाँ चाहीँ डिनको सिफारिस कार्यकारी परिषद्ले नमानेपछि आफ्नो अधिकार प्रयोग गरेर क्याम्पस प्रमुख नियुक्त गरेको बताउँछन्। ‘साथीहरूले क्याम्पसमा आँफु अनुकुलको प्रमुख खोज्नुभयो। हामीले त ६० वटा क्याम्पस हेर्नुपर्छ। पोखरामात्रै हेरेर हुँदैन, उनले भने–राष्ट्रिय राजनीति र कार्यकारी परिषद्को निर्णयलाई समेत ख्याल गरेर ३ महिनाको नियुक्ती दिईएको हो। ’ नव नियुक्त प्रमुख क्याम्पसमा सहायक डिन भएर काम गरिसकेकोले अयोग्य नभएको उनको दावी छ।

नवनियुक्त प्रमुख खनालले नियमानुसार नै आँफु नियुक्त भएको बताए। ‘त्रिविको नियमअनुसार तत्काल भिसिले नियुक्त दिने नभए परिषदले निर्णय गर्नुपर्ने थियो। त्यही ब्यवस्था अनुसार परिषद्को निर्णयले म प्रमुखमा नियुक्त भएको हुँ, उनले भने–प्रक्रियाको कुरा गर्ने हो भने उतिवेलै गलत थियो। हामीले ब्यक्तिका टिप्पणी गरेनौं। बरु सहयोग गर्यौं। त्रिविको ऐन विपरित १० महिना चल्यो। ब्यक्तिप्रति मेरो केही भन्नु छैन। संस्थागत त्रुटी भएकै हो। कार्यकारीले गरेको निर्णयलाई अवैध मान्नु नहुने उनले बताए। आँफु फरेष्ट्रीको प्राध्यापक नभएपनि प्रशासन चलाउन समस्या नहुने उनको तर्क छ।

स्नातकदेखि पिएचडीसम्मको पढाई हुने क्याम्पसमा विभिन्न देशका ५ सय हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन्।

Related News

सम्बन्धित समाचार

hero news full width