नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

पोखरा, १२ फागुन। नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्राडा चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ।

पुरस्कार सञ्चालन गर्दै आएको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नेपाली भाषा तथा व्याकरण विद्यामा अतुलनीय योगदान पुर्‍याएकोमा प्राडा बन्धुलाई सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो।

चैत ३ गते एक कार्यक्रम गरी उनलाई पुरस्कार नगद २० हजार १ सय १ रुपैयाँ साथमा सम्मानपत्र प्रदान गरिने छ।

ताराप्रसाद तिमिल्सिना संयोजक तथा छविलाल आचार्य, रामबहादुर बानियाँ, यादवराज उपाध्याय र मदनबहादुर खत्री क्षत्री सदस्य रहेको छनोट समितिले पुरस्कारका लागि उनलाई चयन गरेको हो।

सो पुरस्कारबाट नेपाली भाषा, साहित्य, कला, लोक संस्कृति विद्यामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिँदै आएको शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष कुलबहादुर खत्रीले जानकारी दिए।

यसअघि हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, वरिष्ठ समालोचक प्राडा रविलाल अधिकारी, साहित्यकार सरुभक्त, कलाकार दुर्गा बराल वात्सायन, साहित्यकार स्व चेतमानसिंह भण्डारी, लोकगायक जीवन शर्मा, लोकगायिक हरिदेवी कोइराला र डा तीर्थराज सुवेदी सम्मानित भैसकेका छन्।

१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी शुरु गरिएको सो पुरस्कार २०५७ साल कात्तिक १६ गतेदेखि २ वर्षको अन्तरमा प्रदान गर्ने गरिएको छ। पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्की सहसचिव दीननाथ बराल र शुक्ला साहित्य प्रतिष्ठान सचिव हरि बरुवालले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width