पोखरा ।
‘क्या राम्रो स्याउबारी मार्फा गावैमा,
हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’
वसन्ती लालचनको शब्द अनि ज्योति गुरुङको स्वरमा गुञ्जिएको यो गीत मुस्ताङको स्याउसँगै चर्चामा छ । यो गीतमा जति मिठास छ, उत्तिकै मिठो हुन्छ मार्फा स्याउ । तर, जलवायु परिवर्तनको असरले गीतको भाव मेटिने डर हुँदै गएको छ ।
मार्फाका स्थानीय तत्कालै मार्फा स्याउमा उतिसारो प्रभाव नपरेपनि कालान्तरमा यसले ठूलै असर गर्ने बताउँछन् । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा गाउँका सुवर्ण लालचन मार्फामा हिउँ नपरी पानी पर्दा स्याउ उत्पादन घटेको बताउँछन् । ‘मैले यहाँ बागबानीको अफिस सुरु भएदेखि नै स्याउ लगाउन सुरु गरेको हुँ । सुरु सुरुमा एउटा बोटबाट नै ३०/४० हजार रुपैयाँको स्याउ बिक्री गरेको अनुभव छ,’ उनले भने, ‘अहिले बोट पनि बुढो भयो अनि हिउँ पर्ने समयमा नपर्ने अनि धेरै पानी मात्र परेका कारण हो कि के हो? एउटा रुखबाट अहिले १० हजारको स्याउ बेचिन्छ ।’
फूल फूल्ने समयमा तुसारो पर्दा अनि उत्तरी हावाले पनि असर गरेको उनले सुनाए । ‘फूल खेलेपछि तुसारो परेपछि त खत्तमै पार्छ नि,’ उनले भने, ‘पहिला असोजतिर पानी पथ्र्यो पछिल्लो समय पानी स्याउको फूल खेल्ने बेला पर्छ । जलवायु परिवर्तनका कारण हामी स्याउ किसानलाई समस्या भएको छ ।’
जलवायु परिवर्तनकै कारण मार्फामा तापक्रम बढ्दै गएकाले रोगकिराको समस्या हुने गरेको उनले बताए । ‘१०/११ वर्ष अघिसम्म स्याउमा रोगकिरा देखिए पनि कमै मात्रामा देखिन्थ्यो,’ उनले भने, ‘पछिल्लो केही वर्ष यता बर्सेनि केही न केही विषादी प्रयोग गर्नुपर्छ ।’
मुस्ताङको घासा, लेते, टुकुचे, कोवाङ, मार्फा, जोमसोममा अत्यधिक स्याउ खेती हुने भएकाले वि.स. २०२३ सालमा मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र सञ्चालनमा आएको थियो । पछिल्लो समय बागबानीमा पनि स्याउको उत्पादन घटेको बागबानीका प्राविधिक सहायक भीमसेन भण्डारीले बताए ।
‘हाम्रो बागबानीको स्याउ फार्मको कुरा गर्ने हो भने हिउँ परेको वर्ष १२/१५ लाखको स्याउ उत्पादन हुन्थ्यो,’ उनले भने, ‘गत वर्ष हिउँ परेन बेला ६ लाख बराबरको फलेको थियो ।’ बागबानीको स्याउ फार्म करिब १ सय ६० रोपनीमा फैलिएको छ । पछिल्लो तीन वर्षमा हिउँ नपरेकाले ६ देखि ८ लाख रुपैयाँसम्मको मात्र उत्पादन भएको उनले जानकारी दिए ।
सहायक प्राविधिक भण्डारीका अनुुसार स्याउ राम्रो हुनका लागि ७ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम भएमा राम्रो हो । तर, मुस्ताङको पछिल्लो समयको तापक्रम २० को हाराहारीमा छ । जल तथा मौसम विज्ञान कार्यालय, पोखराका अनुसार जुलाई २४ तारिखसम्म मार्फाको अधिकतम तापक्रम २१ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । तथ्यांकअनुसार पछिल्लो एकहप्तामा मार्फाको औषत तापक्रम २१ डिग्री छ ।
यसले गर्दा पनि स्याउको लागि प्रयाप्त चिस्यान नभएको उनको भनाइ थियो । जसले गर्दा शितोष्ण बागवानी विकास केन्द्रको शाखा कार्यालय लोघेकर दामोदर कुण्ड गाउँपालिकाको घमीमा शाखा कार्यालय खोल्ने तयारीमा रहेको बागवानी विकास अधिकृत पद्मनाथ आत्रेयले बताए । ‘१ हजारदेखि १६ सय घन्टासम्म ७ डिग्री सेल्सियसभन्दा तल तापक्रम (चिलिङ टाइम) भयो भने स्याउका लागि राम्रो हो,’ उनले भने, ‘यो समय पुगेन भने त स्याउ फल्दैन ।’
१ एक हजार सयदेखि १६ सय घन्टासम्म ७ डिग्री सेल्सियस नपुग्ने भए मार्फाको स्याउको जिन संरक्षणका लागि उपल्लो क्षेत्रमा बागबानीको शाखा कार्यालयका लागि जग्गा खोजिरहेको उनले जानकारी दिए । ‘जलवायु परिवर्तनको फेस गर्नका लागि यहाँको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नका लागि जग्गा हेर्दै आएका छौं,’ आत्रेय भने, ‘घमी भन्ने ठाउँमा जग्गाका लागि पहल भइरहेको छ । त्यहाँका स्थानीयले पनि अलिअलि स्याउ खेती गरिरहेका छन् ।’
आव २०७८/७९ मा ६ हजार ५ सय ९९ टन र गत आवमा ४ हजार ९ सय ७५ टनमात्रै उत्पादन
गतवर्षको असोजमा बागबानीमै बाढी पसेको आत्रेयले जानकारी दिए । असोज १८ देखि ३ दिनसम्मको बाढीले त्यहाँको करिब ३५ रोपनी क्षेत्रफलमा क्षति पुर्याएको उनले सुनाए । कम्पाउन्ड बगाएर पसेको बाढीले जमिनसँगै त्यहाँ हुर्कंदै गरेको करिब ४ सय स्याउका बिरुवा पुरेको बागवानी विकास अधिकृत आत्रेयले जानकारी दिए । ‘जलवायु परिवर्तनले गर्दा असोजमा पानी परेर भौतिक संरचना भत्कायो,’ उनले भने, ‘बाढीले स्याउ, आलुबखडा, ओखर, आरु लगायत बिरुवा र बुटा पुरेको थियो ।’
जलवायु परिवर्तनको असरले तापक्रम बढ्दै जाँदा चिसो खोज्दै माथिल्लो भेगमा जानुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘बागबानीमा करिब ४० भन्दा बढी प्रजाति छन् । ती प्रजातिहरुलाई चिसो ठाउँ माथिल्लो क्षेत्रमा लगेर लगाउन सकिएन भने अबको १५/२० वर्षमा लोप हुँदै जान्छन्,’ उनले भने, ‘हामी माथि जान लागेको भनेको चिस्यान क्षेत्र र फराकिलो भूभाग नै हो । हामी त चिसो खोज्दै माथि जानुपर्ने अवस्था छ ।’ माथिल्लो क्षेत्रका स्थानीयले स्याउमा चासो देखाएकाले बागबानीबाट धेरै स्याउको बिरुवा जाने गरेको उनले सुनाए ।
जलवायु परिवर्तनलाई नकारात्मकभन्दा पनि सकारात्मक रुपबाट समाधान गर्दै जानुपर्ने उनको भनाइ थियो । ‘जलवायु परिवर्तन नहुन पर्ने हो तर भइरहेको छ । भयो भनेर नकरात्मक रुपबाट हेरेर मात्र पनि भएन,’ उनले भने, ‘यसलाई सकरात्मक रुपबाट पनि हेर्नुपर्छ । तल्लो क्षेत्रमा स्याउको उत्पादन घट्यो भन्ने कुरा नकारात्मक भए पनि स्याउलाई माथि लगाएर तल्लो क्षेत्रमा ओखर, आरु, आरुबखेडा, खुर्पानीसँगै तरकारी खेती गर्न सकिन्छ ।’
मुस्ताङको तल्लो क्षेत्रमा स्याउ उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकले पनि देखाउँछ । केन्द्रको तथ्यांकअनुसार मुस्ताङमा आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५ सय ९९.७६ टन स्याउ उत्पादन भएकोमा गत आर्थिक वर्षमा घटेर ४ हजार ९ सय ७५.३५ टन उत्पादन भएको थियो ।
जलवायु परिवर्तनकै कारण स्याउको फूल फुल्नेदेखि फल लाग्ने बेलासम्म समस्या देखिएको केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । पछिल्लो समय लगातार पानी परिरहेको छ । यो बेला धेरै पानी परेमा राम्रो फल नलाग्न सक्छ,’ उनले भने, ‘स्याउको दागे रोग, सेतो खरानी रोग, कत्ले किराको आक्रमण अलि बढेको छ । यसमा किसानले ध्यान दिनुपर्छ ।’
ज्ञान केन्द्रबाट रोग किराबाट बचाउनका लागि सचेतनाको कार्यक्रम, बगैंचा निरीक्षण र अवलोकन गरिरहेको उनले सुनाए । ‘किसानहरू आफैंले पनि सामाजिक सञ्जालमा फोटो पठाउनुहुन्छ त्यसको आधारमा नियन्त्रणको उपाय भनिरहेका हुन्छौं,’ उनले भने, ‘विषादी प्रयोगको प्राविधिक पक्षबारे पनि जानकारी दिइरहेका हुन्छौं । अनि स्प्रे र विषादी पनि सहयोग गरिरहेका छौं ।’
Related News
सम्बन्धित समाचार
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१