नवलपुर । नेपालमै पहिलो पटक गैंडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरु गरेको छ । गत ३० फागुनमा गृह मन्त्रालयको भएको निर्णयअनुसार पालिकाले बिहीबारबाट अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो ।
केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीअन्तर्गत अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको सुरु गर्दै नगर प्रमुख मदनभक्त अधिकारीले अनलाइनबाट नागरिकता सिफारिस गर्दा हुने केही अप्ठेरा पक्षलाई जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै लैजानुपर्ने बताए । ‘मुलुकमै पहिलो पटक गैंडाकोट नगरपालिकाले यो सेवा प्रवाह गर्दैछ,’ उनले भने, ‘सेवा प्रवाहका क्रममा आइपर्ने कठिनाइबारे कर्मचारीलाई सहजीकरण भयो भने काम गर्न सहज हुने थियो ।’ अनलाइनमा नागरिकता सिफारिस गर्दा विवरण फरक भएर सच्याउनुपर्ने अवस्था आएमा पनि सहजरुपमा सच्याउने व्यवस्था मिलाउनुपर्नेमा नगर प्रमुख अधिकारीले जोड दिए ।
नगर उपप्रमुख शान्ति कोइरालाले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको सुरुआत भएसँगै दोहोरो नागरिकताका कारण हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘पहुँच हुने र टाठाबाठाले दोहोरो नागरिकता लिएर बदमासी गरिरहेका हुन्थे,’ उनले भने, ‘तर, निमुखाहरु वृद्धभत्ता खाने बेलासम्म पनि नागरिकता नबन्दा राज्यको सेवासुविधाबाट बञ्चित हुनुपरेको थियो । त्यो कार्यसमेत अन्त्य हुनेछ ।’ अनलाइन प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै प्रभावकारीरुपबाट अगाडि लैजानुपर्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मुलुकको ७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट नवीन कार्यको शुभारम्भ हुनु गौरवको कुरा भएको बताइन् । अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणाली लागु गर्ने क्रममा नगरपालिकामा रहेका १८ वटै वडाका वडा सचिवहरुलाई तालिम प्रदान गरिएको र जिम्मेवार भएर काम गर्न निर्देशन दिइन् । यस प्रणालीमा १८ चैतदेखि मध्यविन्दु नगरपालिका र त्यसपछि कावासोती र देवचुली नगरपालिकालाई समेत जोड्ने गरी तयारी भइरहेको छ । ‘अनलाइन प्रणालीबाट नागरिकता सिफारिस हुँदा किर्ते गर्ने र झुट्टा विवरण बनाएर नागरिकता बनाउने काममा नियन्त्रण आउँछ,’ उनले भनिन्, ‘अनलाइन प्रणालीबाट फारम भरेपछि सेवाग्राहीले बीचमा फाइलमा केरमेट र थपघट गर्न नपाउँदा दोहोरो नगारिकता बनाउन तथा झुक्याएर नागरिकता बनाउने कामको अन्त्य हुन्छ ।’ राज्यले प्रदान गर्ने सेवालाई प्रविधिमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानका लागि वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उनले भनिन् ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक सरदर ६० नयाँ नागरिकताका लागि सिफारिस हुने गरेको उनको भनाइ छ । नागरिकता सिफारिस अनलाइनसँगै कागजको सिफारिससमेत प्रशासन कार्यालयमा लिएर सेवाग्राही जानुपर्ने भन्दै उनले सेवाग्राहीको दर्ता नम्बर अनुसार विवरण परीक्षण गर्न सहज हुने बताइन् । सबै कुरा अनलाइनबाट हुने भएकाले व्यक्तिगत वितरणको अभिलेख व्यवस्थापनमा समेत अनलाइन नागरिकता सिफारिसले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ ।
गैंडाकोट–७ कि प्रकृति सापकोटाको नागरिकता वडा सचिवले अनलाइनबाट सिफारिस गरेर नगरपालिकामा सेवा शुभारम्भ गरिएको हो । अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचिअनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पति÷पत्नीको नागरिकतालगायतका प्रमाणपत्रहरुको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा पठाइने नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद न्यौपानेले आदर्श समाजलाई बताए । यसरी अनलाइन इन्ट्री भएपछि एउटै व्यक्तिको विवरतण दुर्इ पटक प्रविष्ट नहुने हुँदा दोहोरो नागरिकता अन्त्य हुने उनको भनाइ छ ।
केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र, राहदानीलगायतमा जोड्दै लैजाने सरकारको योजना अनुसार कार्यक्रम ल्याइएको उनको भनाइ छ । सेवा शुभारम्भ अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले अनलाइन नागरिकता सिफारिसबाट सेवाग्राहीको काम छिटोछरितो सम्पन्न हुने विश्वास लिए ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१