पोखरा आदर्शको रजत जयन्ती

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह, वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले उद्घाटन गरे । उनले मानव जीवनमा व्यावहारिक शिक्षाको महत्व दर्शाउँदै सिकेका कुराहरुलाई व्यहारमा उतार्नुपर्नेमा जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका इकाइ प्रमुख लोकनाथ आचार्यले आजको प्राविधिक युगमा गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । पोखरा १ का वडाध्यक्ष सहारा प्रधानले पोखरा आदर्श स्कुलले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराइरहेको र पोखरा आदर्श वाटिकामा माध्यमबाट विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गरेकोमा खुसी व्यक्त गरे ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षाको क्षेत्रमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै पोखरा आदर्श स्कुल पनि त्यसको एक अंश रहेको बताए ।

विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी योजनाहरू प्रस्तुत गरेका थिए । अभिभावकहरुको तर्फबाट विष्णुप्रसाद आचार्यले विद्यालयले गरेका राम्रा कामप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अभिभावकको साथ र सहयोग सधैं रहने बताए ।

रजत जयन्ती समारोहमा शिक्षकहरू सहप्राचार्य ज्ञानेश्वर सुवेदी, अतिरिक्त क्रियाकलाप प्रमुख तिलक बराल, लेखा विषय शिक्षक कृष्ण आचार्यलाई दोसल्ला, सम्मानपत्र सहितसम्मान गरिएको थियो । दीर्घसेवा सम्मानबाट शैक्षिक प्रशासक सेतुप्रसाद भट्टराई र राधा कार्की, उत्कृष्ट शिक्षकका रूपमा विज्ञान शिक्षक राजेश गौतम र उत्कृष्ट कर्मचारीका रूपमा कृष्ण बास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । प्रतिभा सम्मानबाट संस्कृति सुवेदी, अनुशासनतर्फ निश्मा पाइजा, सरसफाइतर्फ प्रनिल छेत्री, उत्कृष्ट विद्यार्थी सम्मानबाट आयुषा कार्कीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीको लेखरचनाको सँगालो पोखरा आदर्श वाटिकालाई प्राडा प्रेमनारायण अर्यालले लोकार्पण गरे ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक खेलकुद पुरस्कार र २०७९ सालको शैक्षिक पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटक प्रस्तुत गरी थप मनोरञ्जन प्रदान गरे । कार्यक्रम सञ्चालन विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदी, शैक्षिक प्रशासक सेतुप्रसाद भट्टराई र नेपाली भाषा शिक्षक साबित्री कार्कीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width