बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।
बर्खेनाचअन्तर्गत सोमबारदेखि बेनीमा लाखेनाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ । मंकाखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने भएको छ ।
परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको हो ।
मंकाः खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् ।
बर्खेनाचका दर्जनाँै नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरूको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । यस वर्ष पनि युवाहरूलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।
बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।
खासगरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ । रासस
Related News
सम्बन्धित समाचार
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१