तनहुँ । ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् ।
“आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।”
प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिनुभयो । उहाँका अनुसार यस दिन गिदरी प्रजातिको काठलाई मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गर्ने र दरै समुदायका सबैले आगोलाई घरमा लैजाने प्रचलन रहेको छ । आगो पूजा गरेपछि प्रसादको रुपमाचामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ ।
“पूजा गरिएको आगोलाई जाँड र डेगुवा चढाउनै पर्ने मान्यता छ”, पुजारी दरैले भन्नुभयो, “आगोको विधिपूर्वक पूजा नगरे घरमा चट्याङ र आगलागी हुन्छ भन्ने किंवदन्ती छ ।” आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताउनुभयो । यसअघि आगोको बृहत् पूजा गरिएको जानकारी नपाएको उहाँले बताउनुभयो ।
“यसरी बृहत् भेला गरेर आगोको पूजा गरेको यसअघि थाहा पाएको थिइनँ”, सुनिताले भन्नुभयो, “यसरी पूजा गर्दा हाम्रो संस्कृति पनि रोचक रहेछ भन्ने अनुभव भएको छ ।” निम्तो पाएपछि छ÷सात जना भएर आफूहरू आगोको पूजा गर्न आएको व्यास–१० अत्रौली दरै समाजका अध्यक्ष हिराबहादुर दरैले बताउनुभयो । यस्तो कार्यक्रमले आफूहरूलाई संस्कृति संरक्षण गर्नेबारे सचेत बनाउने उहाँको भनाइ थियो ।
आगोको पूजा सम्पन्न गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताउनुभयो ।
“युवा पुस्ताले संस्कृति बिर्सिंदै गएकाले पनि यसपटक सबै दरै बस्तीलाई निम्ता गरेका हौँ”, समिति अध्यक्ष दरैले भन्नुभयो, “यस्तो पूजाले संस्कृतिलाई संरक्षण गर्न सहयोग पु¥याउने ठानेका छौँ ।” आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको अध्यक्ष दरैको भनाइ छ ।
आगोको पूजा गरेपछि प्रसाद ग्रहण गर्दै नगर उपप्रमुख दरैले आगोको विधिवत् पूजा गर्ने दरै प्रकृतिप्रेमी रहेको तथ्य प्रमाणित भएको बताउनुभयो । “नदीखोलाको किनारामा माछा मारेर जीविका चलाउँदै आएका दरैहरूको संस्कृति संरक्षण गर्न आवश्यक छ”, उपप्रमुख दरैले भन्नुभयोे, “त्यसको लागि व्यास नगरपालिकाको कार्यालयबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।”
नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार आठ सय ७९ छ । रासस
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१