वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
balmiki ashram

चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधामसँग जोडिएको यस आश्रममा स्थलमार्गबाट पुग्नका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ ।

भौगोलिकरुपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने भए पनि यो भूमि पुग्न त्रिवेणीमा निर्माण भएको गण्डक ब्यारेज (पुल) हुँदै भारतको बाटो भएर जानुपर्छ । विनयी त्रिवेणी–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुंगा तरेर पनि वाल्मीकि आश्रम जान सकिन्छ । नेपालतर्फबाट वाल्मीकि आश्रम पुग्नका लागि अझै स्थलमार्ग बन्न सकेको छैन ।

त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्न झोलुंगे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधा कारण पुल सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम चितवन राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा भएकाले त्यहाँ पुग्ने सडक नहुँदा अधिकांशले भारतीय भूमि प्रयोग गर्दै आएका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले बताए । यो आश्रम ऋषि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ ।

त्रेता युगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पाताल प्रवेश गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उनले बताए । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्री, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ ।

महर्षि वाल्मीकिले ब्रह्म ज्ञान प्राप्न गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानको रुपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताए । सीता माता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षादीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासिनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचनाहरु यहाँ रहेका उनले बताए ।

मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका सुवेदी बताउँछन् । नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उनको भनाइ छ । मानिसहरु बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उनले बताए । नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुख पाउने गरेका सुवेदीले गुनासो गरे ।

पोखरा–३३ बाट यहाँ आएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरुपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकोले आफूहरु वाल्मीकि आश्रममा आएको बताउँछन् । पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ । ‘यसलाई पढ्न किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘आश्रममा आउन नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो ।’

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले माडीबाट सिधैँ वाल्मीकि आश्रम जाने ट्रयाक खोल्नका लागि संघीय सरकारसँग पहल भइरहेको बताए । ‘अहिले हामीले विनयी त्रिवेणी गाउँपालिकासँग सहकार्य गर्दै वाल्मीकि आश्रम आउने भक्तजनलाई सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘यहाँको भौतिक संरचना निर्माण, भक्तजनको सुविधाका लागि काम भइरहेको छ ।’ नेपाली भूमि भएर वाल्मीकि पुग्ने सडक सञ्जाल नहुँदा समस्या हुने गरेको आफूले बुझेको भन्दै समस्या समाधानका लागि काम गरिरहेको उनको भनाइ छ ।

नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट डुंगाको जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्नेमा दुईमत छैन ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छानो   

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    दमौली ।  हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी…

hero news full width