पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
Mahayagya

पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।
यज्ञका लागि लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पादन समिति गठन गरिएको छ । जसको सहअध्यक्षमा महेश पराजुली, वरिष्ठ उपाध्यक्षमा हिक्मतबहादुर कुँवर क्षत्री, महासचिवमा सूर्यभक्त सिग्देल, कोषाध्यक्षमा मोहनप्रसाद अधिकारी, सहसचिवमा नगेन्द्र शर्मा भण्डारी, सहकोषाध्यक्षमा संगीता गौतम तिमिल्सिना छन् ।

त्यस्तै नरेन्द्र रानाभाटलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । सूर्यप्रसाद भण्डारी, माधवप्रसाद पराजुली तथा पवन प्रजापतिलाई सम्पादन समिति सदस्यको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै स्वामी आत्मानन्द गिरिजी महाराज, १००८ स्वामी रमणानन्द गिरिजी महाराज, चिद्घन चैतन्य महाराज, निशेषानन्द महाराज र वाल्मीकि विद्यापीठका यज्ञाचार्य डा.रामप्रसाद पौडेल संरक्षक रहने व्यवस्था छ ।

यज्ञको तयारी स्वरुप आजकल दिनहुँजसो मूल आयोजक समितिको बैठक भइरहेको छ । त्यस्तै यज्ञका बारेमा ब्रोसर, पहिलो चरणको पत्रकार सम्मेलन, उपसमिति चयन, पत्र वितरण, हवनका लागि पिपलका दाउरा संकलन देखि वडा स्तरमा जनप्रतिनिधिसँग छलफलको क्रम अन्तिम चरणमा पुगेको छ।शुक्रवार पोखरा ६ का जनप्रतिनिधिसँग छलफल गरिएको छ।

उपसमिति अन्तर्गत डा.मेखबहादुर खत्रीलाई स्वयम्सेवक परिचालन, आनन्द दाहाललाई जनसम्पर्क तथा समन्वय, नरहरी वराललाई सुरक्षा व्यवस्थापन, कृष्णप्रसाद बास्तोलालाई प्रचारप्रसार, गीता आचार्यलाई मातृशक्ति परिचालन, रामचन्द्र पौडेललाई अनुष्ठान अनुगमनको जिम्मेवारी छ ।

त्यसैगरी माधवप्रसाद पराजुलीलाई छायाङकन व्यवस्थापन, उषा मातालाई भजन संगीत, प. चन्द्ररमण पराजुलीलाई यज्ञमण्डव पूजासामग्री, देवेन्द्र पौडेललाई स्वास्थ्य सेवा व्यवस्थापन, पवन प्रजापतिलाई यज्ञस्थल व्यवस्थापन, माधवप्रसाद पराजुलीलाई धार्मिक संघसंस्था समन्वय, कृष्णप्रसाद पौडेललाई योगाभ्यास, हिक्मतबहादुर कुँवरलाई कर्ता सयोजन उपसमितिको संयोजक तोकिएको छ ।

प्राय समाजमा हुने गरेका नियमित महायज्ञ भन्दा यस यज्ञको उद्देश्य अलि पृथक छ ।यज्ञ मार्फत आध्यात्मिक ज्ञान विस्तार गर्ने मूल उद्देश्य छ भने अर्थ संकलनलाई गौण राखिएको छ ।

महायज्ञ सम्पादन समितिका महासचिव सूर्यभक्त सिग्देलले यस कार्यलाई धर्म संकल्प यज्ञका रुपमा विकास गर्ने उद्देश्यका साथ तयारी भइरहेको जनाउँदै त्यसमा पोखरावासीको उल्लेख्य साथ, सहयोग मिल्ने विश्वास लिए ।

१० दिनसम्म चल्ने यज्ञमा हरिहर सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज प्रमुख वाचकका रुपमा रहनेछन् ।यज्ञमा विभिन्न ठाउँका सन्त महन्त पीठाधीशहरुको उपस्थिति हुनेछ । यज्ञ मार्फत स्वःस्फूर्त रुपले प्राप्त हुने अर्थराशि वैदिक गुरुकुल एवम् सत्सङ केन्द्रहरुमा सदुपयोग हुने आयोजकले जनाएको छ ।

यज्ञ अन्तर्गत श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशति पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपरायण तथा पञ्चदेवोपासना र अन्य अनुष्ठानहरु हुनेछन् ।

यज्ञमा कर्ता बस्न इच्छुक व्यक्ति, परिवार वा वंशले ११ हजार एक सय ११ का साथमा सम्पादन समिति समक्ष आवेदन दिनुपर्ने छ ।

पर्यटनको राजधानी पोखरामा हुने यस्तो किसिमको यज्ञले देशवासीलाई नै अनुकरणीय सन्देश दिने यज्ञ सम्पादन समितिका कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।
विशेषतः धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यज्ञले भूमिका खेल्ने आयोजकको विश्वास छ । जसमार्फत धर्मसंस्कृति माथिका अतिक्रमणप्रति सजग गराउँदै धार्मिक तथा सामाजिक जगतलाई सद्भाव र एकताको सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width