पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका । रंगसँग बाहिर रमाउनेहरुप्रति थकाली समुदायलाई कुनै परवाह छैन । उनीहरु आफ्नै परम्परागत पर्वमा रमाइरहेको पाइन्छन् । उनीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएको पर्व हो–तोरन्ल ।
विशेषगरी थाक सातसय थकालीहरुले अहिले तोरन्ल पर्व मनाइरहेको थकाली सेवा समिति, पोखराका अध्यक्ष इ. रुजिन्द्र तुलाचनले बताए । वास्तवमा तोरन्ल थकाली समुदायको सबैभन्दा ठूलो चाड हो । ‘यसको पौराणिक महत्व छ । जसरी अन्य जातिमा महत्वपूर्ण चाड भन्ने हुन्छ । हाम्रोमा पनि तोरन्ल त्यस्तै हो,’ इ. तुलाचनले भने, ‘तोरन्ल मेर हाम्रा पूर्खाहरुले सयौं वर्षअघिदेखि मनाउँदैआउनुभएका छन् । हामीले निरन्तरता दिएका छौं । यो पर्वमा सम्पूर्ण पितृहरुलाई खानेकुरा चढाउँछौं ।’
समितिको केन्द्रीय निर्णय अनुसार नै तोरन्ल यो वर्ष ५ दिनसम्म मनाइँदैछ । ‘केन्द्रीय समितिले निर्णय गरेर कति दिन मनाउने भन्ने निधो हुन्छ,’ उनले भने, ‘यो पटक ५ दिन मनाउने भनेर मनाइरहेको छ ।’ फागुपूर्णिमालाई केन्द्र बनाएर यो पर्व मनाउने गरिएको उनले सुनाए । शुक्रबारदेखि सुरु भएकोमा मंगलबारमात्र मनाइँदैछ ।
तोरन्लमा थाक सातसयका थकालीहरुले घरआँगन सरसफाइ र रंगरोगन गरी सिँगार्ने, भाडावर्तन सफा गर्ने गर्छन् । पर्व सुरु भएपछि मध्यरातमा उठेर स्नान गरी पितृहरुलाई खानेकुरा र प्रसाद चढाउने चलन छ । यसरी पितृपूजा गर्दा पितृ खुसी भएर मनोकांक्षा पूरा हुने जनविश्वास रहेको उनले सुनाए । ‘भाले नबास्दै २ बजेतिर उठेर पितृहरुलाई खुसी बनाउने परिकार राखिदिने चलन छ,’ उनले भने, ‘आफँैले पकाएर दाल, भात, झिलिंगा, रोटी, मासु चिजहरु प्रसादका रुपमा राखिदिन्छौं ।’
तोरन्लमा नरिझिव (इष्ट देवता) सँगै शेरचन, भट्टचन, तुलाचन, गौचन देवताको पूजा गर्ने प्रचलन रहेको समितिका केन्द्रीय सल्लाहकार विश्वमोहन गौचनले बताए । बर्सेनि फागुपूर्णिमाका दिन पर्ने तोरन्लमा थकालीका दिवंगत व्यक्तिहरुको नाममा पितृपूजा, भूमिपूजा र परम्परागत तारा खेल खेलेर मनाउने उनले सुनाए । तोरन्ल थकालीहरुको धार्मिक, सांस्कृतिक र मौलिक पर्व हो ।
तोरन्लमा पितृकार्य र पूजा बाहेक पर्वका बेला छोरीज्वाइँ, भान्जाभान्जी र नजिकका आफन्त बोलाएर मीठामीठा खानेकुरा खुवाउने र आपसका सुखदुख साटासाट गर्ने प्रचलन रहेको सल्लाहकार गौचनले बताए । ‘यो बाहेक नाचगान त हुने नै भयो अनि नाकाभोटे (कौडामार्फत खेलिने बौद्धिक खेल), पारास्यु (गोटीमार्फत खेलिने बौद्धिक खेल) पनि खेलिन्छ,’ उनले भने, ‘अझ महत्वका साथ हामीले तारा खेललाई लिने गरेका छौं ।’
तोरन्लमा तारा खेल तोरन्लको महत्वपूर्ण विशेषता हो । थकाली समुदायकाले आत्मरक्षा गर्न, शत्रूसँग भिड्न र जंगलमा शिकार खेल्दा प्रयोग गर्ने धनुषवाँणलाई पछिल्लो पुस्ताले तारा खेलका रुपमा अपनाउन थालेको हो । करिब ६÷७ सय वर्षदेखि शिकार खेल्न प्रयोग गरिने धनुषवाँण ताराखेलमा विकास भएको सल्लाहकार गौचनले बताए ।
तारा खेलमा मैदानको दुवै भागमा ‘त्हस’ स्थापना गरिन्छ । जसको पूजापछि तारा खेल सुरु हुने गौचनले बताए । त्हसको बीचमा फलामको सानो गोलाकार रिङ राखिएको हुन्छ, त्यसलाई खोल भनिन्छ । त्यसभित्र तिर रोपिएपछि खोल गएको भन्ने गरिन्छ । खोल हान्ने व्यक्तिलाई विशेष सम्मानसहित पुरस्कार पनि दिने गरिन्छ । यो खेल मंगलबारसम्मै चल्नेछ ।
थाक सातसयअन्तर्गत देशभर ११ हजार ७ सय थकाली रहेको उनले थकाली सेवा समिति पोखराका अध्यक्ष इ. तुलाचनले बताए । ‘थाक सातसयअन्तर्गत देशविदेश गरेर ११ हजार ७ सय मात्र जनसंख्या छ । पोखरामा ४२० घरधुरीमा, १३ सय जति हौं होला,’ उनले भने, ‘देशविदेश छरिएर रहेका थाक सातसय थकालीहरुले तोरन्ल मनाइरहेका छन् ।’
अल्पसंख्यक थकाली जातिको तोरन्ल पर्व राज्यको नजरमा पर्न नसकेको गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले बताइन् । ‘यो हाम्रो महान चाड हो । अल्पसंख्यक समुदायले मनाउने चाडपर्वमा राज्यको नजर परेको छैन,’ उनले भनिन्, ‘पर्वको अवसरमा राज्यले बिदा दिनुपर्छ । साथै थकाली समुदायको पहिचान, इतिहास सबै जोगाउन सरकारले पनि ध्यान दिनुप¥यो, यसमा पनि म लाग्ने प्रतिबद्धता जनाउँछु ।’ आफूहरुले मान्ने देवताको मन्दिर बनाउन सरकारले बजेट नछुट्याएकोमा उनको दुखेको थियो । यसका लागि पनि आगामी बजेटमा आफूले पहल गर्ने उनले सुनाइन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१