बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७९
Yanjakot Photo

पोखरा । बुद्ध जयन्तीको अवसरमा कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा वैशाख पूर्णिमा मेला हुने भएको छ । २५६७ औं बुद्ध जयन्तीको अवसरमा मेला आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

याङ्जाकोट मीलन युवा क्लबको आयोजनामा वैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए । ‘२ वर्षसम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा वैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’

उनका अनुसार मेलामा घाटु नाचसँगै सांस्कृतिक कार्यक्रम, छेलो, भलिबल, बास्केटबल, सामूहिक नृत्य, हाफ म्याराथन लगायत प्रतियोगिता हुने उनले बताए । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५ हजार ५ सय ५५ रुपैयाँँ प्राप्त गर्ने उनले जानकारी दिए । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैयाँँ प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडास्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ ।

यस्तै सामूहिक नृत्यतर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैयाँँ पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैयाँँ पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैयाँँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथनतर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिब २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैयाँ खर्च हुने अनुमान क्लबले गरेको छ ।

मेलामा जानेहरुका लागि याङ्जाकोटको होमस्टे र होटलले विशेष छुट दिने अध्यक्ष गुरुङले बताए । ‘हाम्रो त्यहाँ ११ वटा होमस्टे र एउटा होटल छ । त्यहाँ २ सय ५० जति पाहुना व्यवस्थापन गर्न सकिन्छ । अझ बढी भएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ,’ उनले भने, ‘हामीले पूरा प्याकेजमा ११ सय र हाफमा ९ सय लिने गरेका छौं । मेला अवधिभर यसमा अझै केही मिलाउन सकिन्छ कि भनेर सोचिरहेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width