प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७९
kheladi samman a

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाललाई यु–१९ विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्‍याउन सफल प्रदेशका ४ जना खेलाडीलाई सम्मान गरेको छ ।

प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उनीहरुलाई जनही ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा २ चैतमा लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पुर्‍याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ), यु–१९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पुर्‍याउन टोलीमा रहेर खेल्ने सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर) छन् ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ खेलाडी जनही ५० हजारसहित सम्मानित

मुख्यमन्त्री अधिकारीले खेलाडीको हौसलाका लागि प्रदेश सरकारले नगदसहित सम्मान गरेको बताए । थोरै रकमले मात्रै भए पनि हौसला र प्रोत्साहनका लागि सम्मान गरेको बताए । ‘खेलाडी राष्ट्रका गहना होइनन्, गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘बरु खेलाडी त सम्पत्ति हुन् ।’

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने तयारीस्वरूप जग्गा खोजी भइरहेको बताए । मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताए ।

सम्मानित खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप हौसला मिलेको बताए । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उनले आग्रह गरे । नेपाल क्रिकेट संघ गण्डकी अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नतिसँगै वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width