पाँचौं सृजना कपमा छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई उपाधि

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७९
srijana cup winner male – Copy

पोखरा। पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् ।

पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ ।

छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ ।

छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो ।

छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । छात्रामा शान्तका जमुना गुरुङ र छात्रमा ब्रम्हरुपाका सुदीप परियार उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width