संस्थापक सदस्यसचिव गुरुङको बिदाइ

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७९
tej grg

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङलाई सम्मानसहित बिदाइ गरेको छ ।

बिदाइ समारोहमा परिषद् उपाध्यक्ष धोजकुमार गुरुङले सदस्यसचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए । कार्यक्रममा संस्थापक संस्थापक सदस्यसचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्षपछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा बुझाउन आवश्यक रहेको औंल्याए ।

परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनावद्ध कार्यक्रमले नै स्थापनाको छोटो अवधिमा नै परिषद्ले सफलताका साथ आफ्ना योजना अघि बढाएको बताए ।

परिषद् सल्लाहकार खड्गबहादुर रानाभाटले सही व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई बिर्सन नहुने बताए ।

परिषद्का सदस्यसचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको समारोहमा परिषद्का कार्यकारी सदस्य, बोर्ड सदस्य, सल्लाहकार, कार्यालयका कर्मचारी लगायतको सहभागिता थियो ।

प्रदेश सरकारद्वारा खेलकुद विकासका लागि गठित प्रदेश खेलकुद परिषद्मा गुरुङले १८ महिनासम्म नेतृत्व सम्हाल्दै गत असोज २५ मा उमेर हदका कारण अवकाश भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width