घान्द्रुकमा बौद्धमार्गीका लागि विद्यालय बन्ने

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Ghandrus newss

पोखरा । घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोड लागतमा निर्माण हुने भएको हो ।

सो विद्यालय २ वर्षभित्र निर्माण गरी काम अगाडि बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीमा विद्यालय निर्माण हुनेछ । विद्यालयसँगै संग्रहालय, चमेनागृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ ।

गुप्ती गुरुङको अगुवाइमा निर्माण हुने विद्यालयका लागि ओप्लेंका स्व. चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङकङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए ।

विद्यालय निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लैजान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ,’ उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’ उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउँदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत उल्लेख गरे ।

पर्यटनसँगै शैक्षिक क्षेत्रमा विकास : मन्त्री गुरुङ

बौद्ध विद्यालयको बिहीबार शिलान्यास गर्दै पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए ।

‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भए पनि विद्यार्थी बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन,’ उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि सहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ ।’ उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउँदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । अन्नपूर्ण ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए ।

विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भूपू अध्यक्ष क्या. रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार सहयोग गर्ने घोषणा गरे । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तीव्र पार्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width