भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

आदर्श समाज सम्वाददाता
असार १५, २०७९
ganesh

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि पत्रकार विनोद लामिछानेको संयोजकत्वमा गठित छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्चको बैठकले अनुमोदन गरेको हो । छनोट समिति सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्य विजय नेपाल एवं पदेन सदस्यमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल थिए ।

छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा असार १८ गते पोखरा सभागृहमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । पोखराका अग्रज पर्यटन व्यवसायीसमेत रहेका उनी एन्फाका पूर्व उपमहासचिव समेत हुन् ।

बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । सन् १९८८ मा जुनियर राष्ट्रिय च्याम्पियनसीपमा गोल्ड मेडल जिते । सोही वर्ष सिनियरतर्फ चांैथो भए । त्यसको १ वर्षपछि राष्ट्रिय च्याम्पियन बने ।

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँचिएपछि उनको खेल क्षेत्रमा पूर्ण बिराम नै लागेजस्तो भयो । उनले खेल छाडेर व्यवस्थापन सम्हाल्न थाले । टिम म्यानेजर भएर उनले १९९८ मा नेपालमै भएको सागमा देशलाई २ स्वर्ण, ५ रजत र २ कास्य पदक दिलाए ।

भट्टराई भूतपूर्व खेलाडी मञ्चमा उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, रेवान पोखरामा अध्यक्ष जोय फाउडेसनमा संस्थापक सदस्य, तत्कालीन पोखरा उपमहानगरपालिकामा उपमेयरको अनुभव सम्हालिसकेका उनी पोखरा म्याराथनका परिकल्पनाकार समेत हुन् ।

मञ्चले यसअघि प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width