समता काव्य सन्ध्याको ३४३ औं शृंखला

आदर्श समाज सम्वाददाता
पौष ५, २०७८
samatass

पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३ औं शृंखला शनिबार पोखरामा भएको छ ।
काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले ३ दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।
काव्य सन्ध्यामा विम्बकवि रमेश श्रेष्ठ, इ. कौशलचन्द्र जिसी, इन्द्र राना प्रतीक, डा. चैतन्य अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, रोशन तिमिल्सिना लगायत कविहरूले आआफ्ना रचना सुनाएका थिए ।
‘साहित्य, कला र संगीतको उत्थान : हाम्रो प्रण’ को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । विसं. २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
न्युरोडस्थित हिमालय रिडर्स कर्नरमा आयोजित काव्य गोष्ठीमा रोशन तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिएका थिए । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै