भूकम्प इपिसेन्टर बारपाकमा काेरोना महामारी, स्वास्थ्यकर्मीको टाेली पुगेर परीक्षण सुरु

प्रकाश ढकाल
जेठ १५, २०७८
Covid barpak

पोखरा । साताभरमा १० जनाको मृत्यु । धेरैलाई रुघाखोकी र टाउको दुख्ने समस्या । दैनिक मान्छे मर्न थालेपछि गोरखाको बारपाक अहिले शोकमा छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण भए पनि परीक्षण नगरिएका कारण यसै भन्न सक्ने अवस्था थिएन । गाउँलेहरु पिसिआर जाँचका लागि तयारसमेत भएनन् । अहिले गावैंभरि रुघाखोकीका बिरामी छन् । शुक्रबार प्रदेश सरकारले स्वास्थ्यकर्मी लगेर परीक्षण गर्दा अधिकांश बिरामीमा कोरोना पुष्टि भएको छ ।

‘भयावह अवस्था छ । गाउँले सबैजसो बिरामी छन् । पहिले नै कोरोनाको शंका गरेको हो । तर परीक्षण नभई केही भन्न मिलेन,’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘पालिकाले सकेजति औषधी वितरण पनि गरेको हो । तर हाम्रोमात्रै क्षमताले नभेट्ने रहेछ ।’ घना बस्ती भएको कारण संक्रमण तीव्र रुपमा फैलिएको उनले सुनाए । ‘मेलापातको बेला हो । घर नजिक नजिक पनि छन्,’ उनले भने, ‘गाउँमा भेला कचहरी सधैं भइरहन्थ्यो । कहाँबाट आयो र कसरी फैलियो अझै अनुमान गर्न सकिएको छैन ।’

गाउँमा कोरोना फैलिएपछि पालिकाको अरु काम ठप्प छ । सबै स्रोत कोभिड नियन्त्रणमा लगाएको अध्यक्ष भट्ट बताउँछन् । उनका अनुसार ४ वटा आइसोलेसन वार्ड बनाइएको छ । ‘४÷५ जनाका दरले राख्न मिल्ने ४ वटा अक्सिजनसहित आइसालेसन बनाइको छ । गाह्रो भएका बिरामीलाई त्यहाँ लगेर राखेका छौं,’ उनले थपे, ‘सिरियस भएकालाई पोखरा र भरतपुर पठायौं । कोही पनि फर्किएनन् ।’ बिरामी बोक्न पालिकाले छुट्टै एम्बुलेन्स राखेको छ ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतसहित प्रदेश स्वास्थ्य निर्देशक र सांसदहरुको टोली शुक्रबार बारपाक पुगेर गाउँलेको स्वास्थ्य परीक्षण गरिएको छ । ‘जो हे¥यो उही बिरामी छ । रुघा खोकी सबैजसोमा छ,’ मन्त्री बस्नेतले भने, ‘बिरामी अझै बढ्न सक्छन् । घरबाहिर ननिस्किनू भनेर आएका छौं । बिरामीलाई समस्या परे प्रदेश सरकारले उपचारको प्रबन्ध मिलाउँछ ।’ उनका अनुसार गम्भीर बिरामीलाई गोरखा सदरमुकाम र पोखराका अस्पतालमा उपचारको व्यवस्था प्रदेशले मिलाउनेछ ।

मन्त्री रामशरण बस्नेतसहित प्रदेश स्वास्थ्य निर्देशक र स्वास्थ्यकर्मीको टोली शुक्रबार बारपाक पुगेर स्वास्थ्य परीक्षण थालेको छ

‘थप उपचार आवश्यक परे गोरखा सरदमुकाम र पोखरासम्म पनि लैजाने व्यवस्था प्रदेश सरकारले मिलाउँछ,’ उनले भने, ‘पालिकासँग समन्वय गरिरहेका छौं । आत्तिनु पर्ने छैन ।’ कांग्रेस संसदीय दलका प्रवक्ता तथा सांसद प्रकाशचन्द्र दवाडीले बिरामीको अवस्था थाहा पाएपछि बिहीबार नै औषधी र अन्य स्वास्थ्य सामग्री पठाएका थिए । सबै काम छोडेर नागरिकको उपचार गरिदन उनले सरकारसँग आग्रह गरेका छन् । ‘जनता रोग र भोकले मर्ने अवस्था छ । सरकारलाई वास्तै छैन,’ उनले आग्रह गर्दै भने, ‘यो बेला कुर्चीका कुरा छोडौं । अरु विकास रोकौं । नागरिकको ज्यान बचाऔं ।’ सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नभएको उनको आरोप छ ।

सांसद धनमाया लामा पोखरेलले बाहिरी होहल्लाजस्तो नभए पनि कोभिडको असरले गाउँमा समस्या देखिएको बताइन् । ‘बाहिर जसरी प्रचार भएको छ, त्यस्तो अवस्था छैन,’ उनले भनिन्, ‘तर सचेत हुनुपर्ने रहेछ । हामी गएपछि गाउँलेहरु परीक्षणका लागि तयार भए । अवस्था नियन्त्रणमै छ ।’ पहिलो चरणमा गरिएको एन्टिजेन परीक्षणमा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा संक्रमण पोजिटिभ देखिएको छ । शुक्रबार ६ सय जनाको जाँच गर्दा ६६ जनामा पोजिटिभ देखिएको छ ।

बारपाकमा प्रदेश सरकारले २ जना विषेशज्ञ डाक्टर, १ जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, १ जना मनोसामाजिक परामर्शकर्ता र १ जना जनस्वास्थ्य अधिकृत खटाएर स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले घरघरमै पुगेर बिरामीको जाँच गरिरहेको छ । परीक्षणका लागि सचेतना जगाउने, मनोसामाजिक परामर्श दिने तथा उपचार र औषधी वितरण निरन्तर गरिरहने उनको भनाइ छ । पहिलो चरणमा एन्टिजेन जाँच गरिएकोमा अब तत्कालै पिसिआर परीक्षण पनि सुरु हुनेछ । बारपाकमा जेठ लागेदेखि अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width