मुख्यमन्त्री कप भलिबलः आजदेखि क्वार्टरफाइनलका खेल

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७७
Volleyball 05

गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत बिहीबारेदेखि क्वार्टरफाइनलका खेल हुने भएका छन् । बुधबार ९ खेलमध्ये पुरुषतर्फको पहिलो खेलमा समूह ग अन्तर्गत म्याग्दीले बागलुङलाई २–१ सेटले हराएको छ । पहिलो सेट २५–२१ म्याग्दीले जिते पनि दोस्रो सेट २५–१७ ले बागलुङले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा म्याग्दीले बागलुङलाई २५–१७ ले हराएर खेल जितेको हो ।

अर्को खेलमा समूह घ नआउँदा नवलपुरले सिधैँ वाकओभर पायो । तेस्रो खेलमा पर्वतले तनहूँलाई २४–२६, २५–१७ र २५–१६ को सेटमा हराएको छ । चौथो खेलमा म्याग्दीले लमजुङलाई २५–१३ र २५–१४ को सोझो सेटमा हराएको हो । पाचौं खेलमा पर्वतले मुस्ताङलाई २–० को सोझो सेटमा पाखा लगायो । पर्वतको जितमा २५–९ र २५–१३ को जित निस्केको थियो । छैटौं खेलमा बागलुङले लमजुङलाई २–१ को सेटमा हरायो । बागलुङले २५–१५, २६–२४ र २५–१५ का सेटले लमजुङलाई हराएको हो ।

महिलातर्फको पहिलो खेलमा बागलुङले लमजुङलाई २८–२६ र २५–६ को सोझो सेटमा हराएको हो । दोस्रो खेलमा कास्कीले मुस्ताङलाई २५–१० र २५–७ को सेटमा पराजित गरेको हो । तेस्रो खेलमा तनहूँले बागलुङलाई २–१ को सेटमा पाखा लगाएको हो । तनहूँको जितमा २०–२५, २५–१० र २५–१८ को जित निस्केको थियो ।
बिहीबारदेखि क्वार्टरफाइनलको खेल हुने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए । गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरेर लिग कम नक आउटको आधारमा खेलाइएको थियो । मनाङले सुरुमै सहभागिता जनाएको थिएन भने गोरखाको पुरुष टिम मात्र सहभागी भएकोमा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै कोर्ट उत्रेन ।

बिहीबार पुरुषतर्फ पहिलो क्वार्टरफाइनलमा समूह ‘क’ विजेता स्याङ्जा र समूह ‘ग’ उपविजेता बागलुङ भिड्नेछन् । दोस्रो खेलमा समूह ‘ग’ विजेता म्याग्दीले समूह ‘क’ उपविजेता कास्कीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, तेस्रो खेलमा समूह ‘घ’ विजेता नवलपुर र समूह ‘ख’ उपविजेता तनहूँ आमनेसमाने हुनेछन् समूह ‘ख’ को विजेता पर्वत भने गोर्खाले अन्तिम समयमा नखेल्ने भएपछि सिधै सेमिफाइनल प्रवेश गरेको छ ।

महिलातर्फको पहिलो क्वार्टरफाइनलमा समूह ‘क’ विजेता म्याग्दी र समूह ‘ग’ उपविजेता स्याङ्जा भिड्नेछन् । दोस्रो खेलमा समूह ‘ख’ विजेता तनहूँ र समूह ‘घ’ उपविजेता मुस्ताङ बीच खेल हुनेछ । तेस्रो खेलमा समूह ‘ग’ विजेता पर्वतले समूह ‘क’ उपविजेता नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ । चौथो खेलमा समूह ‘घ’ विजेता कास्की र समूह ‘ख’ उपविजेता बागलुङ आमनेसामने हुनेछन् ।

फागुन ८ सम्म हुने प्रतियोगितामा मनाङबाहेक प्रदेशका १० जिल्लाका महिला र पुरुष टिमको सहभागिता छ । विजेता महिला र पुरुष टोलीले समान २ लाख तथा उपविजेता दुवैले समान १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तृतीय हुने टोलीले ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेन्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक गौचनले बताए ।

प्रतियोगिता हेर्न टिकट काट्नुपर्छ । पहिलो चरणका खेलमा ५० रुपैयाँ तथा सेमीफाइनल र फाइनल खेलका लागि १ सय रुपैयाँ टिकट दर रहेको संघ अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width