जिल्लामै पहिलो पटक फुटसल

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७७
Futsal 2

वालिङ  । स्याङ्जा जिल्लामै पहिलो पटक फुटसल खेलको सुरुवात भएको छ । वालिङ–८, बीपीचोकमा वालिङ स्पोटस् सेन्टरले १ करोड रुपैयाँ लागतमा फुटसल कोर्ट सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुवेदीले बताए ।

“छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलो पटक फुटसल सञ्चालनमा ल्याएका छौं” सञ्चालक सुवेदीले भने, “फुटसल सञ्चालनमा आइसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेन्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौं ।” थप आवश्यक पूर्वाधारहरु निर्माण भइरहेको सञ्चालक सुवेदीले बताए ।

पछिल्लो समय उमेर ढल्केका मानिसहरु, युवायुवती तथा बालबालिकाहरु यस खेलप्रति आकर्षण भइरहेको अवस्थामा जिल्लामै पहिलो पटक नमूनारुपमा फुटसल सञ्चालनमा ल्याएको सुवेदीले बताए ।

“दिनभरी कामकाजमा ब्यस्त हुने र साँझबिहानको समयमा शरीर स्वस्थ राख्न पनि यो खेल खेल्ने धेरै हुनुहुन्छ” सञ्चालक सुवेदीले भने, “यो खेलप्रति सबैजसो उमेर समूहका खेलाडीहरुको चासो र नयाँ खेल भएकाले पनि आकर्षण बढ्दै गएको छ ।”

फुटसल कोर्टको शनिबार गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुवेदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा रेग्मीले खेल क्षेत्र तथा खेलाडीहरुको क्षमतालाई प्रष्फुटन गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेल क्षेत्रसँगै खेलाडीहरुको क्षमता विकासका लागि निरन्तर लागिपर्ने बताए ।

वडा अध्यक्ष कमलप्रसाद सुवेदीले अनुशासन र निरन्तरतालाई आत्मसात गर्दै उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

मोफसलमा फुटसल सञ्चालन गरेर जिल्लामा पहिलो पटक फुटसल खेललाई प्रवेश गराएर खेलकुदको विकास तथा खेलाडीको क्षमता प्रष्फुटन गर्नमा वालिङ स्पोर्टस् सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको छ ।

सेन्टर सञ्चालक गणेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रभात युवा क्लबका पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले स्वागत र नवप्रभात युवा क्लबका सचिव तोलाकान्त बगालेले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width