आज देभभर दुई हजार २० कोरोना पुष्टि

रासस
असाेज २, २०७७
novel-coronavirus-where-to-find-information

काठमाडौँ, २ असोज । पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ ।

एघार दिन अघि सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो। देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका सङ्क्रमित पुरुष एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।

हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् ।

यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् । हाल १७३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार २९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार ८८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन्।

कहाँ कहाँ कति भेटिए सङ्क्रमित    
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width