प्रकृतिपूजक बानियाँ रहेनन्

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
late Prem Bahadur Baniya_Fotor

पोखरा, १ माघ। पर्यावरण तथा वातावरण संरक्षणका अग्रज तथा प्रकृतिपूजक प्रेमबहादुर बानियाँको निधन भएको छ।

पोखरा–१६, बाटुलेचौर निवासी ८९ वर्षीय बानियाँको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा शनिबार निधन भएको हो। उनी केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए।

वातावरणप्रति अत्यन्त रुची राख्ने बानियाँले पञ्चपल्लव लगायत चार हजारभन्दा बढी बिरुवाको रोपण तथा संरक्षण समेत गरेका थिए भने पाँच वटा चौतारी निर्माण गरेका थिए।

पर्यावरण संरक्षणमा उनले पुर्याएको योगदानबारे बीबीसी लगायत विभिन्न सञ्चारमाध्यमबाट प्रशारण तथा प्रकाशन भएको थियो।

वातावरण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीलाई शुक्ला साहित्य समिति, हिमालय क्लब, नवआदर्श सामुदायिक विकास समाज, पोखरा पब्लिक स्कूल लगायत संस्थाहरुले सम्मान गरेका थिए।

तत्कालीन शाही नेपाल वायुसेवा निगममा २५ वर्षभन्दा बढी सेवा पुर्याएका बानियाँ दीर्घसेवा पदकबाट विभूषित भएका थिए।

यसैगरी उनी विश्व हिन्दू महासंघ, राष्ट्रिय परोपकार महासंघ, गीता मन्दिर, राममन्दिर, हिमालय क्लब लगायत विभिन्न संस्थामा आबद्ध रहेका थिए।

स्व. प्रेमबहादुर बानियाँको पोखरा–१६, लामाचौरस्थित सेतीगण्डकीको तुलसीघाटमा शनिबार दाहसंस्कार भयो।

उनका श्रीमती, तीन छोरा दुई छोरी र १५ जना नातिनातिना छन्।

स्व. बानियाँका जेठा छोरा हरिबहादुर निवृत्त उपसचिव हुन्। माइला छोरा रामबहादुर शिक्षक एवम् साहित्यकार हुन् भने कान्छा छोरा डिलबहादुर यातायात व्यवसायीका रूपमा परिचित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width