दाहाल अध्यक्षमा निर्विरोध

सम्पादक
पौष २१, २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको अध्यक्ष पदमा फेरि निर्वाचित भएका छन् । उनी पार्टीको आठौं महाधिवेशनबाट निर्विरोध भएका छन् । यसपटक पार्टीहरुको राष्ट्रिय महाधिवेशनमा सत्ता हस्तान्तरण र पुस्ता हस्तान्तरणको नारा धेरै चर्केको बेलामा पनि माओवादी केन्द्रमा त्यस्तो कुनै आवाज सुनिएन । त्यस्तो आवाज नसुनिएकाले उनी निर्विकल्प अध्यक्षका रुपमा रहेका थिए । त्यसमा पनि पार्टीको आन्तरिक राजनीतिमा सबै पदहरुमा सहमतिमा निर्वाचित गर्ने प्रयास भएको बेला उनीविरुद्ध आँखा लगाउने कुरै थिएन । उनलाई अध्यक्षमा निर्वाचित गरियोस् भनी सम्भावित उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने अर्का सम्भावित उपाध्यक्ष कृष्णबहादुर महराले समर्थन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष दाहालको जन्म कास्की जिल्लामा भएको थियो । तापनि उनको कार्य क्षेत्र चितवनमा भयो । गएको संसदीय निर्वाचनमा उनी चितवनबाटै जितेर प्रतिनिधिसभामा पुगेका थिए । २ पटक प्रधानमन्त्री भएका उनी वरिष्ठतम नेता मानिन्छ । वर्तमान सरकारको गठबन्धन बनाउनमा उनको ठूलो भूमिका रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकेपछि उनी ओलीको कटु आलोचक भएका छन् । ओलीको सत्तापतन गराउन उनले अथक प्रयास गरेका छन् । सत्ता गठबनधनकै कारण एमाले प्रदेश सरकारहरुबाट पनि विस्थापित भएको छ । हालै चुनाव हुन गइरहेको राष्ट्रिय सभाका सदस्यको चुनावमा पनि एमाले भर्सेज सत्ता गठबन्धन भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको नेतृत्व गरे । त्यसपछि शान्ति सम्झौता गरी राष्ट्रको मूलधारमा आए । २०६५ सालमा भएको चुनावमा माओवादी पार्टी सबैभन्दा ठूलो पार्टी भएर देखाप¥यो । त्यसबेला उनको नेतृत्वमा देशमा परिवर्तन हुन्छ, विकास र निर्माण हुन्छ भन्ने आशा अपेक्षा गरिरहेको थियो । सरकारी कर्मचारीहरु पनि सजग र सतर्क थिए । विकासको लागि अनुकूल समय बनेको थियो तर त्यो सरकारले आफूले गर्नुपर्ने कामको प्राथमिकता नै तोक्न सकेन । अहंकार यति बढ्यो कि त्यसले जे गर्न पनि सक्छ र जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास भयो । तुरुन्तै कम्युनिजम ल्याउने तानाबाना बुन्न थाले । त्यसको लागि बाटो सफा गर्ने क्रममा कमान्डर इन चिफ भएका रुक्माङ्त कटुवाललाई बर्खास्त गर्ने प्रयास गरे । पशुपतिको मन्दिरबाट पुजारी भट्टहरुलाई हराउने प्रयास गरे ।
त्यस्तै खुद्रा काममा अलमलिए । कटुवाल प्रकरण यत्ति ठूलो भयो कि प्रधानमन्त्री दाहाल आफैंले राजीनामा गर्नुप¥यो । विकासको लागि बनेको महत्वपूर्ण अनुकूल समय खेर गयो । त्यसको साथै उनले विकास गर्छ भन्ने जुन भावना थियो, त्यो पनि हराउँदै गयो । उनी पनि अन्य नेताहरुमा गनिए । उनी दोस्रो पटक पनि प्रधानमन्त्री भए । तर केही उपलब्धि भएन । हुँदाहुँदै उनको पार्टी पनि खिइएर सानो हुँदै गयो । चुनाव आयो कि कहिले कोसँग मिल्नुपर्ने, कहिले कोसँग मिल्नुपर्ने भयो । पार्टीको आकार र साइजजस्तो भए पनि पार्टीभित्र उनको एकलौटी छ । आठौं महाधिवेशनले उनलाई एक अवसर दिएको छ । यो अवसरको फाइदा उठाएर उनले पार्टीलाई के कति ठूलो बनाउँछ त्यो भने हेर्नुपर्ने नै भएको छ । त्यस हिसाबले यो अवसर अथवा अब आउने परिस्थिति उनको लागि ठूलो चुनौती पनि हो ।

Related News

सम्बन्धित समाचार

  • नागरिकताबारे बढ्दो विवाद

    सम्पादक श्रावण ३१, २०७९
    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरी प्रमाणीकरणका लागि पेस भएको नागरिकतासम्बन्धी विधेयक पुनर्विचारका लागि आइतबार संसदमा फिर्ता गरेपछि त्यसबारे व्यापक…
  • परराष्ट्रमन्त्री खड्काको सफल चीन भ्रमण

    सम्पादक श्रावण ३०, २०७९
    परराष्ट्रमन्त्री नारायण खड्का चीनको तीनदिने भ्रमण पूर्ण गरेर नेपाल फर्केको ५ दिन भएको छ । तापनि उनको भ्रमणको सम्बन्धमा चर्चा…
  • चुनावमा गठबन्धनको आकर्षण

    सम्पादक श्रावण २७, २०७९
    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला असंवैधानिक किसिमले प्रतिनिधिसभा भंग गरेपछि एकजुट भएको पाँचदलीय गठबन्धन सरकारले १…
  • महिलाका लागि ५० प्रतिशत माग

    सम्पादक श्रावण २६, २०७९
    सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गर्नासाथ देश चुनावको माहोलमा प्रवेश गरेको छ ।…
  • परराष्ट्रमन्त्री खड्काको चीनमा व्यस्त कार्यक्रम

    सम्पादक श्रावण २५, २०७९
    परराष्ट्रमन्त्री नारायण खड्का ३ दिनको भ्रमणका लागि मंगलबार चीन पुगेका छन् । मन्त्री खड्का चिनिया समकक्षी वाङ चीको मैत्रीपूर्ण निमन्त्रणामा…

hero news full width