सङ्गीतका धरोहर प्रज्ञारत्न रहेनन्

सम्पादक
श्रावण २४, २०७०

१. सङ्गीतका धरोहर बौद्ध उपासक प्रज्ञारत्न बज्राचार्यको सोमबार राति पोखरामा निधन भयो। उनी केही समयदेखि उच्च रक्तचाप, मुटु र आखिरीमा मृर्गौको रोगबाट पीडित भएका थिए। उनको मणिपाल अस्पतालमा उपचार गर्दार्गर्दै निधन भएको थियो। पाल्पा तानसेनमा जन्मेका उनी ७९ वर्षका थिए।

२.     उनको परिवार २००० सालमा तानसेनबाट पोखरामा आएको थियो। त्यसैबेलादेखि पोखरा त्यस परिवारको कर्मथलो भयो। प्रज्ञारत्न बज्राचार्य बाल्यकालदेखि गायनमा सोख राख्दथे। उनले पोखराका धेरै गुरुबाट सङ्गीत सिके। सवज्ञमान प्रधानाङ्गबाट शास्त्रीय सङ्गीत सिकेपछि उनी झन सङ्गीतमा नै व्यस्त रहे। राग गाउन उनलाई मन पर्दथ्यो।

३.     उनी मूलतः बुद्ध धर्मको ज्ञानमाला भजन गराउँथे। रामायण गाउन पनि उनी उत्तिकै उत्साहित हुन्थे। नाटक आदिमा सङ्गीत भर्न पनि उनी जाने गर्दथे। उनले फिल्ममा पनि आफ्नो भूमिका निभाए। उनले जीवन रेखा, सन्तान, कन्यादान, चिनो, कान्छीलगायतका फिल्ममा अभिनय गरेका थिए। किशोरावस्थामा उनले नाटक आदिमा महिलाको भूमिकामा अभिनय गर्ने गरेका थिए।

४. उनले सङ्गीतको शिक्षा आफूले मात्र लिएका होइनन्। सङ्गीतलाई फैलाउनुपर्दछ भनी उनले धेरैलाई त्यो शिक्षा प्रदान गरेका थिए। उनका कतिपय शिष्यहरूले आज सङ्गीतको क्षेत्रमा राम्रो हैसियत बनाएका छन्। उनले सङ्गीतको प्रशिक्षण पोखरामा मात्र होइन, काठमाडौं र ललितपुरमा पुगेर पनि प्रशिक्षण र तालिम दिएका थिए।

५. पोखराको धर्मशिला बुद्धबिहारस्थित ज्ञानमाला भजन सङ्घका उनी संस्थापक अध्यक्ष हुन्। उनले त्यो संस्थालाई निरन्तर २५ वर्ष बढी नेतृत्व प्रदान गरे। उनले नेवारीमा मात्र गाउने गरिएका ज्ञानमाला भजनलाई नेपालीमा अनुवाद गरी तथा कतिपय गीत आफैले रचना गरी लोकप्रिय पारे। उनको ज्ञानमाला भजनले बुद्ध धर्मको प्रचार-प्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

६.     उनले धर्मशिला बुद्धविहारमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेकामा बिहार परिवारबाट उनलाई सम्मान गरिएको थियो। २०५५ मा पोखरा उप-महानगरपालिकाले आफ्नो क्षेत्रका नौजनालाई नवरत्न घोषित गरी सम्मान गर्ने क्रममा सङ्गीत क्षेत्रबाट उनलाई सम्मान गरिएको थियो। उनलाई सनातन धर्म सेवा समिति कास्की, भैरव संस्कृति संरक्षण समिति, स्वयम्भू ज्ञानमाला भजन खलः, राष्ट्रिय ज्ञानमाला समितिले राष्ट्रिय सम्मेलनमा तथा एफएमलगायतका दर्जनौं संस्थाले अभिनन्दन, सम्मान र कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

७.     प्रज्ञारत्न बज्राचार्यले साधा जीवनयापन गरे। उनी साथीभाइ र सङ्गीत भनेपछि हुरुक्क हुन्थे। बुद्ध धर्मका शील, सदाचार र समानताको भावनाबाट प्रभावित थिए र एक सर्जकका रूपमा ती कुराहरू अर्थात त्यसका भार र भावधारा आफ्नो रचनामा प्रतिबिम्बित गर्दथे। त्यसै भएर उनका रचनाहरू कर्णप्रय हुन्थे र श्रोताहरूले तिनीहरूलाई सुनिरहन मन पराउँथे। एक स्रष्टा र सर्जकका रूपमा उनी उच्च कोटिका थिए। उनले समाजमा ठूलो योगदान गरेका थिए। त्यस्तो व्यक्तिको निधन हुनु ठूलो क्षति हो। अपूरणीय क्षति हो। हामी उनको निधनमा गहिरो शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width