भ्रमण टोलीको प्रफुल्ल अनुहार

सम्पादक
चैत्र १७, २०७३

१. प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन्। प्रधानमन्त्री दाहाल चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम फरम फर एशिया सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए। उनी चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै हिजो नेपाल फर्केका हुन्। प्रधानमन्त्रीले आफ्नो भ्रमण अत्यन्त सफल भएको जनाएका छन्।

२. हाम्रा नेताहरुलाई चीन र भारतको भ्रमण गर्नु, धार्मिक व्यक्तिहरुले तीर्थ यात्रा गर्नु सरह हो। तीर्थ यात्रामा गएकाहरुले त्यहाँ लक्षित ठाउँमा पुग्नु र देवताको दर्शन गर्नु आफ्नो मनोकांक्षा पूरा हुनु हो। प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा भाषण गर्न गएका थिए। त्यो सम्मेलनमा भाषण गर्नु नै उनको भ्रमण सफल हुनु हो।

३. त्यसको अतिरिक्त उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटघाट गर्ने र वार्ता गर्ने अवसर पाए। त्यही नै ठूलो कुरा हो। त्यसमाथि चीनले नेपालको चुनावका लागि भनेर केही करोड रुपैयाँ नगद सहयोग गर्ने वचन पनि दिए र राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको निमन्त्रणा स्वीकारेर फेरि अनुकूलको समयमा नेपाल भ्रमण गर्ने आश्वासन दिए।

४. यसबीच नेपालले आफ्नो व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई चिनीया बजारमा शून्य भन्सार सुविधा उपलब्ध गराइदिन आग्रह गर्ने अवसर पाए भने तातोपानी नाका फेरि खुलाउन छलफल भयो र नेपाल र तिब्बतबीच व्यापार, पर्यटन, सीमा सुरक्षा सुदृढ गर्ने र सांस्कृतिक क्षेत्रमा के कसरी सहयोग बढाउने भन्नेबारे पनि कुराकानी भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताए।

५. नेपालले चीनका राष्ट्रपति सी जिनपिङको वान बेल्ट वान रोडको विश्व अभियानमा चाँडै साथ दिने या त्यसको सदस्य बन्ने आश्वासन दिएको छ। नेपाली भ्रमण टोलीले चिनीया अधिकारीहरुसमक्ष नेपाल ओविआर अवधारणामा सहभागी भएर छिटो लाभ लिन चाहन्छ भन्ने कुरा राखेको छ। भ्रमण टोलीले त्यो कुरा त्यसरी राखेपछि नेपालमा अब त्यसबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

६. भ्रमण टोलीले पूर्ववर्ती सरकारका पालामा सहमति गरिएको पारवहनलगायत कुरामा आफू प्रतिवद्ध रहेको जनाएको छ। परराष्ट्रमन्त्री महतले चीन सरकार सामु पहिलेको सबै सहमति र सम्झौता अक्षरशः पालना गर्ने विश्वास दिएको कुरा जनाएका छन्। तर नेपाललाई चाहिने एक तिहाई पेट्रोल चीनसँग खरीद गर्ने कुराबारे भने सबै मौन छन्।

७. भ्रमणमा राम्रा-राम्रा कुरा भए। भ्रमण टोली भ्रमण अत्यन्त सफल भएकोमा प्रफुल्ल छ। तर ती सबैभन्दा महत्वपूर्ण कुरा अर्को एउटा थपिएको छ, त्यो हो-विश्वास। नेपाल-चीन द्विपक्षीय सम्बन्ध विश्वासिलो बनाउनु महत्वपूर्ण भन्ने कुरा आएको छ। विश्वासको कमी कमजोरी कहाँ कसरी भयो र कुन पक्षबाट भयो, यसमा गम्भीर भएर सोच्नु आवश्यक छ। दुर्इ पक्षबीच विश्वासको संकट उत्पन्न भएमा अरु के रहला र ? यो प्रश्नले भ्रमण टोलीको प्रफुल्ल अनुहार कतै मलिन त पारेन भन्ने प्रश्न पनि आएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width