नव गठित सरकारलाई सफलताको कामना

सम्पादक
पौष १२, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशका प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबारका दिन नियुक्त गरेकी हुन् भने सोमबार अपराह्न सपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्रीका रुपमा यो उनको तेस्रो सपथ ग्रहण हो । निर्वाचनमा उनको पार्टीले प्रतिनिधि सभामा जम्मा ३२ सिट जितेको छ । तैपनि एमाले र अन्य पार्टीहरुको साथ र सहयोगले उनी प्रधानमन्त्री भएका हुन् । उनलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र स्वतन्त्र ३ गरी १ सय ६९ सांसदको समर्थन छ । यस अघि उनी र उनको पार्टी माओवादी कांग्रेससँगको गठबन्धनमा थिए । कांग्रेसले उनलाई पहिलो पटक प्रधानमन्त्री नदिए पछि उनी बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएका थिए । तिनीहरुको मिलनले सत्ता गठनको लागि नयाँ समीकरण बनेको छ । नयाँ समीकरणमा पहिलो पटक दाहाल प्रधानमन्त्री हुने र त्यसपछि ओली प्रधानमन्त्री हुने समझदारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही समयदेखि आफू प्रधानमन्त्री हुने अभिव्यक्ति दिँदै आएका थिए । तर उनको तेस्रो ठूलो पार्टी कसरी प्रधानमन्त्री होला भनेर मानिसहरु त्यत्ति गम्भीर थिएनन् । तर एमालेले भने कांग्रेससँगको गठबन्धन तोडेर आएमा प्रधानमन्त्री पदका लागि समर्थन गर्न सकिने सन्देश पठाएका थिए भने उता कांग्रेसले उनलाई पहिलो पटक प्रधानमन्त्री पद दिन इन्कार गरेका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले दाहाल र ओली यत्ति छिट्टै मिल्न सक्छन् भनेर आकलन गर्न सकेनन् । राजनीतिमा सम्भावनाको खेल हुन्छ र राजनीतिमा स्थायी सत्रू र स्थायी मित्र कोही हुँदैनन् भन्ने कुरा पाका र परिपक्क नेताका रुपमा चिनिएका देउवाले सम्झन सकेनन् । जसको परिणाम कांग्रेस सबभन्दा ठूलो पार्टी भएर पनि सत्ता चिप्लिएर विपक्षी खेमामा पुगेको छ ।
नयाँ सत्ता समीकरणले केही नयाँ आशा जगाएको छ । नव नियुक्त प्रधानमन्त्री दाहालले आफूले यस पटक चामत्कारिक किसिमले काम गर्ने बताएका छन् । गठबन्धनको नयाँ टिममा एकातिर राप्रपा छ भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले गरेका अनियमितता, भ्रष्टाचार, ढिला सुस्तीमा घन्टी बजाएर सरकारलाई सजग र सचेत पार्ने लक्ष्य राखेको छ । त्यो पार्टी आफैं सत्ताको साझेदार भएकोले पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । सरकारको कुन मन्त्री र विभागीय सचिव लगायत व्यक्तिहरुले कसरी के गर्दैछन् त्यो प्रष्ट थाहा हुन्छ । अथवा त्यसलाई घन्टी बजाउन सजिलो हुन्छ । सहरिया नयाँ पुस्तालाई चामत्कारिक किसिमले चुनावमा आकर्षित गरेको त्यस पार्टीले काम देखाउने बेला छिटो आएको छ । यो राम्रो अवसर हो । प्रधानमन्त्री दाहाल र नयाँ गठबन्धनलाई काम देखाउने अवसर पनि प्राप्त भएको छ भने चुनौती पनि उत्तिकै छ । मुख्य कुरा सरकार टिक्नु पर्दछ र स्थायित्व ग्रहण गर्नुपर्दछ । हामी सरकारको सफलताको कामना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width