चुनावको चर्चा

सम्पादक
चैत्र १४, २०७३

१. स्थानीय तहको निर्वाचन अब डेढ महिनामात्र बाँकी छ। स्थानीय तहमा निर्वाचनको चर्चा परिचर्चा बढेको छ। सम्भावित उम्मेदवारको लेखाजोखा शुरु भएको छ। उम्मेदवारका आकांक्षीहरुले पनि प्रत्यक्ष/अप्रत्यक्ष आफूलाई प्रस्तुत गर्न थालेका छन्। उनीहरुले स्थानीय स्तरमा मात्र होइन, आ-आफ्ना पार्टीको शक्तिकेन्द्र पनि धाउन थालेका छन्।

२. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर मधेसी मोर्चाले चुनावमा सकारात्मकता देखाएको छैन। त्यसले अझ पनि संविधान संशोधनलाई प्राथमिकता दिएको छ र चुनाव अधि संशोधन हुनुपर्नेमा आफ्नो अडान दोहोर्‍याएको छ। मोर्चाको त्यो कथनले राष्ट्रिय राजनीतिमा चुनावको सुनिश्चिततामा प्रश्न उठेको छ।

३. देशको राजनीति यस्तो छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा गएर चीनको आतिथ्य सत्कारको रसास्वादन गर्दैछन्। विदेश भ्रमण भनेपछि हाम्रा नेताहरु के-कति लालयित हुन्छन् भन्ने यस पटक प्रधानमन्त्रीको भ्रमणले प्रष्ट देखाएको छ। फेरि यो उनको पहिलो चीन भ्रमण पनि होइन।

४. यहाँ उनले आफ्ना उप-प्रधानमन्त्रीहरुको मर्यादाक्रम मिलाउन नसक्दा कसैलाई कार्यवाहक नतोकी चीन गएका छन्। नेपालमा यस्तो कहिले भएको थिएन। यसले एउटा विकृति जन्माएको छ। भोलीका प्रधानमन्त्रीहरुले पनि यस्तै विकृतिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ। नेपालमा विकृति छिटो फैलिन्छ। त्यो रही रहन्छ।

५. यहाँ उनी प्रधानमन्त्रीको आफ्नो समस्या सुल्झाउन नसकी चीन पलायन भए जस्तो गरी गएका छन् भने चीनमा उनले एशियाको विकासको रोलमोडलको उल्लेख गरी विश्व विकास गर्ने भाषण गरेका छन्। नेपालीहरु बोल्न जान्दछन्, तर काम गर्न जान्दैनन् भन्ने कुरा यस पटक हाम्रा प्रधानमन्त्री दाहालले प्रष्ट देखाएका छन्।

६. विगतको कुरा सम्झेर मात्र हुँदैन। हामीले वर्तमान समस्या सुल्झाउन सक्नु पर्दछ। मधेसी मोर्चाले पनि हलो अड्काएर मात्र हुँदैन, स्थानीय तहमा मधेसमा पनि चुनाव आइसकेको छ। स्थानीय जनता त्यसको लागि तैयार छन्। मोर्चाले बाटो खोलिदेओस् भन्ने चाहान्छन्। जनभावनाको कदर मोर्चाले पनि गर्नु पर्दछ।

७. मोर्चामाथि जन दबाब छ। त्यसले पनि सेफ ल्याण्डिङ खोजेको छ। यस्तोमा सरकार र प्रमुख प्रतिपक्ष एमालेले केही लचिलोपन देखाएर उनीहरुलाई राजनीतिको मूल धारमा ल्याउनु पर्दछ। चुनावमा सरिक एवम् सहभागी हुने वातावरण निर्माण गर्नु पर्दछ। स्थानीय चुनावलाई सबैले सकारात्मक किसिमले हेर्नुर्दछ। करिब २० वर्षपछि भएको चुनावलाई सबैले उत्साहसाथ लिनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width