अनियन्त्रित बजार भाउ

सम्पादक
असाेज १५, २०८०

जब चाडबाड नजिकिँदै जान्छन्, बजार भाउ छोइसक्नु हुँदैन । नियमनको जिम्मा पाएका सरकारी संयन्त्र कहींकतै अनुगमन गरेजस्तो गर्छन् तर त्यस्ता अनुगमनको प्रभावकारिता खासै देखिँदैन । सरकारी संयन्त्र काम भइरहेको छ भन्छ तर बजारमा दिनहुँ उपभोक्ता ठगिएको ठगियै छन् । कालाबजारी गर्नेहरू हौसिरहेका छन् । विभिन्न वहानामा चर्को भाउ असुल्दा पनि कारबाही नहुने भएपछि उनीहरू हौसिनु स्वाभाविक नै हो । भारतले चामल निर्यातमा रोक लगाउने भयो भनेपछि यता सामान लुकाउन र भाउ बढाउन सुरु भयो । प्याजमा त्यस्तै भयो । भारतमा उत्पादन कम भएपछि नेपाल पठाउन रोक लगाउने भनेर समाचार आयो, यता हाहाकार सुरु भइहाल्यो । ३५ रुपैयाँ प्रति केजीमा पाइने प्याज सय रुपैयाँमा पनि नपाइने बनाइयो । दैनिक उपभोग्य सामग्रीको भाउ यति आकासिएको छ कि सर्वसाधारणले त अब साँझ बिहानको छाक टार्नसमेत कठिन भइसक्यो ।

संघ प्रदेश र स्थानीय सरकार कृषिमा उत्पादन बढाउने भन्दै बर्सेनि बजेट बढाइएको नारा लगाउँछन् । नारा र भाषणमा बजेट बढे पनि वास्तविकतामा त्यसो भएको छैन । कृषि उत्पादन बढाउन भनेजस्तो सजिलो छैन । कृषिमा काम गर्ने जनशक्ति छैन । भइहाले पनि समयमा मल, बिउ पाइँदैन । उत्पादित सामग्री बजारमा पुर्‍याउन उस्तै कठिन छ । भारतीय फलफूल र तरकारी भित्रने कृषि उपज बजारहरूमा नेपाली उत्पादन भिœयाउनै कठिन छ । उद्यमीहरू पनि एकोहोरो जस्ता भइसकेका छन् । एउटाले कुखुरा फार्म चलाएर नाफा कमाएको देख्यो, अर्कोले सुरु गर्छ, यसो कमाउने बेला भयो बर्डफ्लु जस्ता महामारीको घानमा पर्छ । यी र यस्तै समस्याबाट नेपाली किसान गुज्रेका छन् । किसान असफल हुनु भनेको उपभोक्ता मारमा पर्नु हो । महँगीको चापमा पर्नु हो ।

कृषिलाई व्यावसायिक बनाउन नसक्नु, बजारलाई नियन्त्रणमा राख्न नसक्नु सरकारको भयंकर कमजोरी हो । बजार अनुगमनको अधिकार अहिले ३ तहकै सरकारलाई छ । संघ सरकारले प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको व्यक्तिलाई यसको जिम्मा दिएको छ । गण्डकी प्रदेश सरकारले बजार अनुगमन नियमावली बनाएर काम थालेको छ । पालिकास्तरबाट पनि अनुगमन गरिएका खबर सुनिन्छन्, थाहा पाइन्छन् । तर गल्ती गर्नेहरूलाई दोष अनुसारको कारबाही गर्न सरकारी संयन्त्र चुकिरहेको छ । अनि ३ तहका सरकारले आआफ्नो तरिकाले अनुगमन गर्ने तर समन्वय नगर्ने भएकाले पनि समस्या बढिरहेको छ । अधिकार पाएका व्यक्तिहरूले त्यसको प्रयोगमात्रै गर्ने हो भने पनि बजार यतिसारो अनियन्त्रित हुने थिएन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width