संस्कार नै खराब भएपछि राजनीतिमा वृद्ध आऊन् कि युवा ?

दीपेन्द्रकुमार बिसी ‘दिपु’
भाद्र २७, २०७८

नेपालको राजनीतिमा युवाको नेतृत्व र हस्तक्षेपको सवाल आज भर्खरको आलोकाँचो सवाल होइन । यो त केही वर्ष अगाडिदेखि उठदै आएको सवाल हो । आजभोलि एकाएक युवा नेतृत्वको बहस तातिनुको कारण भने नेपाली कांग्रेसको वडा महाधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ बाट १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापतिमा निर्वाचित भएकाले हो । यो नेपालभर चर्चा परिचर्चाको समाचार पनि भएको छ ।
नेपाली कांग्रेसको वडा महाधिवेशन चलेको कतिपय नेपालीहरूलाई त्यतिबेला मात्र थाहा भयो, जतिबेला भदौ १९ गते दुल्लुमा किशोरी वडा सभापतिमा निर्वाचित भएको खबर छ्यापछ्याप्ति मिडियामा आयो । अहिलेसम्म देशको नेतृत्व गरेका वृद्ध नेताहरूको राजनीतिक कार्यशैलीदेखि आजित भएका नेपाली जनताहरू १९ वर्षमा किशोरी राजनीतिमा होमिनुलाई सकारात्मक रुपमा लिएका छन् । यो चर्चा सामाजिक सञ्जालदेखि राजनीतिक गफगाफ हुने चिया पसलसम्म चल्ने गरेको छ ।
अधिकांश युवाहरू राजनीतिमा चासो नै नराख्ने । चासो राख्ने केहीमध्ये न्यून मात्रामा राजनीतिक दलमा आबद्ध हुने गर्छन् । छुटपुट केहीमात्रै नेतृत्वमा हाबी हुन्छन् भने बाँकी कार्यकर्तामा मात्रै सीमित हुन्छन् । नेतृत्वमा आएका तिनै छुटपुट युवाहरूमध्ये पनि अधिकांश पैसा, पावर, गुण्डागिरी, नातावाद, कृपावाद, चाकरीवादकै श्रेयले नेतृत्वमा पुगेका हुन्छन् । यस्तो किसिमको राजनीतिक स्थितिमा म राजनीति गर्छु । यो देशको निम्ति केही राम्रो गरेर देखाउँछु भन्ने आँट र आत्मबल देखाउनु सर्वप्रथम ठूला कुरा हो । राजनीति फोहोरी खेल हो ।
आफ्ना सन्तानलाई अरु गरोस् राजनीति नगरोस् भनेर राजनीतिबाट टाढा बनाउने अभिभावकहरूको ठूलो जमातबाट निर्वाचित भएर १९ वर्षमा वडा पार्टीकोे जिम्मेवारी सम्हाल्न पुग्नु किशोरी महतको १ सुनौलो र चुनौतीपूर्ण अवसर हो । राजनीतिमा हरेक असल व्यक्तिहरू जसले सधंै असल कार्य गर्न सक्ने अठोट बोकेका हुन्छन्, उनीहरू राजनीतिमा लाग्न आवश्यक छ । जसमा उच्च नेतृत्वदायिक क्षमता र नैतिकता छ । देश र जनताको निम्ति राम्रो कार्य गर्ने संकल्प बोकेको छ । जसमा अनुशासन, निडर र निश्चल स्वभाव छ । त्यस्ता युवाहरू राजनीतिमा आउनु आजको आवश्यकता पनि हो ।

नेपाली समाजले फरक मुहार, महान विचार, उत्कृष्ट कार्यशैली भएको स्वाभिमानी तथा इमानदार नेतृत्वको खोजी गरिरहेको छ । नेपालको सन्दर्भमा हरेक राजनीतिक दलका ६०÷६५ वर्ष उमेर पुगेका दोस्रो तहका नेताहरूलाई युवा नेता नै ठान्ने र उनीहरूलाई प्रमुख नेता सरह विश्वास नगरिदिने कार्यकर्ता छन् । नेता कार्यकर्ता र जनताको विश्वास नै जित्न नसक्ने नेताहरूको राजनीतिक जीवन युवा नेताको नाम उपनामले जोडिएर नै सकिन पुगेको हुन्छ ।
तर नेतृत्वको कार्यभार भने युवा उमेर हुँदा पनि तिनी युवा नेताले नपाउने व्यथा ज्युँ का त्युँ छ । गणतन्त्र प्राप्तिपछि नेपालको राजनीति केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, आदि वृद्ध नेताहरूको नाममै अल्झिँदै आएको छ । हस्तक्षेपकारी भूमिका निर्वाह गरी कोही युवा नेतृत्व अगाडि आउन सकिरहेका छैनन् ।
केपी ‘बा’ देखि महेश बस्नेत छोरासम्म, आरजु भाउजूदेखि मीनेन्द्र रिजाल काकासम्म, रामकुमारी झाँक्री दिदीदेखि स्वस्तिका महत बहिनीसम्मका थुप्रै व्यक्तिहरू राजनीतिमा संलग्न हुन पुगेका छन् । नेपालको राजनीतिक प्रणालीमा खराबदेखि असलसम्म । बौद्धिकदेखि चरित्रहीनसम्म नेता कार्यकर्ता भएका छन् । तर असललाई टिक्न गाह्रो छ भने खराबलाई टिकिरहन सहज छ । राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने पार्टीका नेताहरूले कहिल्यै युवाहरूलाई पार्टीको नेतृत्वमा स्थान र अवसर दिएका छैनन् । युवाहरू पनि क्षमताको रूपले त्यो स्थानमा पुग्ने इच्छा जाहेर गर्दैनन् ।
राजनीतिमा युवाहरूलाई ल्याउन अत्यधिक कठिन हुँदाहुँदै पनि राजनीति गर्छु भन्ने अठोट बोकेका युवाहरूलाई सही राजनीतिक मार्गनिर्देशन नहुँदा, क्षमताको उच्च मूल्यांकन र सम्मान नहुँदा न्यास्रो मानेर राजनीतिबाट विशुद्ध रहन पुग्नुपर्ने स्थिति निम्तिएको छ । नेपालका राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधि बनाउँदादेखि पार्टीभित्रै नेतृत्वको उम्मेदवारी दिँदा गलत नियत भएका व्यक्तिलाई दिने ।

उही खराब प्रवृतिलाई अंगालेर खराब युवाहरू राजनीतिक नेतृत्वमा आय झन् दुर्गतिको राजनीतिले देश छटपटाउन पुग्नेछ

जनता, देश, समय, अवस्था र आवश्यकतालाई मध्यनजर गरेर राजनीतिक कार्यदिशा अगाडि बढाउनुपर्ने हुन्छ । युवाहरू खराब राजनीतिक संस्कारलाई फ्याँक्नका निम्ति लाग्नुपर्छ ।
पार्टी गलत व्यक्तिको कब्जामा पुगेपछि गलत व्यक्तिहरूले मात्र चुनावमा टिकट पाउने । पार्टीबाट टिकट पाएकामध्ये गलत नियत राख्नेले मात्र जित्ने । जितेका जनप्रतिनिधिमध्ये पनि अझ खराब र पुँजीपतिहरूले मात्र सत्ता र सरकारको जिम्मेवारी बहाली गर्ने जुन संस्कारको विकास नेपालको राजनीतिमा भएको छ यसले विध्वंशको राजनीति मौलाउन मद्दत पुगेको छ ।
राम्रो मान्छेले जनप्रतिनिधि बन्नलाई चुनावमा स्वतन्त्र उम्मेदवारी दिए तापनि पैसा खर्च गर्न नसक्ने हुँदा जित्न नसक्ने स्थिति हुन्छ । पार्टीको नेतृत्व नै खराबले गरे देशको नेतृत्व गर्नलाई सही व्यक्ति कसरी अगाडि आउन सक्लान् र ? यस्ता विविध कुराले युवाहरूलाई राजनीतिक मैदानमा इमानदार नेता भएर टिकिरहन मुस्किल छ । यस्तो ग्रस्त राजनीतिक संस्कारमा एउटा इमानदार वृद्ध नेता हुन् या एउटा इमानदार युवा नेता उनीहरूलाई नेतृत्वको खुड्किलामा लात हानेर पछाडि फाल्ने कार्य बारबार दोहोरिने हुन्छ ।
विद्रोही र क्रान्ति हरेक पार्टीभित्र हुनुपर्छ । हरेक पार्टीको राजनीतिक कार्यदिशा प्रगतिशील र क्रान्तिकारी हुनुपर्छ । नेपालको राजनीति संस्कारमा विद्रोह अत्यन्तै आवश्यक परेको छ । चाकरीवाद, कृपावाद, नातावाद, गुण्डागिरी र पुँजीवादले जुर्मराएको राजनीतिक संस्कारलाई अँगालेर अगाडि बढ्ने भए त युवा आउन या वृद्ध आउन कुनै फरक पर्ने छैन । जसमा सक्षमता, विकासको निम्ति प्रष्ट विचार र राजनीतिक अनुशासन कायम छ तिनी व्यक्तिहरू युवा हुन् वा वृद्ध राम्रो कार्य गरेर अघि बढन सक्छन् ।
आज कति युवा कार्यकर्ता भएर आय त्यसको गणना मात्र गर्ने पार्टीले कति युवा वर्ग नेतृत्वमा आय त्यसको गणना पनि गरेर धेरैलाई नेतृत्वमा ल्याउन प्रयत्नरत हुनुपर्छ । १६ देखि ४५ वर्ष उमेर समूहका युवाहरूको राजनीतिक नेतृत्वको हालत कुन स्थानमा छ गम्भीर हुनुपर्छ । एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसँगै अन्य नयाँ राजनीतिक दलको महाधिवेशनमा पार्टीको सिंगो नेतृत्व गर्न तथा देशकै नेतृत्व गर्ने इच्छाशक्ति बोकेर युवाहरू अगाडि आउनुपर्छ । असल चरित्र भएका युवाहरूलाई साथ, सहयोग तथा समर्थन दिनुपर्छ । राजनीतिक दलको नेतृत्वमा खराव व्यक्ति हाबी हुँदा देशकै नेतृत्वमा खराब व्यक्ति पुग्छन् । तसर्थ युवाहरूलाई संख्यात्मक मात्रामा राजनीतिमा आगमन गराउने भन्दा पनि असल र क्षमतावान् युवा युवतीहरूलाई नेतृत्वमा अघि बढाउन केन्द्रित हुनुपर्छ ।
अहिलेको चरम समस्या भनेको महिलाहरूलाई आफ्नो चरित्र बचाएर राजनीति गर्नुपर्ने अवस्था निम्तिएको छ । कुनै महिलाले राजनीतिमा नेतृत्व गरे कुनै पुरुष नेतासँगको गोप्य सम्बन्धले बेइज्जत गर्ने । एक इमानदार मान्छेले राजनीति गरे खराब नेताको संज्ञा दिने । एक युवाले आफ्नो क्षमता र संघर्षले राजनीतिक नेतृत्व गरे चाकरीको संज्ञा दिने यथार्थ कहानी र घटनाहरू हाम्रो नेपाली समाजमा व्यापक छ । तर अत्यधिक मात्रामा यही राजनीतिक संस्कारले प्रश्रय लिएको छ ।
यसले सिंगो राजनीतिलाई नै दूर्गन्धित बनाएको छ । कुनै नेतासँग यौन सम्बन्ध जोडेर नेता भएका महिला पनि होलान् । केही गुण्डागर्दी गरेर युवा नेता ठानिएका पनि छन् । बाहिर इमानदारीको ढ्यांग्रो ठोकेर सबैभन्दा खराब कार्य गर्ने, भ्रष्टाचार गर्ने नेता पनि छन् । नभएका हैनन् यस्ता मान्छे र प्रवृत्तिबाट जोगिएर अगाडि बढ्नुपर्छ । त्यसैले खराब किसिमको राजनीतिक संस्कारबाट युवाहरूलाई सुरक्षित राख्नुपर्छ ।
राजनीतिक मार्गनिर्देशन असल बाटोतिर हुनुपर्छ । खराब राजनीतिक संस्कार बोकेका खराब नेताहरूबाट खराब राजनीतिक मार्गनिर्देशन मात्र प्राप्त हुन्छ । त्यसैले कतिपय सन्दर्भ जनता, देश, समय, अवस्था र आवश्यकतालाई मध्यनजर गरेर राजनीतिक कार्यदिशा अगाडि बढाउनुपर्ने हुन्छ । युवाहरू खराब राजनीतिक संस्कारलाई फ्याँक्नका निम्ति लाग्नुपर्छ ।
प्रत्येक राजनीतिक दलको युवा तथा विद्यार्थी संगठन छन् । हजारौं हजार युवा कार्यकर्ता पार्टीमा रहे तापनि नेतृत्वमा आउन नदिएको हो कि नेतृत्व गर्न युवाले नसकेका हुन् ? भन्ने प्रश्न सबैले उठाउने प्रश्न हो । त्यसैले युवाले शक्तिको दम्भ र प्रयोगभन्दा कुशल क्षमता र जिम्मेवार व्यवहारको प्रदशनतर्फ केन्द्रित हुनुपर्छ ।
नेताहरू युवा, वृद्ध तथा बालबालिका सबैको विश्वास र आशाको धरोहर बन्न सक्नुपर्छ । जनताले भन्ने गर्छन् ‘वार्डमा मात्र १÷२ जना युवा आएर कुनै परिवर्तन हुन सक्दैन जब कि केन्द्रमा ६५÷७० पुगेका नेताहरू एकलौटी रूपमा पार्टीलाई कब्जा गरेर बसेका हुन्छन् ।’ खै त राम्रो मान्छेलाई राजनीतिमा टिक्न दिएको ? खै राम्रो काम गर्न दिएको ? खै त राम्रो कार्य गर्न सकेको युवा भएर पनि ? यस्ता थुप्रै सवालको बहस सानो लेखमा अटाउँदैन पनि ।

तर यसको मुख्य समाधान भनेको असल क्षमतावान् युवाहरूलाई राजनीतिमा ल्याउने र उनीहरूलाई असल मार्गनिर्देशन तथा संरक्षण गर्ने नै हो । नेपालका हरेक पार्टीको महाधिवेशनमा, स्थानीय चुनावमा, संघ तथा प्रदेशको चुनावमा असल र सक्षम युवाहरू जितेर सत्ता र सरकार सञ्चालनमा आउनुपर्छ । यद्यपि उही खराब प्रवृतिलाई अंगालेर खराब युवाहरू राजनीतिक नेतृत्वमा आय झन् दुर्गतिको राजनीतिले देश छटपटाउन पुग्नेछ ।
तसर्थ युवा तथा वृद्ध राजनीतिमा आउनुमा कुनै तात्विक फरक देखापर्ने छैन । त्यसैले युवा मात्र भन्दा पनि असल, अनुशासित, निष्ठावान, क्षमतावान युवाहरू मात्र राजनीतिक नेतृत्वमा आउनु आजको जरुरत हो । नत्र त स्वार्थ, लोभ, लालच तथा अपराधमा फसेका युवाहरू र भ्रष्टाचारलाई अंगालेर इमानदारीको भाषण गर्ने वृद्ध नेताहरूमा कुनै फरक पनि रहँदैन ।
नेपाली जनतालाई मदन भण्डारी र बिपी कोइरालाजस्ता जनप्रिय नेताहरू चाहिएको कुरा व्यक्त गरिरहेका हुन्छन् । तसर्थ राजनीति उमेरको श्रेय, वर्ग, लिंग, भूगोलको श्रेयले भन्दा पनि उच्च क्षमता र असल व्यवहारको श्रेयले चल्नुपर्छ । उमेर र समयको अन्तरमा आउने नयाँ युगले पुरानो राजनीतिको राम्रो संस्कारमात्र अनुसरण गरी बाँकी नयाँ अनि राम्रो कार्य गर्न लाग्नुपर्छ । वृद्ध नेताले नेतृत्व गर्दा र युवा नेताले नेतृत्व गर्दाको सरकारको थुप्रै सकारात्मक अन्तर प्रमाणित गर्न सक्नुपर्छ ।
राम्रो फल पाउनलाई असल तथा लगनशील युवा नेतृत्वलाई अगाडि बढाउनुपर्ने हुन्छ भन्ने कुराको बोध युवाहरूले पार्टी नेतृत्व गर्दा होस् या सरकारको नेतृत्व गर्दा होस् पुष्टि गर्नुपर्ने हुन्छ । दीपक मनाङे, महेश बस्नेत, अफताब आलम, रेशम चौधरी जस्ता नेताहरू जिताउँदै आएको समाजले अब असल र खराब छुट्याएर असल युवा नेता जिताउने सामथ्र्य राख्नुपर्ने नै हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width