हंस र पैताला : सहपाठी र विद्यार्थी

प्रा. विश्वराज अधिकारी
असाेज २२, २०७७

मेरो स्नातकोत्तर तहका सहपाठी हुन प्रा.डा. सञ्जीव उप्रेती । अङ्ग्रेजी केन्द्रीय विभागमा २०४३ सालमा अन्य सहपाठीसँग मेरो पहिलो भेट कीर्तिपुरमा भएको हो । कक्षा कोठामा विरलै प्रवेश गर्ने उनी हप्ता÷पन्ध्र दिनमा कीर्तिपुर झुल्कन्थे । स्नातकोत्तर तह प्रथम वर्षको परीक्षामा झण्डै ७१ प्रतिशत अङ्क ल्याएर पास गरेपछि उनमा अरू सबै साथीसहित मेरो पनि क्रेज बढ्यो । कता न विभागमा आउने र कक्षामा नबसी साथीहरूलाई बाहिर चौरमा बोलाएर घण्टौ गफ गर्थे उनी । उनको लवाइखवाइ र कपालको स्टाइलले सुरुमा उनको नजिक पर्न धेरै हिचकिचाउँथे । तर उनी सम्भ्रान्त भैकन पनि सबैका माझ सरल भएर प्रस्तुत हुने गर्थे । उनका बारेमा अरू कुनै साथीले व्यक्त गर्थे– आज सञ्जीव पशुपतिमा छन्, हिजो चोभारमा थिए, अस्ति नगरकोटमा र त्योभन्दा अगाडि टौदहमा थिए आदि–आदि । काठमाडौँ भ्याली भित्रका सबै जसो पुराना मठमन्दिर तथा प्राकृतिक तालतलैया, खोला, दह सबैमा बारम्बार पुगेका थिए । दार्जलिङबाट अङ्ग्रेजी साहित्यमा बी.ए. अनर्स गरेका उनी स्नातकोत्तर अङ्ग्रेजी विभागमा २०४५ का सर्वश्रेष्ठ विद्यार्थी थिए । त्रि.वि.वि. सेवा आयोगमा एक नम्बरमा नाम निकालेर केन्द्रीय विभागमा अध्यापनको काम सुरु गरेपछि २५ वर्ष मै स्वेच्छिक निवृत्तिभरणमा बसेर नेपाली तथा अङ्ग्रेजी भाषामा लेख, कथा नाटक र उपन्यासमा कलम चलाउँदै आएका छन् ।

प्रेम र यौनका, विज्ञान र मनोविज्ञानका, मिथक र इतिहासका आ–आफ्नै अनुभूति र अर्थ हुन सक्लान् तर कल्पना र यथार्थलाई एउटै लयमा हिँडाउन सक्नु चानेचुने कलाकारिताको पहिचान होइन ।

खास गरी उनका “घनचक्कर” उपन्यास र “सिद्धान्तका कुरा” मैले पनि पढेको छु । ‘हंस’ उपन्यास एक वर्ष अगाडि मात्र प्रकाशित भएपछि पहिलो पढाइमा हामीले मान्दै आएको औपन्यासिक धरातल कता–कता बाङ्गिएको जस्तो लागे पनि दोस्रो पढाइले भने नवीनतम प्रयोग गर्ने उपन्यासकारका रूपमा उनी उभिन पुगे । आफ्नी अर्धाङ्गीनीको विछोडमा रन्थनिएर मन भुलाउन टौदहतिर लागेका मूल पात्र आफूलाई प्रकृति, चराचुरुङ्गी र मूल रूपमा हंस र हंसिनीका कथाहरूसँगै अजम्बरी बकुल्ला भएका छन् । आफ्नी श्रीमतीलाई लगेको जारलाई भेट्नासाथ घाँटी छप्काउने भोजपुरे खुकुरीसमातेका मुख पात्र त्यै जारका यथार्थ जीवन कहानी, विदेशिनुको बाध्यता, प्रेम, धोका र अन्त्यमा पश्चात्तापको भूमरीमा परेका छन् । बूढी आमाले सुरु गरेको लहडे हाँस र उडन्ते हंसिनीका प्रेम र रोमाञ्चले भरिएका कथाले शुरुदेखि अन्त्यसम्म पाठकको ध्यान तानेको छ । मानवको गतिहिनता, अहमता, पुरुषत्व तथा जीवनको जटिलतालाई चराचुरुङ्गी तथा जनावरभन्दा पनि कुरूप र दूषित देखाउँदै मानवेत्तर जीवनमा रमाउनु उचित ठान्दछन् लेखक । चराचर जगत् मानव जगत् भन्दा आदर्श लाग्ने गरी दुई हाँसको प्रेम कहानीलाई मानव प्रेम कहानीमा गुजुल्ट्याउँदै मानिसका आफ्ना सीमा, भावना, प्रेम, संवेग तथा अनेकन आवेगले स्वतन्त्र हुन नसक्ने र त्यसको अन्र्तय र परिणामलाई यथार्थ र कल्पना शिल्पीले गर्दा उपन्यासलाई थप गहन र जटिल बनाएको भने पक्कै हो । आफ्नै लोग्नेको पीडा र दमन सहन नसकेकी सीमा शंका माथि शंका गर्न थालेपछि अमेरिका भासिई । नेपाली समाजमा नै बसेर विद्रोह गर्न नसक्ने भएपछि अमेरिकाको न्यूयोर्क शहरमा उनले अनुजसँग लिएको बदला र माया जस्तो स्वामी भक्तलाई समेत चेतनाको मसाल बाल्न लगाई । अनुज हार खाएर नेपाल आउन बाध्य त भयो तर नेपालमै बसेर पुरुषत्वरुपी घमण्डलाई चुनौती दिन नसक्नुले नेपाली समाजको जडता लेखकले स्वीकार गरेको भन्न सकिन्छ ।

‘पैताला’ उपन्यास मेरा प्रमाणपत्र र स्नातक तहका विद्यार्थी गनेस पौडेलको पहिलो कृति हो । मैले देखेका र बुझेका गनेस यति माथिल्लो दर्जाका कथा वाचक होलान् भन्ने मेरो कल्पनामा थिएन । कक्षाकोठामा विरलै प्रश्न सोध्ने, एउटा कुनाको बेन्च रोज्ने र घरीघरी मुसुमुसु हाँस्ने बाहेक उनका अरू बानी मलाई थाहा थिएन । एउटै शहर पोखरामा भए पनि हामी बीच गुरु चेलाको सम्बन्ध बाहेक अरू केही भएन । सायद गुरुप्रति उनको सम्मान त्यसरी नै व्यक्त भएको हुन सक्छ । दोस्रो पटक जब मैले ‘पैताला’ उपन्यास पढ्ने विचार गरें, शब्दहरू नछोडी अर्थपूर्ण किसिमले पढें । उपन्यास पढ्दै जाँदा मलाई उनकै छाया बनेर हिँडिरहे जस्तो आभास भयो । यसरी पाठकलाई अल्छी नलागि अन्त्यसम्म पु¥याउनु सिद्धहस्त कथाकारिताको द्योतक मान्ने गर्दछु । पुरै नेपालका महŒवपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र विचरण गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, लोमान्थाङदेखि जनकपुरसम्म एउटा अद्भूत रहस्यको खोजीमा निस्केको पात्र, उसले भोगेको दुःख, सुख, भूत, वर्तमान र भविष्यका कालजयी अध्यायहरू पठनीय र मननीय छन् । मान्छेका चेतन, अर्धचेतन र अचेतन मनका सुषुप्त भावनाहरूको उजागर गर्ने क्रममा यौनको अलि बढी प्रयोग हुनु स्वभाविक नै हो । तन्त्रात्मकता, रहस्यता तथा पात्रगत जटिलता भए पनि सुरुदेखि अन्त्यसम्म उत्तरआधुनिकतावादलाई पछ्याउँदै एउटै मूल कथानकमा अनेकौ प्रसङ्ग जोड्नु सानो तिनो उपन्यासकारिता पक्कै होइन ।

वास्तवमा अहिले निकै बजार तताएका दुई वटा उपन्यासहरूको सामान्य ज्ञान पढे लेखेका सबै जनालाई धेरथोर पक्कै छ । मलाई पनि आफूले लामो समयदेखि चिनजानका उपन्यासकारहरूका बारेमा आफूले पढेर अनुभव गरेका कुराहरू लेखुँ लागेको मात्र हो तर म समालोचक जस्तो गम्भीर व्यक्तिका रूपमा आफूलाई उभ्याउन खोजेको चाहिँ किमार्थ होइन । मैले बुझेसम्म दुवै उपन्यासकार अङ्ग्रेजी साहित्यका पारखी हुन् । अङ्ग्रेजी साहित्यको प्रभाव र नवीनतम प्रयोगका बारेमा दुवैलाई राम्रो ज्ञान छ । भाषालाई आफ्नो कलाको वशमा पारेर नयाँ–नयाँ ज्ञानको खोजीमा चिन्तन गरिरहने आशा लाग्दो लेखक तथा समालोचक भनेर टिप्पणी गर्दा दुवैलाई अन्याय हुँदैन । ‘हंस’ का जन्मदातालाई ज्ञानको स्रोत, साधन र प्रविधिमा लाग्न कुनै पनि व्यवहारिक समस्याले छट्पटाउनु पर्दैन तर ‘पैताला’ का सर्जक भने सबै खाले पहुँचभन्दा बाहिर छन् भन्ने मेरो अनुमान हो । कल्पना र प्रयोगका आधारमा दुवै उपन्यासहरू अत्यन्त सबल हुँदाहुँदै पनि मलाई ‘पैताला’ ले सोच्न बाध्य बनाएको आख्यानको चमत्कारिता ‘हंस’ ले भने लिन सकेन ।

हामीले सुनेको पौराणिक सञ्जीवनी मानव विज्ञानले खोजीको विषय बनाएको हुन सक्ने सङ्केत उपन्यासले दिएको छ । किनभने पुष्पक विमानको कल्पना वर्तमान समयको वायुयानले यथार्थ बनाएकै हो । अमरत्व बनाउने कुनै आधुनिक सञ्जीवनी संसारका कुनै कुनामा रहस्यमयी प्रयोगशालाको कल्पना भित्र कै विषय हो । त्यसमाथि एक अङ्ग्रेज वैज्ञानिकले जोस्मणि नामक मुख पात्रलाई एनएचसिक्ससीवाई जस्तो अत्यन्त दुर्लभ तर हाम्रो आधुनिक विश्वलाई सम्पूर्ण परिवर्तन गराई अत्याधुनिक बनाउन सक्ने, नेपाली हिमालयमा पाइने रसायनिक तŒव सुदूर भविष्यमा नहोला भन्न सकिन्न । यसरी दुई वटा अनमोल वस्तुहरूको खोजीमा लाग्न प्रेरणा दिने वैज्ञानिक र त्यसैको सेरोफेरोमा घटित घटना परिघटनालाई उपन्यासकारको कल्पना शिल्पीले पाठकलाई जोस्मणि बनाउने काम जति प्रशंसा गरे पनि थाकिँदैन । आदिम कालका पौराणिक पात्रहरूलाई वर्तमानमा उभ्याएर तन्त्र र मन्त्रको अद्भूत तर सबैलाई बोधगम्य नहुने, थोरै भए पनि विविध भाषा, संस्कार, धर्म र संस्कृतिको प्रयोग उपन्यासकारको सशक्त नवीनतम शैली बनेको छ । उपन्यासको अन्त्यतिर सबै धर्म समान छन् । धर्म एउटै हुन्छ तर आस्था फरक–फरक हुन्छ भन्ने विचार बेजोड लाग्दछ । त्यसैगरी पैताला र मानिस बीचको तालमेल नभई जीवन सार्थक हुँदैन भन्ने विषय पनि उत्तिकै टड्कारो छ । उपन्यास टुङ्गिनै लाग्दा प्रचण्ड भन्ने पात्रलाई कार्ल माक्र्ससँग जोडेर हेरिएको छ भने महान् गुरु कार्ल माक्र्सको आराधना गरेर बस्नु भनेको आदेश व्यङ्ग्य जस्तै प्रतीत हुन्छ ।

अर्काे तर्फ ‘हंस’ उपन्यासको कथानक थुप्रै पौराणिक र आधुनिक कथाहरूको कसिलो गाँठो हो जहाँ काठमाडौँ उपत्यका र अमेरिकाको न्यूयोर्क शहर जोडिएको छ । मानव केन्द्रित मूल्य मान्यतालाई लैङ्गिक र सामाजिक मूल्य मान्यताका आधारमा परम्परागत पुरुष आधिपत्यलाई विखण्डन गर्ने कोसिस गरिएको छ । महिलाहरूले स्वतन्त्रता प्राप्त गर्न विभेदले भरिएको सामाजिक बन्धनबाट ढिलो चाडो मुक्त हुनु पर्दछ । विद्रोहले मात्र समानता र स्वतन्त्रता मिल्छ भन्ने गहन भाव उजागर गरेको छ । कथामा हंस भन्दा हंसिनी स्वतन्त्र छे । उसको प्रेम प्राप्त गर्न लहडे हाँसलाई आकाशमा उडान भर्नुपर्छ । सीमा र माया पुरुषबाट प्रताडित महिला पात्र हुन् जसले परम्परावादी नेपाली समाजको प्रतिनिधित्व गर्दछन् । धोका, छल र कपटले पूर्ण भएको पुरुषत्वरुपी अनुजलाई अमेरिका छोडी नेपाल फर्कन बाध्य बनाउँछ सीमा र मायाको विद्रोहले । प्रकृतिप्रेमी आख्यानकारको सचेत वैचारिक धरातलले समाजमा जरा गाडेको विभेदलाई उजागर गरी समानताको उद्घोष गर्नु स्वभाविक नै ठहर्छ ।

नेपाली औपन्यासिक आकाशमा उदाउँदै गरेका दुवै आख्यानकार परम्परावादी लेखक कलाकारिताका विनिर्माणवादी आख्यानकार भन्दा सुहाउला जस्तो लाग्दछ । प्रेम र यौनका, विज्ञान र मनोविज्ञानका, मिथक र इतिहासका आ–आफ्नै अनुभूति र अर्थ हुन सक्लान् तर कल्पना र यथार्थलाई एउटै लयमा हिँडाउन सक्नु चानेचुने कलाकारिताको पहिचान होइन । ‘पैताला’ चेतन अचेतन, मानवीय कल्पनाको महासागर जस्तै लाग्दछ भने ‘हंस’ प्रकृति र मानव जगत्का बीचमा बाँधिएको बलियो पुल हो, लैङ्गिक असमानताको बलियो झापड हो । दुवै उपन्यासकारहरू अङ्ग्रेजी भाषाका ज्ञाता भएर हुन सक्छ अङ्ग्रेजी भाषाको राम्रै प्रभाव उपन्यासमा देखिन्छ । उपन्यासहरू वा अरू कुनै साहित्यिक नेपाली सिर्जना पढ्दा मलाई अप्ठ्यारो लाग्ने पक्ष भनेको खिचडी भाषा हो जुन सामान्य पाठकलाई दुर्बाेध्य हुन जान्छ । अन्य भाषालाई नेपाली भाषाको पाहुना बनाउँदा केही समयको घुमन्ते पर्यटक बन्नबाट जोगाउनु पर्ने हुन्छ । तैपनि उत्तरआधुनिकता र भूमण्डलीकरणको युगमा यस्तो अपेक्षा राख्नु स्वभाविक भने होइन । मेरो व्यक्तिगत विचारमा ‘पैताला’ का सर्जक मोफसलमा भएर पनि ‘हंस’ को तुलनामा रतिभर कम छैनन् बरु केही पक्षमा अझै माथिका श्रष्टा भएको अनुमान लगाउँछु । जे होस् नेपाली साहित्यानुरागीलाई दुवै सर्जकले विरेचित गराएका छन् र भविष्यमा अझ राम्रा पुस्तकहरूको अपेक्षासहित शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width