बिक्री र खुबीका कुरा

शेषराज भट्टराई
वैशाख १८, २०७८

हातको मैला सुनको थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित प्रस्तुत गीति लहरहरूले मान्छेलाई आनन्दी मार्गसँग अँगालो मारेर अमनचयन गर्न सुझाएको छ । धनधान्यले सर्वमान्य भए पनि अमनचयन सुखसयल छैन भने त्यस्तो दौलतको कुनै अर्थ रहँदैन । अमनचयन प्राप्तिका लागि मान्छेले धन रोज्छन् । कुनै मूर्खहरूले लागुऔषधलाई पनि लिएका हुन्छन् । यौनपिपासुले २, ३ वटी सुकन्यालाई पनि वरण गरेका हुन्छन् । कसैले सुतिराखेको अर्काको लोग्नेलाई जगाएर आफ्नो पछि लगाएका पनि हुन्छन् । अमनचयन प्राप्ति हेतु कसैले व्यापार व्यवसायमा हात पनि हालेका हुन्छन् । कसैले परोपकार गरेर आनन्द प्राप्तिको ढोका खोलेका हुन्छन् । कतिपय नेताहरुले उच्च तहको कुर्सी ओगटेर पनि आफ्नो ह्याकुलो हँसाइ राखेका हुन्छन् । यथार्थमा धनतुल्य तर परपीडक मैमत्तु तनावग्रस्त जिन्दगी सुखी दिनचर्याका लागि हानिकारक हुन्छ । गुन्द्रुक, सिस्नु, फाँडोतुल्य नै किन नहोस् आनन्दले निदाउन सक्नु ठूलो कुरा हो । आनन्दले सुखको सुस्केरा सुसेल्न सक्नुपर्छ । चिन्ता, पीडाग्रस्त हँसाइ नचाइले अन्तर तन्तु प्रशन्न हुन सक्दैन । पाजी मानवचाहिं अहंकारै अहंकारले पत्थर कोइला बनेर बाँचेको हुन्छ । तातो तालमा तैरिन रुचाउँछ । मान्छे आफ्नै कारणले अप्ठ्यारोमा फँसिरहेको हुन्छ तर दोष अर्कालाई दिन्छ । २ पैसा आम्दानीका लागि अरबौंमा नपाइने इमान जमान इज्जत पद प्रतिष्ठा निस्फिक्री बिक्री गरेको पत्तै पाउँदैन । आम्दानीको लतमा अन्धभक्त बनेर रक्तपिपासु बन्न पनि संकोच मान्दैन ।

सायद त्यसैले होला वर्तमान नेपालका शक्तिशाली प्रधानमन्त्रीको सिंगो कद नै डराइरहेको छ भने सर्वसाधारण जनताको हालत कस्तो होला ? मूल द्वार, मलद्वार, बलद्वार बन्द गरेर चुक्कुल ठोक्दै सुकुल ओछ्याएर भित्रभित्रै बाफिएका, रागिएका, निसासिएका छन् । के ठेगान छ र प्रजातन्त्रमा जोसुकैको ज्यान जुनसुकै बेला, जोसुकैका कारण तलमाथि हुन सक्छ । दुनियाँलाई प्रजातन्त्र आउँदा अपराधीलाई नआउला र ? पद, पावर पैसाको ओइरो लगाउँछु भन्दा मौजुदा ख्यातिको पैरो गएको पत्तै हुँदैन । अन्तत गायक रामकृष्ण ढकालले गाएको गीत झन् सान्दर्भिक बनेर दिमाखमा गुन्जिन्छ ।

ओराली लागेको हरिणको चाल भो ।
बाचुन्जेलसम्म पनि मरेकै हाल भो ।
छल गर्‍यो मायाले छल गर्‍यो मायाले ।
मुहार राम्रो शिरीष जस्तो जुनतारा हार खाको
यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वरदान हो ।
माया त रैछ धारिलो छुरा रेटिनै पर्‍यो नि
बासै उठाउने कस्तो यो खेल हो
जीवनमा धेरै धेरै धरै नै झेल भो
सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा
दुई चारै दिनको त्यो मृगतृष्णा के देख्नु पर्‍यो नि
झिरैमा उनेको माछी कै हाल भो
जिन्दगीदेखि अब खुसी नै पार भो
छल गर्‍यो मायाले छल गर्‍योमायाले ।

अहिले नेपालमा एमालेका दुई जेट पाइलटको हालत यस्तै भयो । एउटाले तँ खराब भन्छ अर्काेले तँ खराब भन्छ, म खराब कसैले भन्दैनन । एकले अर्कालाई नगन्दा नपुच्छदा अवस्था जहाज डुब्ने खालको छ । अवस्था र आरोप प्रत्यारोप तल्लो स्तरको छ । मायाले लोप्पा खुवाएपछि झिरैमा उनेको माछाको हालत हुने नै भयो । दुई चार दिनको मृगतृष्णा के देख्नु पर्‍यो । जनता छक्क परे । माया धारिलो छुरा नै रहेछ । एक अर्कालाई रेटेको देख्दा कठै नभनी मनै मानेन । मायाको कारण कस्को ज्यान कतिखेर तलमाथि हुन्छ पत्तै भएन । अनि पाइलटले नैराश्यताको अन्तिम टुंगोमा पुगेर भन्छ मेरो ज्यान तलमाथि हुन सक्छ । पाइलटले लत्तो छोडेपछि अरूको होस हवासको अत्तोपत्तै हुँदैन । त्यसपछि बाँचेर पनि मरेकै हाल हुन्छ । आत्मा रुन्छ अनि पिर्लिक्क आँखा पल्टाउँदै भन्न बाध्य हुन्छ छल गर्‍यो मायाले छल गर्‍यो मायाले ।

पद, पैसा, पावर आर्जन उपार्जान एक किसिमको नशा हो । जति कुम्ल्याए पनि असन्तोष जीवित रहन्छ

बेइमानले बिक्री निस्फिक्री गर्दा गर्दै अधोगति समाइसकेको हुन्छ । तल तल रसातलमा बजारिएर बेस्सरी ठक्कर खाएपछि अक्कल खुल्छ । माकुने र प्रचण्डको हालत अहिले यस्तै छ । आफ्ना कार्यकर्ताले अन्जु पन्तले गाएको गीत गाउन थाले
कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ ।
समयले जवानी लुटेपछि आयौ ।

अब पुर्पुरामा हात लगाएर के गर्नु समय गुज्रिसकेको हुन्छ । तैपनि मैमत्त धनेमाने नसाले छोडेको हुँदैन । धनमानको हर तरहले अपहरण गर्न मन लाग्छ । यस स्थितिमा मानव धर्मले पराकाष्ठा नाघ्छ । ओल्लाघरकी नरे पल्लाघर सरे भने जस्तो हुन्छ । अन्तत निर्लज्जताको शिखरमा पुगेर थकित दुनियाँ चकित हुने हैरानीग्रस्त सुस्केरा फेरिन्छ । मान्छेले मान्छेलाई नटेरी नटेरी भयानक भूल गरिन्छ न अरूले भनेको टेरिन्छ । पछि चेत खुलेर के गर्नु पहिला नै आफ्नो अस्तित्व र अस्मिताको निस्फिक्री बिक्री भइसकेको हुन्छ ।

पद, पैसा, पावर आफ्नो होस् या अर्काको आर्जन उपार्जान गर्ने भनेको एक किसिमको नशा हो । जो जति कुम्ल्याए पनि असन्तोष जीवित रहन्छ । नसा लागेपछि दसा लागेको पत्तै पाइँदैन । अहंता चुलिन्छ र गर्वले फुलिन्छ । फलत बिक्री निस्फिक्री जारी राखु जस्तो लाग्छ । त्यसमा पनि भूत वर्तमान भविष्य त्रिकालदर्शी बनेर आफ्नो हितमा हुने आर्जन उपार्जनलाई परिमार्जन गर्दा नै मर्दा अप्ठ्यारो पर्दा ओरालो झर्दा मौजुदा इज्जत प्रतिष्ठाका साथै सुखसयलको सास फेर्न सकिन्छ ।

एउटाले अर्काको अस्तित्व र अस्मिताको मान सम्मान गरे मात्र त्यो परावर्तन भएर आफूतर्फ आउँछ र दुबैतर्फ समान सम्मानको भागिदार बन्न सकिन्छ । तर यहाँ त एक पाइलटले अर्काे पाइलटको कठालो समाएर सिंगो जेट जहाज आफूले मात्रै चलाएको/चलाउन पाउनुपर्छ भन्दै मान मर्दन खातिर कटट्ट दाह्रा किटिरहेका छन् । एकले अर्काको तेजोबध खातिर मरिमेटेका छन् । विनाशकाले विपरीत बुद्धि । रुखलाई फाइदा पुग्ने गरी रुखो व्यवहार देखाएका छन् । यसले नयाँ पुस्तालाई निको सन्देश नदिए पनि सिको सिक्ने स्वर्णीम अवसर जुराइ दिएका छन् । सर्वेसर्वा बन्न नयाँ बुद्धि बंगारोको विकास गरेका छन् । ठाउँमा पुगेपछि अरू भड्खालामा परून्, मै राम्री मै पातली भन्दै मस्किन सिकाएका छन् । अग्रज नेतृत्वबाट यसभन्दा ज्यादा के आशा गर्नू ?

मान्छेले जन्मिँदा जत्रो घल्चा लिएर आएको हुन्छ पाउने भनेको त्यसभरि मात्र हो । बल गरेर पाउने भए दुनियाँलाई उच्चासन चाहिएको छ । पद, पैसा, पावर र धेरै धनी हुन मन लाग्छ तर तरादेवीले भनेझैं
सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन ।

आफ्नो हैसियत अनुसार गुन्द्रुक सिदो पिठो मिठो नमिठो जसरी हुन्छ जायजेथा उबारेर खुद्रा थोक बिक्री गर्नुपर्छ । आफ्नो न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि पकेट खर्च जोहो गर्न ओछ्याउने गुन्द्री बेचेर हुन्छ कि नाकको मुन्द्री बेचेर हुन्छ खल्ती दरो बनाउनै पर्छ । केही गर्नै पर्छ । कोही मर्नै पर्छ । जँघार तर्नैपर्छ । नामर्दसूचक खल्ती खाली हुनु भनेको आफ्नो इज्जत पद प्रतिष्ठा धरापमा पार्नु हो । खल्ती चल्ती हुनुपर्छ । त्यसैले जनयुद्धमा माओवादीले दल सुधार्न देश लुटेका थिए । जनता लुटेका थिए र जनता नै भुटेका कुटेका थिए । आफूमा भएको खुबी बेच्न पनि पछि पर्नुहुँदैन । खुबी मान्छे अनुसारका फरक फरक हुन्छन् । कसैको कलम घुमाउने खुबी होला त कसैको खुट्टा घुमाउने खुबी । कसैको टुप्पी घुमाउने खुबी होला त कसैको चुल्ठी । कसैको गाई घुमाउने खबी होला त कसैको भाइ । कसैको गोरु घुमाउने खुबी होला त कसैको गुरु । पाखुरा बजार्ने खुबीदेखि लिएर मथिंगल बिगार्ने खुबीको मालिक भनेकै मान्छे । दलभित्र दल्ने, चल्ने पेल्ने मात्र होइन मान्छेले मान्छेलाई रोटेपिङमा झैं फनफनी रिँगाउन सक्छ । नबिकेको मान्छेलाई बिकाउन र बिक्रीका लागि झिकाउन सक्छ । अहिलेको राजनीति यस्तै निस्फिक्री बिक्रीको घनचक्चरमा चारपाउ फ्याँकेर उफ्रिरहेको छ ।

नेपालमा ब्राह्मणहरुको आचरण बाहुनको जस्तो छैन । कम्युनिस्टको आचरण कम्युनिस्टको जस्तो छैन । कांग्रेसको आचरणले पनि हावा खाइसकेको छ । एमाले नामधारीले ख्याल ख्यालमा रडाको मच्चाएर एकअर्काको खुबीको खुबै रसस्वादन गरे । रसास्वादन गर्न नजान्नेहरू घरको न घाटको अलपत्रमा परे । कांग्रेसले भविष्य सुध्रिने ठानेर थपडी बजायो । धर्ती फटाएर सीता धर्तीमा अलप भएझैं केही कम्युनिस्टहरु अलप हुने हेतुले धर्ती च्यात्ने तरखरमा छन्् । मनै कटक्क खाने ज्यानै जाने नाटक मञ्चन जारी छ । सपारभन्दा व्यापार र बिगारमा रमाइरहेका छन्। पावर र कुर्सीका लागि एकले अर्कालाई ओछ्यान भन्दै रछ्यानमा बजारे । बेतुकको लडाइ देखेर दुनियाँले जिब्रो टोके । कसैले हर्ष बढाइ भन्दै लड्डु पनि टोके । अर्काथरीले आफ्नो भएभरको खुबी खन्याएर तीन बल्ड्याङ खुवाए । उत्तानोटाङ लगाएको देखेर कोही हाँसे, कोही रोए । कसैले आँसुले मुख धोए । कोही उठ्नै नसक्ने गरी दलदलमा फसे । कोही अर्कै दलको दुलामा पसे । कसैले खरानी घसे । जे होस् दलको आन्तरिक लडाइले गर्दा जस्तो आफू उस्तै च्यापु भने जस्तो भयो । कतिको इज्जत रह्यो र कतिको इज्जत गयो । नहुनु नखेल्नु पर्ने सिंगोरी खेले । देशका लागि मरिमेट्नुपर्ने जनप्रतिनिधिहरु पद, पावर र पैसाका लागि आँखा चिम्म गरेर लँगौटी तानातान गरिरहेका छन्् । हग्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं देशको लाम्टो चुस्ने र कसैले बाबुको घुँडो चुस्ने क्रिया जारी छ ।

खुबी तेस्तो तत्व हो जो जसले जसमा पनि प्रक्षेपण गर्न सक्छन् । खुबीकै कारण मान्छेले मान्छे नै बिक्री निस्फिक्री गरी रहेका हुन्छन् । यस्तो भयावहस्थिति देखेर नै वर्तमान प्रधानमन्त्री ओलीले सांसद किनबेच हुने खतरा देखेर नै संसद विघटन गरिदिए । परिस्थिति उपज आफ्नै दलका मुसाले ढुंगामा प्वाल पारेर जहाजै डुबाउन खोजेपछि न रहे बाँस न बजे बाँसुरी भनेर संसदका अंगअंग भंग गरेका हुन् । न्यायालयले आफ्नो खुबी खन्याएर संसद त ब्युँझाइदियो तर नेताहरु कुहिराका काग भएका छन्् । सबलांग भएर पनि उड्न नसक्दा चिन्ताले इन्तु न चिन्तु भएका छन् । के गर्ने के नगर्ने अक्करै अक्कर, ठक्कर्रै ठक्कर । अनकन्टार अन्योलमा अल्मलिएका छन् । दलहरुको लडाइँ ज्वालामुखीझैं दन्किरहेको छ । विकासका कामकाज थन्किरहेको छ । विनियोजित रकम क्वाप्प, काम ठप्पको स्थिति छ । नेता सन्किने, झिँगा भन्किने, कुरा तन्किने क्रिया जारी छ । यी सबै वितण्डा मानव खुबीकै खेल हुन् । अर्थात् राजनीतिक व्यापार/किनबेच हुँदा यस्तै घन्चमन्च र घचारो हुन्छ । त्यसैले दूरी कायम गर्नुपर्छ । नत्र कोरोनाको त्रास हुन्छ र कोही कोही संक्रमित भएर थला पनि पर्छन् । यस्ता किनबेच बिक्री निस्फिक्री उसका पालामा पनि भएका थिए । यसका पालामा पनि जारी छ र अनन्त कालसम्म लेनदेन चलिरहन्छ । राजनीतिक संकटका बेलामा यस्ता खरिद बिक्रीलाई पचाउन नसक्नेहरू जिब्रो टोक्छन् । पशु चौपायालाई बेच्नु स्वाभाविकै हो तर जनप्रतिनिधि नै किनबेच हुँदा यी पनि पशु नै हुन कि झैं लाग्छ ।

किनबेच गर्न खुबी चाहिन्छ । खुबी ऐंचोपैंचो र सापटी लिन मिल्दैन । यो मानवनिहीत आन्तरिक क्षमता हो । यसैको प्रयोग गरेर सुरुमा कुखुरा, च्याखुरा, चिउरा, चाउचाउ, बाख्रा, बिरालो, चेलीबेटी बेच्दा बेच्दै निस्फिक्री देह व्यापार फापेझैं लाग्छ । बिक्री भएको पत्तै नपाई श्रम बेचेको भ्रममा आनन्दले धन्दा जारी राख्छन् । खुबीका खेलाडी बिक्रेता निस्फिक्री जे अगाडि पर्छ त्यही बेच्न ताउरमाउर गर्छ । कमाउन, रमाउन, दौलत समाउन लत बसिसकेको हुन्छ । पद प्रतिष्ठालाई तिलाञ्जली दिएर भए पनि कमाउन आनन्द मान्छन् तर महाकविले भनेझैं हातको मैला सुनको थैला के गर्नु धनले भन्ने कुरा भुसुक्क भुल्छन् र कमाउन कै लागि चौतर्फी चारधाम डुल्छन् । बेच्नु कमाउनु, सुको दाम जोहो गर्नु नराम्रो होइन तर बेचिने वस्तुको अस्तु सही र पाचक हुनुपर्‍यो । जे मन लाग्यो त्यो बेच्नु खुबीलाई जतामन लाग्यो त्यतै बहकाउनु आत्मघाती हुन सक्छ । नगदेबाली ठानेर कालाकाली सालासाली बेच्नचाहिं आफूले आफ्नै पाउमा घाउ लगाउनु हो । इमानदारीपूर्वक बेच्नुपर्छ नालीसागदेखि निगुरोसम्म र गिठ्टादेखि रिठ्टासम्म । घिउ बेच्दा बेच्दै जिउ नै बेच्नेसँग इन्द्रेका बाबु चन्द्रेको पनि केही लाग्दैन । अवस्था नाजुकमात्र होइन ताजुक छ । इज्जतलाई तिलाञ्जली दिँदै मान्छेले मान्छेकै सालनाल बेच्न थालिसकेका छन् । यस्तो निस्फिक्री बिक्रीले मानव खुबीको अवमूल्यन हुन्छ कि हुँदैन ? यो चालले मानव स्वभाव र चोलालाई कता पुर्‍याउँछ होला ? तामसी निकृष्ट स्वभाव मानव सुहाउँदो हुन सक्दैन । मानव निर्मित कानुनको नौ सिङ भन्छन् त्यसको पनि भर छैन पिँधबिनाको लोहोटाझैं जता पनि ढल्किन सक्छ । समाजको छायाँ पारेर सोझा सिधा जनताको आँखामा छारो हाल्नु भनेको अर्काे पटकबाट आफूलाई भोट नहाल्नु भनेको हो । वर्तमान समाजको गतिविधि र राजनेताको ताल देख्दा गायक रामकृष्ण ढकालले गाएको गीत झन् समयसान्दर्भिक बनेर मनमस्तिष्कमा गुञ्जिरहन्छ ।
ओराली लागेको हरिणको चाल भो
बाचुन्जेलसम्म पनि मरेकै हाल भो ।
छल गर्‍यो मायाले छल गर्‍यो मायाले ।

शिवशक्ति मार्ग
फूलबारी–११
पोखरा, कास्की

Related News

सम्बन्धित समाचार

hero news full width