हटाऔं पोखराको प्रदूषण

आनन्दराज मुल्मी
चैत्र २४, २०७५

पोखराको रमाईलो मौसम देख्ने कसैले पनि तारिफ नगरी वस्दैन। पोखराको प्राकृतिक मनोरम दृश्यहरु देख्दा सवैले लोभलाग्दो भनेर वर्णन गर्छन, पोखरामा फोहरमैलाको ड्रंगुर नदेख्दा सवैभन्दा सफा शहर भनेर सवैले भन्ने गरेका छन्। यी सवै पोखराको अविस्मरणीय र वर्णनयोग्य कुरा नै हुन्।

तर यही पोखरामा जन्मेर कार्यथलो बनाएकाहरुले अहिलेको पोखरालाई हिजो झैँ संझनलायकको रुपमा ग्रहण गरेका छन् कि छैनन्। हिजो झैँ व्यवस्थित शहरको रुपमा उभिन सकेको छ कि छैन? हिजो झैँ खुलेको हिमाल र तालमा निर्मलपन पाउन सकिन्छ कि सकिदैन? हाम्रा सेती, याम्दी, विजयपुर, खुदी, काँहु, भलाम,फुस्रे वा हर्पन खोलाहरु कंचन रुपमा वग्न सकेका छन कि छैनन्? वा पोखराको आकाश निलाम्य रहन सकेको छ कि छैन वा हाम्रा नदी र खोलाका किनारमा वसेर सुखको अनुभूति गर्न सक्छौ कि सक्दैनौ?

यी तमाम जिज्ञसाहरु आज सवै पोखरेलीको मनमा, पोखरालाई असाध्यै माया गनेर्हरुले हिजोको पोखरा देख्ने र पोखरालाई अझ सुन्दर बनाउन चाहनेहरुले व्यक्त गर्ने गरेका छन्, यो चाही यथार्थ हो पोखरालाई व्यवस्थित वनाउन सकेनौं।

विश्वव्यापी रुपमा अहिले चिन्ताको विषय वनेको छ, जलवायु परिवर्तनको प्रभाव। धेरै देशहरु आफ्नो देशको वायु प्रदूषण, ध्वनि प्रदूषण र जल प्रदूषणलाई ठीक स्तरमा राख्न प्रयत्नशील छन्। त्यो भनेको प्रदूषणबाट आफ्ना नागरिकहरु प्रभावित नहोऊन, प्रदूषणबाट हुने नकरात्मक प्रभाव रोगको संभावित कारण नबनोस् भनेर हरेक देश कार्यरत रहेको पाउँछौ। त्यसैले सारा विश्वको लागि वायु प्रदूषणको स्तर कायम गरिएको छ।

वायु प्रदूषणलाई आफ्नो देशमा उडिरहने वायुमा रहने कणको आधारमा मापन गरिन्छ, जसलाई पिपिएम भनिन्छ। अहिले वायुमा १० र सो भन्दा कम कण पाईएमा प्रदूषणमुक्त ठाँउमा गनिन्छ र यसले स्वास्थ्यमा कुनै असर पादैर्न। ११ देखि २५ पिपिएम लाई ठीक मानिन्छ। २६ देखि ४० पिपिएम भएको अवस्थामा अलि प्रदूषण त छ तर, सहनयोग्य भनेर विश्व स्वास्थ्य संगठनले स्तर कायम गरेको छ।

४१ देखि ७५ पिपिएम भएमा प्रदूषित हो र स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ। ७६ देखि १५० पिपिएम भएमा धेरै प्रदूषित अवस्था मुख छोपेर हिँड्नुपर्ने अवस्था भनेर चित्रण गरेको छ, भने १५० भन्दा बढी पिपिएम देखिएमा खतरनाक र आफै कसरी बाँच्ने भन्ने अवस्थामा रहेको छ। त्यसैले धेरै शहरहरुमा धेरै ठाँउहरुमा यसलाई मापन गर्ने यन्त्रहरु राखेर आम जनतालाई सुसूचित गर्ने जमर्को प्रत्येक जिम्मेवार सरकारले गरिरहेको हुन्छ। त्यही मापनयन्त्रले देखाएको पिपिएमको आधारमा वायु प्रदूषण कम गराउन विभिन्न उपायहरु अवलम्वन गरेको हुन्छ। किनभने यन्त्रहरु पर्याप्त मात्रामा नराखिए पनि केही शहरमा राखिएको थाहा हुन आएको छ।

काठमाण्डौ उपत्यकाको १५र१६ ठाँउहरुमा राखिने गरेको छ भने पोखरामा २ ठाँउमा मापन गर्ने गरिएको छ। नेपाल सरकारले राष्ट्रिय मापदन्डको रुपमा ४० पिपिएम राखेको छ, विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको २५ पिपिएम स्तर भन्दा अलिक वढी हो। काठमाण्डौ उपत्यकाको कुनै ठाँउमा १८५ पिपिएम पुग्ने गरेकोछ भने सरदर औषत ८० देखि ८५ पिपिएम कायमै छ। त्यसैले काठमाण्डौलाई विश्वको प्रदूषित राजधानी शहरको रुपमा लिने गरिएको छ।

पोखराको २ ओटा ठाँउहरु एक लेखनाथको पोखरा विश्वविद्यालय रहेको ठाँउ र दोस्रो लामाचौरको गण्डकी वोर्डिङ्ग स्कूल रहेको ठाँउमा राखिएको छ। उक्त मापनकेन्द्रमध्ये लेखनाथमा ६० देखि ११८ पिपिएम सम्म र लामाचौरमा ४२ देखि ५५ पिपिएम रहेको आंकडा १ महिना अगाडि पाईएको थियो। पोखरा जस्तो ठाँउको लागि राष्ट्रिय मापदन्ड ४० पिपिएम भन्दा बढी पाईनु चिन्ताजनक विषय हो। मनोरम दृश्य, हरियो जंगल, रमाईलो मौसमको वावजुद पनि पोखराको यो वायु प्रदूषणस्तरमा रहनुले झकझक्याएको छ।

अझै हामीले पृथ्वीचोक, लेकसाईड,जिरोकिमी, चिप्लेढु·ा, बगर, विरौटामा मापन गर्ने व्यवस्था छैन, खाली लामाचौर र लेखनाथको तुलनामा यी ठाँउहरुमा बढी प्रदूषणका कणहरु हुन सक्लान भन्ने अनुमान मात्रै गर्न सक्छौ। तर यी ठाँउहरुमा भन्दा बढी पिपिएम छ भने वा पाईएमा पोखरामा पनि प्रदूषित शहरको रुपमा रहने संभावना देखिने भयो त ! यो चिन्ताको विषय हैन र? अव यो वायु प्रदूषणको मात्रा कम गरी पोखरालाई स्वच्छ शहरको रुपमा स्थापित गर्न गराउन केही कदमहरु तत्कालै सुरु गर्ने बेला भएन र?

तर अहिले संघीय संरचनामा रहेको ३ तहका सरकारहरुमध्ये वायु प्रदूषण सम्बन्धी काम कारवाही कसले गर्ने भन्ने अन्योल नहुन पर्ने हो तर कुनैपनि निकायको सरकारको ध्यान यसतर्फ नपुगेको प्रष्ट छ। वायु प्रदूषणको प्रमुख कारक तत्वहरुमा सवारीसाधनहरुबाट निस्कने धुँवा, फैक्टरीहरुबाट निस्कने धुँवा, ईटाभट्टाहरुको चिमनीबाट निस्कने धुँवा, जेनेरेटर, ढुवानी गर्ने साधनहरु, निर्माण कार्यमा संलग्न हुने डोजर ईस्काभेटरहरु, ट्याक्टरहरु आदिवाट विर्सजित हुने धुँवाहरु, फोहर सडक, कच्ची सडकको प्रयोगबाट हुने र उडने धुलोका कणहरु हुन्।

त्यसमाथि धेरै पुराना सवारीसाधनहरुबाट निस्कने धुँवाको मुस्लोले अत्यधिक वायु प्रदूषित गरिराखेको छ, अव त्यस्तालाई रोक्ने, धुँवाको मुस्लो नउडाईकन सडकमा सवारीसाधन चलाउन लगाउने निकाय कुन हो? त्यो निकाय सक्रिय हुनपर्ने वा नपर्ने र कुन निकायलाई गुनासो गर्ने कसैको जानकारीमा छैन। त्यसैले पोखरामा देखिन थालेको कहाली लाग्दो वायु प्रदूषणको स्थितिलाई गंभीरतापूर्वक लिन महानगरपालिकाले तदारुकता देखाउनुपर्ने हो भने तत्कालै कृयाशील हुन जरुरी भईसकेको छ।

हैन पोखरा प्रंदेशको राजधानी हो प्रदेशले नै गर्नुपर्ने दायित्व हो भने प्रदेश सरकारको तदारुकता देखिनुपर्यो। हैन संघीय सरकारले वायु प्रदूषण कर उठाउँछ, कोषमा रकम छ भन्ने हो भने प्रदेशसरकार र महानगरपालिका दुवैले संघीय सरकारलाई दवाव दिएर जुन वायु प्रदूषणस्तर खतरा स्थितितर्फ उन्मुख छ, त्यसलाई कम गराउने कार्यमा सक्रिय काम गर्न लगाउन अत्यन्तै जरुरी भईसकेको छ। पोखरेली जनता पोखरा प्रदूषित शहरको वासिन्दा भएर जिउन कुनैपनि हालतले तयार छैनन्। पर्यटकीय शहरको रुपमा रहेको पोखरा आफ्नो छवि गुमाउन चाहँदैन्। यो शहर बस्न लायकको शहर बनिरहनुपर्छ, रमाईलो हरियाली शहरकै रुपमा रही रहनुपर्छ।

त्यति मात्रै होईन ध्वनि प्रदूषण पनि वढ्दो मात्रामा पाईएको छ। ध्वनी प्रदूषण मापन डेसिवलको रुपमा गरिएको छ। एउटा मानिसको स्वास्थ्यमा ध्वनि प्रदूषणले अत्यधिक प्रभाव पार्दछ। कान कम सुन्ने अवस्था बनाउने, मानिसको स्वभावलाई परिवर्तन गराउने, मानिसको रक्तचापलाई बृद्धि गर्ने, मनोवैज्ञानिक रुपमा मानिसलाई रिस उठाउने, असहिष्णु बनाउने काममा ध्वनिप्रदूषण जिम्मेवार रहेको पाईन्छ। सामान्यतया ग्रामीण क्षेत्रमा ४० देखि४५ डेसिवल, शहरी आवास क्षेत्रमा ५५ र व्यापारिक क्षेत्रमा ५५ देखि ६५ डेसिवल स्वीकार्य हुन्छ। तर पोखराको व्यापारिक तथा शहरी आवास क्षेत्रमा चाहिने भन्दा बढी डेसीवल रहेको पाईएको छ।

ठूलो आवाजमा मोटरसाईकलहरु जताततै दगुर्नु, बिग्रेका मर्मत नभएका सवारीसाधनहरु जताततै गुड्नु, सवारीसाधनबाट प्रयोग हुने हर्न (पोखरा हर्न निषेधित क्षेत्र घोषणा गरिएको पोखरा महानगरपालिकाले निरन्तर अनुगमन गरेको पाईँदैन्, वोर्ड फेलेक्स झुन्डाईएका छन् हर्न बजाउने मनपरी बजाईरहेका छन्, कुनै कारवाही भोग्नुपदैर्न ) संगीत कार्यक्रम, वेल्डि· गर्ने, वर्कसपरुमा गरिने काम, मेलामहोत्सव वा अन्य कार्यक्रमको लागि गरिने प्रचारकार्यहरु, मन्दिर मस्जिदमा गरिने कार्यक्रमहरु, लाउडस्पिकरबाट प्रसार गरिनुले पोखरामा ध्वनि प्रदूषण बढाएको छ। यी दुवै ध्वनि र वायु प्रदूषण पोखराको भविष्यलाई एकदमै हानीकारक बन्दै गएको छ। तसर्थ अहिले आजैबाट यस्ता प्रदूषण रोक्न केही गरौं, केही नगर्ने हो भने हामी पछुताउने छौं। नियमन गर्ने निकाय बारे सवै जनताले थाहा पाउने व्यवस्था गर्न महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै जति ढिलो गर्यौँ, त्यति नै पोखरालाई नकरात्मक प्रभाव पर्न जान्छ।

आम पोखरेली जनता यस्ता प्रदूषणलाई कम गर्न तदारुकता देखाउन तत्पर छन्, केवल खाँचो छ नेतृत्व गरिदिने निकायको। पोखराको भविष्य यसैमा निर्भर छ। आखिरमा प्रदूषण कमगर्न र मुक्त गर्न सरकारले जनतासंग कर उठाएको छ। सो प्रदूषण कर कोषमा झन्डै ७ अर्व रहेकोमा पोखराका जनताले पनि योगदान गरेका छन्। त्यही रकमको सदुपयोग गरौं, पोखरामा देखिएको प्रदूषण हटाउन काम थालनी गरौं।

Related News

सम्बन्धित समाचार

hero news full width