शिवरात्रि महिमा र उपासना

शिवप्रसाद गौतम
फागुन २०, २०७५

वैदिक सनातन दर्शनका तीन प्रधान देवता ब्रह्मा, विष्णु र महादेवमध्ये संहारकार्यका प्रतीक मानिएका प्रसिद्ध देवता, रुद्र, महादेव, शम्भु, पशुपति, मंगल, कल्याण, आनन्द , मुक्ति, मोक्ष आदि शिव हुन्। शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रत, उपवास आदि बसिने, फागुन कृष्ण चतुर्दशीको रात, शिव चतुर्दशी शिव रात्रि हो।

शिवजीको वास भएको लोक, कैलाश शिव लोक हो। अर्थात् नेपाल शिवजीको लोक हो किन भने विश्वका सर्वोच्च हिम शिखरहरू नेपालमा छन्। नेपाल राज्यको उत्तरी सीमा क्षेत्रमा वारपार पसारिएका टाकुराहरू सधैँ जसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला हिमशृङ्खला हिमालहरू हुन्। यिनै हिमालय नाम राशि भएका हिमालय पर्वतकी पुत्री पार्वती शिव भगवान्की अर्धाङ्गिनी हुन्। पार्वतीलाई उमा, गौरी, शैलपुत्री, अपर्णा पनि भनिन्छ। गणेश र कुमार शिव पार्वतीका पुत्र हुन्।

भगवान् पशुपतिनाथको दर्शन गर्नु पूर्व श्रद्धालु भक्तजनहरू वागमती नदी पशुपति मन्दिर पूर्व रहेको आर्यघाटमा स्नान गर्दछन्। आर्यघाट पवित्र तीर्थस्थल मानिन्छ। शिवरात्रिको दिन पशुपतिनाथ क्षेत्र विकास समितिले तीर्थालुहरूको सुविधाको व्यवस्था गर्दछ। स्वास्थ्य शिविर शिवधुनि सञ्चालन गर्दछ। यो दिन भारतबाट समेत भक्तहरू नागा बाबाहरू पनि शिवरात्रि मेला भर्न आउँछन्। समितिले भक्तहरू हेरेर आर्थिक सुविधा पनि दिने गर्दछ। पशुपतिनाथलाई भेटी चढाउँदा दान पात्रमा चढाउने व्यवस्था समितिले गरेको छ। दैनिक आम्दानीको पारदर्शिता पनि गर्ने गरेको छ।

भक्तहरूको सुविधाको लागि जुत्ता, चप्पल, छालाका सामानहरू भित्र लान नदिई बाहिरै राख्ने व्यवस्था मिलाएको छ। यो दिन पशुपति मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिन्छ। भारतीय भट्ट ब्राह्मणहरू पशुपतिका पुजारी छन्। दैनिक विहान र बेलुका पुजारीबाट भगवान् पशुपतिनाथको पूजा हुन्छ। देशको शासन भार सम्हाल्नेहरूले भगवान् पशुपतिनाथप्रति आस्था दर्शाउन छाडेकाले मुलुकमा अनेक अनिष्ठ आइपरेको भक्तजनहरूको ठम्याइ छ। शिवरात्रिमा अधिराज्यभरिका शिव मन्दिरहरूमा भगवान् शिवको पूजा हुन्छ। सनातन धर्मावलम्बीहरू धार्मिक कार्य गर्दा सर्वप्रथम भगवान् गणेशको पूजा गर्दछन्। तत्पश्चात् अन्य भगवान् भगवतीको पूजा गर्छन्। एक पटक भगवान् शंकरले आफ्ना पुत्रहरूलाई संसार घुमेर आओ भन्ने आदेश गर्नुभएछ। कुमारको वाहन मयुर थियो। मयुरमा चढेर संसार घुम्न हिँडेछन्। गणेश आफू भुँडे र उनको बहान छुचुन्द्रो। पिताको आज्ञा पालन गर्न उनी असमर्थ भएर झोक्राएर बसेको छुचुन्द्राले देखेछ। मालिक, के पिर पर्यो भन्नोस् न म सघाउन सक्छु कि? उता जा तँ जाबोले के सघाउन सक्छस् भन्नुभएछ तै पनि छुचुन्द्राले पुनः सोधेछ। गणेशले प्रसङ्ग भन्नुभएछ। तब छुचुन्द्राले भनेछ संसार भनेका पितामाता हुन्। उहाँहरूलाई प्रदक्षिण गरेर साष्टाङ्ग दण्डवत् गर्नु होस्। यही कर्म गर्नाले तपाईले संसार घुमेको ठहर्छ। गणेशले त्यसै गरे। भगवान् शिव प्रसन्न भएर जनुसुकै धार्मिक कार्य गर्दा सर्वप्रथम तिम्रो पूजा होस् भन्ने वरदान दिनुभएछ।

यही कथा प्रसङ्गलाई सत्य साबित गर्न हामी मानवहरू पूजाआजा गर्दा सर्वप्रथम भगवान् गणेशको शंकटनाशक भगवान्को रूपमा सर्वप्रथम पूजा गछौँ। यस प्रसङ्गले हामी मनुवाका संसार भनेका पितामाता नै हुन् भन्ने उदाहरण प्रस्तुत गरेको छ। यति मात्र होइन असल विचार र भावना सानासँग पनि हुन्छ भन्ने अभिप्रायले पनि यो प्रसङ्ग लेखिएको छ। जगत रक्षाको भावनालाई आफ्नो मन मस्तिष्कमा सदा सर्वदा धारण गरेर चराचर जगत्को उद्धार एवम् कल्याणमा दत्तचित्त रहने भगवान् श्री पशुपतिनाथले देव, दानव र सम्पूर्ण चराचरको रक्षार्थ समुद्र मन्थनबाट निस्केको हलाहल (कडा) विष (खाएमा मृत्यु हुने) घाँटीमा राखेर नीलकण्ठ भएको प्रसङ्गले पनि पशुपतिनाथको महत्त्व दर्शाउँछ। बाला चतुर्दशीमा पशुपति क्षेत्रमा पितृ उद्धारको निमित्त पितृभक्तहरू शतबीज छर्दछन्।

प्रत्येक मानवका अनन्य आस्थाका प्रतिमूर्ति भगवान् श्री पशुपतिनाथप्रति नेपालीहरूको अनन्य भक्तिकै प्रतिफल स्वरूप देशका सम्पूर्ण भागका टोलटोलमा शिव भगवान्का मूर्ति र विशलिङ्ग सहितका मठ मन्दिरहरू विभिन्न नामले स्थापित भएका छन्। विभिन्न धार्मिक, ग्रन्हथरुमा अति पावन (पवित्र) तीर्थको रूपमा वर्णन गरिएको भगवान् श्री पशुपतिनाथको ज्योतिर्लिङ्ग रहेको स्थान र प्राचीन कालमा आदि देव सदाशिवको क्रीडा स्थलको रूपमा चर्चित पाशुपत क्षेत्रको धार्मिक परिवेशमा आफ्नै ठूलो महत्त्व राख्दछ। हामी नेपालीले भगवान् पशुपतिलाई राष्ट्रका संरक्षण कर्ताको रूपमा मानि आएका छौ। भगवान् पशुपतिनाथ नेपाल राष्ट्रका राष्ट्र देव हुन्।

आज प्रत्येक मानव जनजीवनसँग पशुपतिनाथको घनिष्ठ सम्बन्ध रहेको पाइन्छ। चाहे त्यो व्यावहारिक, पौराणिक र आध्यात्मिक रूपमा भएको होस् अथवा धार्मिक तथा नैतिक रूपमा भएको होस्। सम्पूर्ण मानवहरू आफूले गर्नुपर्ने सुकृत्यहरूमा आध्यात्मिक प्रेरणा प्राप्तिका निम्ति स्थानीय शिव मूर्ति र शिवलिङ्गहरूमा श्रद्धा सुमन चढाउन जाने गर्छन्। काठमाडौँमा अवस्थित पशुपति मन्दिरमा प्रत्येक दिन हजारौँ हजार दर्शनार्थीहरूको घुइँचो हुने गरेको तथ्यले पनि यस कुरालाई पुष्टि गरेका हुन्छ भने आज शिव रात्रिको भिडले अझ बढी प्रष्ट पार्दछ। आज कै दिन नेपाली सेनाले सैनिक दिवस मनाउँछन्। टुँडिखेलको खुला मञ्चमा राष्ट्राध्यक्षको समुपस्थितिमा घोडा दौड, तोप पड्काएर परेड खेलेर हेलिकप्टरबाट पुष्प वृष्टि गरेर बेलुन उडाएर भव्य रूपमा राष्ट्राध्यक्षलाई सलामी अपेर्र सैनिक दिवस मनाउने परम्परा छ। राक्षसहरूले दुःख दिँदा देवताहरूले भगवान् शिवको स्तुति गर्दा भगवान्बाट दुःख निवारण भएको घटना क्रम धर्मशास्त्रमा प्रशस्त छन्। भक्तहरूको भक्तिबाट सबै भगवान्हरू भन्दा चाडै प्रसन्न भएर वरदान दिने भगावन्हरूमा भगवान शिव पर्नुहुन्छ। त्यसैले भगवान् शिव अर्थात् भगवान् पशुपति नाथलाई सबै धर्मावलम्बीहरूले बडो श्रद्धा र भक्ति भावले पूजा आजा गर्दछन्। भगवान् शिवलाई पूजा गर्दा चन्दन, अक्षता, अविर केसरी, फूल, वेलपत्र, ऊखु, गाईको दूध, नाना प्रकारका फूल प्रसाद चढाएर, शङ्खघण्ट बजाएर, भजन कीर्तन गरेर पूजा गरिन्छ। शिव रात्रिको रातमा धुनी लगाएर, उखु पड्काएर, हलुवा, मनभोग, फलफूल, मिष्टान्न खाएर वडो उल्लासमय रूपमा भजन कीर्तन गरेर शिवरात्रि मनाउने हाम्रो धार्मिक परम्परा छ।

शिवरात्रिको दिनमा शिव भक्तहरू उपवास बसेर बेलुका शिव भगवान्को पूजा गरेर धुनी तापेर, उखु पड्काएर रातभर शिवभजन र नृत्य गरेर उज्यालो भए पछि स्नान गरे शिव धुनीको विउँत (खरानी) को टीका लगाएर आनन्द लिए पछि मात्र भोजन गर्दछन्। शिवरात्रिको दिन करोडौँ रुपियाँको ऊखु, पूजासामग्री, फलप्रसादको व्यापार हुन्छ।

सदाशिव शिवको एक नाम हो, महादेव। सधैँ सबैको कल्याण गर्ने, कल्याण स्वरूप हुन् सदाशिव। यस्ता भगवान्को विषयमा चर्चा परिचर्चा गर्न हजार जिब्रा भएका शेष नागले त गर्न सक्दैनन् भने सामान्य मनुवाले गर्न सक्ने कुरा होइन केवल भक्ति भाव अर्पण गर्ने प्रयत्न मात्र हो। पशुपतिनाथ भनेका काठमाडौँ स्थित, विश्वका प्रसिद्ध शैव (शिवभक्त) पीठ मध्ये एक मानिने तीर्थस्थल नेपालका चार धाममध्ये वा एक शिव मन्दिर, पशुहरूका मालिक पशुपतिनाथ हुन्। नाथ भनेका मालिक स्वामी, ईश्वर पति, हुन्। यिनैलाई गरिने सम्बोधन नाथ हो। यस्ता नाथको सनातनीहरू, हप्ताको सोमवार, श्रावण महिनाका सबै सोमवार (बोल बमको माध्यमबाट), शिवरात्रिको पावन दिनमा तथा दैनिक शिव भगवान्को पूजा आरधना गर्दछन्। पूजा गर्दा शिव पार्वती वन्दनाको माध्यमबाट पनि गरिन्छ। जस्तैः

  • कर्पूरगौरं करुणावतारं संसार सारं भुजगेन्द्रहारम्।
  • सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि
  • सदा मे समत्वं न मुक्तिर्न बन्ध
  • चिदानन्द रूपः शिवोऽहम् शिवोऽहम्।।

पिता माताबाट जन्म नभएका मृत्यु नहुने सर्वव्यापी सर्व शक्तिमान परब्रह्म परमात्मा सदाशिव भगवान्को आरधना गर्न आजको यो पावन पर्वमा शिवरात्रिको पुण्य तिथिमा सम्पूर्ण विकृति विसङ्गतिहरूलाई हटाइ समृद्ध नेपालको निर्माणमा भगवान् पशुपतिनाथले सबै नेपालीलाई सद्बुद्धि दिऊन् भन्ने प्रार्थना गरिन्छ। ॐ नमः शिवाय।

Related News

सम्बन्धित समाचार

hero news full width