मामाले भाञ्जी मारेको घटना

प्रा.डा.कुसुमाकर न्यौपाने
वैशाख १२, २०७६

पहिले पहिले एउटा गाउँको घटना अर्को गाउँमा समेत पुर्याउने माध्यम गन्धर्वको गायनकला नै थियो। त्यसैले श्रोताहरूले समाजमा घटेका कतिपय घटना सुन्न गन्धर्वको आगमनको प्रतीक्षा गर्थे। गन्धर्वले पनि नयाँनयाँ घटना गाएर श्रोताहरूलाई चकित पार्थे। यस्ता घटना गाएर गन्धर्वले आफ्नो जीवन गुजारा गरेका थिए। कहीँ घटना घट्यो भने त्यसलाई सुन्नका निम्ति अहिलेका पत्रकार जस्तै गन्धर्व दौडिहाल्थे। त्यसको परिणाम नेपाली लोकगाथा अन्तर्गतको घटना विधाको विकास भएको थियो।

पृष्ठभूमि

अचानक मारपिट भयो भने त्यो पनि घटना हो। कसैको हत्या गरिएको छ भने त्यो पनि घटना हो। मान्छे अथवा यातायातको साधन पल्टियो भने त्यो पनि घटना हो। त्यसैले घटना भन्नासाथ अकस्मात् हुने मारपिट, हत्या, दुर्घटना आदिलाई बुझिन्छ। घटना कौतूहलपूर्ण हुन्छ। पहिले–पहिले यस्ता घटनामध्ये कुनै घटनालाई विषय बनाएर गन्धर्वले गाउँथे। यस्ता लोकगाथालाई गन्धर्वले पहिल्यैदेखि घटना नामले पुकार्थे। समाचार सम्प्रेषण गर्ने माध्यम नभएका बेला यस्ता घटना गाएर नागरिकहरूलाई सुसूचित गर्थे। यस्ताघटना अत्यन्तै कारुणिक हुने हुँदा र सारङ्गीको धुनमा लयबद्ध ढङ्गले तिनलाई गाउँदा श्रोताहरूले पनि निकै रुचिका साथ सुन्थे। गन्धर्वले गाउने गरेका यस्ता घटना धेरै थिए। तीमध्ये अहिले पनि गण्डकी प्रदेशमा भेटिने घटना लोकगाथा यस प्रकारका छन् : छोरीले आमा मारेको घटना, बाउले छोरी मारेको घटना, बिष्णुमयाँ ठकुर्नीले छोराछोरी मारेको घटना र मामाले भाञ्जी मारेको घटना। यहाँ यी सबै घटनाको चर्चा नगरी मामाले भाञ्जी मारेको घटनाका बारेमा चर्चा गरिँदै छ। त्यस क्रममा यस घटनाको गायनक्रम र कथासारबारे चर्चा गर्दै निष्कर्ष निकाल्ने काम गरिएको छ।

घटनाको गायनकक्रम

गन्धर्वले गाउने लोकगाथामध्येको एउटा विधा घटना हो। घटनाका विविध भेदमध्येको एउटा भेद “मामाले भाञ्जी मारेको घटना” शीर्षकको लोकगाथा हो। यस लोकगाथामा मामाले रक्सी खान र जुवा खेल्न पैसाको अभाव भएकाले भाञ्जीका गहना लुट्ने योजना बनाएको छ। भाञ्जीलाई लिन भनी भाञ्जीकै घरमा गएको छ। भाञ्जीलाई ज·लमा ल्याएर लुट्ने प्रयाश गरेको छ। असफल भएपछि घरमा ल्याएर विख खुवाएको छ। हतियारले हानेर मारेको छ। पोल खुलेका कारण मामा प्रहरीको फन्दामा परेको छ। प्रहरीले जेलमा हालिदिएको छ। यसरी एकजना अपराधी जुवाडे मामाको जीवनको एउटा घटना यस लोकगाथामा श्रृङखलाबद्ध भएर बगेको छ। यसलाई गन्धर्वले सार·ी बजाउँदै आदि, मध्य र अन्त्यको श्रृङ्खलामा गाउने गर्दछन्।

“मामाले भान्जी मारेको घटना” नामको घटना गाउन बसे पछि गन्धर्वले सारङ्गीका तार व्यवस्थित पार्दछन्। त्यसपछि सारङ्गी बजाउने धनु ढोग्छन्। यति गरेपछि सारङ्गी बजाउँदै गाउँछन्। त्यस क्रममा पहिलो चरनमा श्रोतालाई घटना सुन्न अनुरोध गर्दछन्। जस्तै :

सुन्नुहोला दिएर नि ध्यान

भाञ्जी मार्नी मामाको बइन।

माथिको चरन गाइसकेपछि “मामाले भाञ्जी मारेको घटना” शीर्षकको घटनाको मध्य भाग आरम्भ हुन्छ। मध्य भागमा यो घटना घटेको समयको वर्णन गरिएको छ। जुवाडे मामाले भाञ्जीलाई ललाइफकाइ ल्याएर उनले लगाएका गहना मागेको छ। भाञ्जीले अर्काको गहना दिन नमिल्ने कुरा व्यक्त गरेपछि ती भाञ्जीलाई पिटेर पनि नभए पछि फकाउँदै आफ्ना घरमा लगेको छ। त्यहाँ बिख हालेको भात खुवाएर बेहोस बनाई कोदालाले हानेर मारेको छ। यस्तो अपराधीलाई प्रहरीले पक्डेर जेलमा हालेको छ। यतिसम्मका घटनाहरू यस गाथाका मध्यभागका घटना हुन्। जानकारीका निम्ति “मामाले भाञ्जी मारेको घटना” शीर्षकको लोकगाथाका केही चरनहरू यहाँ प्रस्तुत गरिएको छ :

दुई हजार एकसट्ठी साल, हो नि जेठको मैना

गाम्चु मैले यो घटना, झुटो कुरा हैन।

लेन भाञ्जी, तो तिम्रो गहना

जान्चु म त, जुवातास खेलन।

दिन्न मामा दिन्न मामा नमाऊ घरिघरी

अरिकाको गहना हो म दिनी कसरी?

दिन्न मामा, अकैर्को गहना

घरमा सोधे, के दिनी? लौ भन।

दोस्रो गास खाँदाखेरि, जमिनमा ढाल्यो

त्यै बेलामा कोदालीले, हानिकन मार्यो

सत्र बसे, लच्छिमी नानी

खान पाइनौ, तिमीले सुनपानी

अपराधी, मामाले हेर

मार्यो भान्जी, गहना देखेर

साँचोसाँचो कुरा पनि, कहिहाल्यो हेरी

तो पापीलाई झेलखानामा, थुनिहाल्यो फेरि

रामराम, के गर्यौ रामले

भान्जी मार्यो, अप्राधी मामाले

ज्यानमारा मामालाई जेलमा हालेपछि गन्धर्वले यस घटनालाई आधार बनाएर स्वस्थ समाज निर्माणका निम्ति सुझाउ वा सन्देश अर्थात् उपदेशमूलक चरन गाउँछन्। समाजमा हरेक आफन्त र पराइ दुबै खालका मानिस हुन्छन्। पराइसित त सतर्क भइन्छ। यस युगमा आफन्त पनि भरोसा नभएका देखिएका छन्। त्यसैले आफन्तलाई पनि पूर्ण विश्वास गर्न हुँदैन। तिनले पनि धोका दिन्छन्। आफै सतर्क भएर आफ्नो जीवनयात्रा अगाडि बढाउनुपर्छ। यस्तै जुवा खेल्ने, तास खेल्ने काम राम्रो होइन। जुवातास खेल्नाले आफ्नो धनको नास हुन्छ, आफ्नो जीवनको नास हुन्छ साथै अर्काको जीवन पनि नास हुन्छ। यसरी जुवातासले सर्वनास गराउँछ। यस्ता पक्षबाट जोगिनपर्छ भन्ने सन्देश दिएर “मामाले भाञ्जी मारेको घटना” नामको यस लोकगाथाको अन्त्य भएको छ। जानकारीका यस लोकगाथाको अन्त्य भागका केही चरन यहाँ प्रस्तुत गरिएको छ :

यस्ता कुरा सबैलाई थाहा छ

आफ्नू भनी नगर्नू विश्वास

नखेल्नु जुवा र तास

धनको नास जीवनको बनिवास

घटनाको कथासार

एउटा निश्चित क्रममा गाइने “मामाले भाञ्जी मारेको घटना” शीर्षकको लोकगाथा लामो छ। यसलाई बुभ्mनाका निम्ति यस लोकगाथाको कथासार यस प्रकारको छ : बाग्लुङको एउटा गाउँमा जुवाडे मामा थियो। त्यो जुवाडे मामाले रक्सी खाने अनि जुवा खेल्ने गथ्यो। जुवामा हारेर पैसाको अभाव भए पछि त्यसले आफ्नी भाञ्जीका गहना लुट्ने सोच बनायो। त्यही सोचअनुसार गल्कोट गाउँमा बसेकी सत्र वषे भाञ्जीलाई कोही नभएको बेला पारेर आफ्नो घरमा ल्याउन भनी आफू नै लिन गयो।

मामा लिन आएको कुरा सुनेर भाञ्जी मामासँगै मामाघर जान पाउने खुसियालीमा गरगहना लगाएर तयार भइन्। त्यसपछि मामासँगै ती भाञ्जी मामाघर जान हिँडिन्। जाँदाजाँदा दिउँसोको चार बजे दर्बाङको ज·लमा पुगेपछि त्यो सुनसान ज·लमा मामाले ती भाञ्जीसँग गहना माग्यो। अकैर्को गहना लगाएर आएका कारण भाञ्जीले मामालाई त्यस्ता गहना दिन नहुने कुरा सुनाइन्। मामाले धर्मको ख्यालै नगरी भाञ्जीलाई धम्कायो अनि पिट्यो। भाञ्जी भुईँमा पल्टिइन्। केही बेर बेहोस् भइन् अनि बिउँतिइन्। मामाले फेरि फकाउन थाल्यो। फकाउँदै आफ्नो घरमा लग्यो। घरमा फकाएर राख्यो। आफैले भात पकायो। त्यो भातमा मुसा मार्ने बिख खन्यायो। भान्जीलाई फकाउन भातसँगै मिठा परिकार राखिदियो। भोकले आत्तिएकी भान्जीले मामाले पस्केर दिएको भात तर्कारी सपासप खाँदै गर्दा तिनलाई मुसा मार्ने बिखको प्रभावले लट्ठ्यायो। एकछिन पछि ती भाञ्जी भोजन गरेकै ठाउँमा पल्टिइन्। त्यही बेला पारेर अपराधी मामाले कोदालोको पासोले टाउकामा पटकपटक हान्यो। बिख र चोटको असरका कारण भान्जी मरिन्।

मामाले भाञ्जीका गहना सबै झिक्यो र आफ्नो गोजीमा राख्यो। मामाले भाञ्जीको लास दबाउन ज·लतिर लाँदै थियो। गाईबाख्रा चराउन ज·लमा बसेका गोठालाले मामाको त्यो करतुत देखेर प्रहरीकहाँ पुगी जानकारी दिए। हतियारसहित प्रहरी पनि तत्कालै त्यो मामाको खोजीमा निस्के। प्रहरीले त्यो अपराधी मामालाई फेला पारे। प्रहरीले त्यसलाई कारकेर गर्यो। अन्तिममा त्यस मामाले जुवा खेल्न र रक्सी खानका निम्ति भाञ्जी मारेको हुँ भनी बयान दियो। त्यसपछि त्यस हत्यारा मामालाई पुलिसले जेलमा हालिदिए। मामा जेलभित्र बसेर कठोर जीवन व्यतीत गर्न थाल्यो। यसरी कुलतमा लागेका कारण मामाले भाञ्जी पनि मार्दो रहेछ भन्ने भाव यस गाथाले व्यक्त गरेको छ।

निष्कर्ष

पहिले पहिले एउटा गाउँको घटना अर्को गाउँमा समेत पुर्याउने माध्यम गन्धर्वको गायनकला नै थियो। त्यसैले श्रोताहरूले समाजमा घटेका कतिपय घटना सुन्न गन्धर्वको आगमनको प्रतीक्षा गर्थे। गन्धर्वले पनि नयाँनयाँ घटना गाएर श्रोताहरूलाई चकित पार्थे। यस्ता घटना गाएर गन्धर्वले आफ्नो जीवन गुजारा गरेका थिए। कहीँ घटना घट्यो भने त्यसलाई सुन्नका निम्ति अहिलेका पत्रकार जस्तै गन्धर्व दौडिहाल्थे। त्यसको परिणाम नेपाली लोकगाथा अन्तर्गतको घटना विधाको विकास भएको थियो। गन्धर्वहरू अहिले आधुनिक समाचारका माध्यम प्रशस्त भएका कारण त्यस्ता घटना तथा दुर्घटना समाजले तत्कालै थाहा पाउन थाल्यो।

तिनै घटनालाई अहिले गन्धर्वले गाथा बनाई गाउँदा श्रोताहरूमा सुन्ने उत्सुकता गुम्न पुग्यो। अहिले युवा गन्धर्वले घटना गाउनै छाडेका छन्। यस्ता घटनालाई विषयबद्ध गरेर सिर्जना गर्ने क्षमताको ह्रास भएको छ। परिणामस्वरुप नेपाली लोकगाथाको घटना विधा मौलाउनुको साटो हराउँदै गएको छ साथै नयाँ घटना गाथा जन्मने परिस्थिति पनि देखिएका छैनन्।

यस्तो अवस्थामा बाँचेको “मामाले भाञ्जी मारेको घटना” पनि लोपोन्मुख अवस्थामा छटपटाइराखेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width