भूकम्प र संविधान,  नाकाबन्दी र चीनसम्बन्धको आयाम

तिलक पराजुली
वैशाख १३, २०७६

लिच्छवीकाल,  मल्लकालदेखि चलेको नेपाल – चीन व्यापार – पारवहन अहिले चल्न नसक्ने होइन भन्दैमा यथार्थतालाई बिर्सन मिल्दैन मानिसको पिठ्युँमा बोकेर,  भेडा, खच्चड, घोडामा बोकाएर अहिलेको आवश्यकता पूर्ति हुने पनि होइन। त्यसैले खोलिनु पर्छ – धेरै नाका। बनाईनुपर्छ मोटरबाटा र ट्रान्स हिमालयन रेल मार्ग। त्यसैले नेपाल – चीन जोड्न बहु आयामिक कनेक्टिभिटि आजको आवश्यकता हो।

वि.सं.२०७२ साल अविस्मरणीय छ। वैशाख १२ गते शनिवार थियो। शायद, ,  धेरैले विहानको खान– पान गरिसकेका हुँदा हुन्। ठूलो भूकम्प गयो। गोर्खाको वारपाक केन्द्रविन्दु रहेको यो प्राकृतिक विपतका घाउ आलै छन। यस अर्थमा कि घर भत्केका गरीव अझै आकाशमुनी छन्। स्कूल भवन बन्न सकेका छैनन्। काठमाण्डौका मठमन्दिर र ऐतिहासिक धरोहरहरु बन्न सकेका छैनन्। यी सांस्कृतिक सम्पदा कति महत्वपूर्ण हुन्छन् – मानव सभ्यता र मानव सम्वेदनाका लागि भन्ने कुरा हालै फ्रान्सको राजधानी पेरीसमा ८०० वर्ष पुरानो नेट्रोड्राम गिरजाघरमा आगोलागी हुँदा त्यहाँका नागरिक धुरुधुरु रोएको तस्वीर अखवारमा देख्दा हामी नेपाली पनि रोयौं। श्रीलंकाको आतंकी हमला पनि हृदयविदारक नै भयो। र, हाम्रा कृष्ण मन्दिर, रानीपोखरीको अवस्था भने सवै भन्दा पीडादायक छन्। पुनर्निर्माणको ४ वर्षे प्रतीक्षा पट्यार लाग्दो छ।

नेपालीमा एउटा उखान छ – “छोरो डढेर सप्रो” भन्ने। यस्को अर्थ नराम्रो घटनाले राम्रो परिणाम पनि दियो भन्ने हो। पहिलो संविधान सभा संविधान बनाउन असफल भएको थियो। यसमा हाम्रै नेतृत्वको अकर्मण्यता त छँदै छ,  तर,  विदेशी दाउपेचले ठूलै भूमिका खेलेको हो। दोस्रो संविधान सभा पनि असफलताको संघारतिर जाँदै गर्दा भूकम्पले संवेदना जगायो। ०७२ सालको आश्विन पहिलो हप्ता संविधान सभाले संविधान जारी गर्यो। विपदले एउटा राम्रो उपलब्धि ∕

संविधानको कुरा

नेपालको संविधान २०७२ नराम्रो छ्रैन पद्म शंसेरले २००४ सालमा जारी गरेको वैधानिक कानून देखि यो संविधानसम्म आइपुग्दा हामीले लगभग प्रत्येक १० वर्षमा संविधान फेर्दै आएका छौं – अन्तरिम संविधान समेतलाई गणना गर्दा। यस दृष्टिबाट हेर्दा नेपाली समाज र राज्य व्यवस्था अस्थिर हो। अमेरिकामा २०० वर्ष देखि एउटै संविधानले काम गर्दै आएको छ – संशोधन भएका छन्। तर, संविधान त्यहीँ छ। छिमेकी चीन र भारतका संविधान विगत ७० वर्ष देखि एउटैले काम गरेको छ।

संविधान अन्र्तगत तीनै तहको निर्वाचन सम्पन्न भयो। जननिर्वाचित सरकारले काम पनि गरेका छन्। तर,  उनीहरुको काम गर्ने शैली, उनीहरुका आचरण र व्यवहारमा कुनै परिवर्तन आएको छैन। संविधानको चर्चा गर्दा २०४७ सालको संविधान पनि नराम्रो थिएन।  हामीले नै बनाएको संविधान हो। विश्वमै सवोर्त्कृष्ट संविधान भनेर सार्वजनिक मञ्चमा हामीलेनै भनेका पनि हौं। तर,  त्यो संविधानले पनि मृत्युवरण गर्नु पर्यो, किशोर अवस्था पुग्दा नपुग्दै।

किन भए संविधान असफल?  यो प्रश्न भने बढो महत्वपूर्ण छ। यस्को उत्तर हिन्दी गजलकार मिर्जा गालिवले राम्रोसँग दिएका छन। उनको शायरीको एक सानो अंश मनन गरौं। मुगलसाम्राज्य ताकका यी फारसी र हिन्दीमा रचना गर्ने कवि भन्छन्–

“उम्रभर गालिव यही भूल करता रहा,

धूल चेहरे पे थी और आयना साफ करता रहा”

बडो मार्मिक र मननयोग्य छ गालिवको अभिव्यक्ति। बाल बालिकाले पनि बुझ्ने सरल र भाव र अर्थ भने समुद्र झैँ गहिरो। फोहोर ऐनामा होइन, अनुहारमा छ।  ऐना सफा गरेर,  ऐना फेरेर के गर्नु?  सफा त हाम्रो अनुहारलाई गर्नु पर्यो। ऐनामा त अनुहारको आकृति देखिने हो। संविधान कुनै पनि असफल छैनन्। असफल छौं हामी। हाम्रा शासक असफल छन। २००७ सालदेखि यही दोहोरिएको छ। गल्तिको पुनरावृत्ति। स्वार्थी राजनीतिज्ञको गलत कर्म र अकर्मको कोपभाजन संविधान हुँदै आएको छ। ऐना फेरेर के गर्नु,  अनुहार फेरिएन।

जननिर्वाचित भनिएको अहिलेको सरकारको कामकार्वाही हेर्दा र जनतामा बढ्दो निराशा,  असन्तुष्टि तथा आँफू पुनः ठगिने अनुभूति बढ्दै गएको परिप्रेक्षको लामो व्याख्या आवश्यक छैन। अव पनि यस्तै शासकीय तथा प्रशासकीय व्यवहार हुने हो भने यो संविधानको नियति पनि यसका पुर्खाको झैँ हुनेछ।

नाकाबन्दी र चीनसंग संबन्धका नया आयाम

२०७२ आश्विन ३ मा जारी भएको संविधानमा भारतको स्वार्थ राखिएन भनेर भारतीय सरकारले नेपाल माथि अमानवीय नाकाबन्दी लगायो। हुनत तराईका राजनीतिक शक्ति आन्दोलित गराइएका थिए। देखाईएको थियो,  नेपालकै असन्तुष्ट पक्षको कारण सीमा रोकिएको भनेर। तर, सबैले बुझेकै कुरा हो। नेपालीकै काँधमा बन्दुक राखेर हाम्रो राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतालाई प्रहारको लक्ष्य वनाएको कुरा।

नेपाली जनता विनाशकारी भूकम्पबाट त्यसै पनि पीडित र आहत थिए। भूकम्पमा राहत बाँड्ने,  सहयोग पुर्याउने नाउँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भरि आफ्ना जहाजले कब्जा गरेको भारतीय एकाधिकारवादी स्वार्थ नाकाबन्दीले उदाङगो बनाएको हो। हामीले निकै दुःख त पायौं, तर याहाँ फेरी “डढेर छोरो सप्रिएको” उखान चरितार्थ हुन आयो। नेपाली जनताले ठूलो धैर्यता देखाए। हस्पिटलमा आउने औषधि रोकिएको छ। भान्छामा चुलो बाल्ने ग्याँस रोकिएको छ। मोटरमा राख्ने पेट्रोल डिजेल रोकिएको छ। तथापि नेपाली जनताले घुँडा टेकेनन्।

यो दुःख मा सहायता गर्न उत्तरको मित्र देश चीनले हात बढायो। सीमित परिमाणमा भए पनि चीनको अनुदान पेट्रोल रसुवा मार्गबाट काठमाण्डौं आयो। नेपालको सरकारले पनि एउटा साहस प्रदर्शन गर्यो – नेपाल चीन वाणिज्य तथा पारवहन सन्धि गर्ने,  बेल्ट एण्ड रोड इनिसियटिभ अन्तरगत केरुङ– काठमाण्डौं, केरुङ – पोखरा – लुम्विनी ट्रान्सहिमालयन रेलवे मार्ग बनाउने प्रारम्भिक समझदारी भयो। नेपाली जनताको धैर्यता,  साहस र अर्को छिमेकीको सहयोगले भारतीय नाकाबन्दी निरस्त भयो। र एकतर्फी नाकाबन्दी फिर्ता लिन बाध्य पनि।

नेपाल चीन सम्वन्धमा मात्र होइन र छिमेक नीतिको कुरा मात्र पनि होइन नेपालको विदेश नीति र सम्बन्धको समीक्षा हुँदा नाकाबन्दी र त्यसले उत्पन्न गरेको नेपाल चीन सम्बन्धको यो नयां आयाम एउटा महत्वपूर्ण विश्लेषणको विषय हुनेछ।

उक्त उपलब्धिलाई संस्थागत गर्ने औपचारिक सहमतिमा हस्ताक्षर भई कार्यान्वयनमा ल्याउने विषय आफैमा महत्वपूर्ण कुरा। यही अप्रि २५, २६ मा आयोजित बेल्ट एण्ड रोड इनिसियटिभको दोस्रो अन्र्तराष्ट्रिय सम्मेलनको समापन पछि यस्तो सम्झौता हुने कुराले थप महत्व राख्छ। राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमणले यस मानेमा पनि सवैको ध्यान आकर्षण गरेको छ।

यद्यपि हाम्रो उत्तरी भूभाग केही कष्टकर र संवेदनशील पनि छ। आधुनिक यातायातको लागि गोर्खा भूकम्पले क्षति पुर्याएको तातोपानी नाका अझै खुलेको छैन। लिच्छवीकाल,  मल्लकालदेखि चलेको नेपाल – चीन व्यापार – पारवहन अहिले चल्न नसक्ने होइन भन्दैमा यथार्थतालाई बिर्सन मिल्दैन मानिसको पिठ्युँमा बोकेर,  भेडा, खच्चड, घोडामा बोकाएर अहिलेको आवश्यकता पूर्ति हुने पनि होइन। त्यसैले खोलिनु पर्छ – धेरै नाका। बनाईनुपर्छ मोटरबाटा र ट्रान्स हिमालयन रेल मार्ग। त्यसैले नेपाल – चीन जोड्न बहु आयामिक कनेक्टिभिटि आजको आवश्यकता हो।

नेपाल कुनै सैनिक सामरिक गठबन्धनमा संलग्न रहँदैन भन्ने कुरा हाम्रो घोषित नीति हो र यस नीतिमा राष्ट्रिय सहमति नै छ। नेपाल – चीन संबन्ध न भारतसंगको सम्बन्धका मूल्यमा हो न त अमेरिकासंगको संबन्धलाई नै हामीले कम आँकेको ठहर्छ। नेपाल – चीन सम्बन्धको यो नयाँ आयाम नयाँ युगको माग हो र नेपालको राष्ट्रिय आवश्यकता हो। यसमा अन्य मित्रहरुलाई हामीले विश्वस्त पार्न सक्नुपर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width