नेपाल सिक्किमीकरणको खतरा !

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०६९

यो दुखको कुरा हो कि नेपाल जन्मदैमा भूपरिवेष्ठित् देश भएर जन्म लियो। यसको आसपासमा कुनै न कुनै एक समुन्द्रमात्र पनि भएको भए आज नेपालको यस्तो विजोकको अवस्था हुने थिएन। नेपालले अर्को देसको सामु सधँै निर्लज्ज भएर घोडा टेक्नुपर्ने थिएन। त्यसैले आज विश्व खुला परिवेशमा हामी अझैपनि खुला एवं स्वतन्त्र नभएको आभास पाइरहेका छौ। हामी बन्द भएका छौं। त्यो पनि आफ्नो हिसाबले नभइ अर्कैको हिसाबले। हाम्रो मानसिकता लुटिएको छ, हाम्रो शारीरिक अवस्थालाई खुम्च्याइएको छ। वर्तमानको भूमण्डलीकरणको अवस्थालाई उनीहरूको स्वार्थअनुसार  एकदम कस्सिएका दुर्इ मुठीभित्रको दबाबमा राखिएको छ। यसले ग्रहण गर्नुपर्ने मुठी यति बलियोसँंग अठ्ठाइएको छ कि यसको फुक्ने सम्भावना कुनै हिसाबले पनि आकलन गर्न कठिन छ।

यो कुरा सोह्रैआना सत्य हो कि नेपाल विगतमा एउटा छुट्टै अस्तित्व बोकेर विश्वमाझ उभिएको देश थियो। यस्को आफ्नै नीति, अस्तित्व, लक्ष्य र कार्यदिशा थियो। उसले लिएको कार्यदिशा वा स्पष्ट नीतिले आमजनताको मनमा कतै न कतै छुन पुगेको अवस्था थियो। आम जनताले हाम्रो सरकार, हाम्रो राम्रो देश भनेर गर्व गर्ने प्रशस्त ठाउँ थियो। विकासको गति केही ढिला भए तापनि अमनचयन सुख, शान्ति र आपसआपसमा भाईचाराको बीचमा न्यानो र गहिरो व्यवहार थियो। मानिसले आफूले दुख गरेर कमाएको सम्पत्तिलाई आफ्नै स्वतन्त्र ढ·ले परिचालन गर्न र गराउनमा कुनै प्रकारको बाधा व्यवधान थिएन। मानिसहरू आफ्नै संस्कार, सँस्कृति र अपनत्वमा रमाइरहेका थिए।

जबजब नेपाल अस्तित्वहीन अस्तित्व भएका नेताहरूको हातमा कुनै न कुनै प्रकारले सत्ता पुग्यो, त्यहाँबाट नेपालको उल्टो  गन्तीको दिनको सुरुवात भयो। राष्ट्रभक्ति, देशभक्ति र आमनेपाली जनतालाई वास्तविकरूपमा माया गर्ने एउटा पनि नेताले काम गर्ने वा शासन चलाउने अवस्थाको सिर्जना हुन सकेन। सानो मानिसको सानै दिमाग भनेजस्तो सानो परिवेशमा हुर्किएका हाम्रा नेताहरूको परिवेश कहिल्यै पनि फराकिलो र दूरदर्शिपनाले हराभरा भएको देख्न पाइएन। केवल एकपक्ष र आसेपासेका मात्र सपना साकारर्गर्ने हाम्रा नेपाली तुच्छ सोचका कहालीलाग्दा विचारले अभ्रि्रेरित भएर सत्तामा पुगेका कठपुतली नेताहरूको फोहोरी खेलमा हामी नाचिँदै, भुलिँदै, ललिपको गुलियोमा माखा भन्किएको कुँडामा हामीलाई चुर्लुम्म डुबाउँदै पाखा राख्दै अनि डुबाउँदै पाखा राख्दै गरे। हामीलाई यो नारकीय खाल्डोको दिसाको गन्ध सुँघ्न बाध्य बनाइयो र बनाइरहेकै छन्। राष्ट्रप्रतिको मायामा ताला लागेका उनीहरूका मनहरूले रावणले सीतालाई हरण गरेर लगझंै हरण भएको देखे पनि नदेखेजस्तो गर्न थालेको हालको अवस्था छ। कुर्ची नै सबै थोक हो र हाम्रो लक्ष्य पनि यसबाट पूरा हुन्छ भन्ने पतित एवं अभीष्ट सोचका खानी हाम्रा आदरणीय नेताहरूको चाहना आखिर देशलाई कहाँ पुर्‍याउनु होला त ?

विगतका न वर्तमान जतिबेलाका नेताहरूमा पनि राष्ट्रप्रतिको अगाध मायालाई लत्याएर यो आफू जन्मेको मातृभूमिको थोर बहुत भूभाग होस् वा नदीनालाहरू हुन् जनतालाई गुमराहमा पारेर छिमेकीलाई सुटुक्क सुम्पन्ने जस्तो घटिया प्रवृत्ति यस देशले प्रजातन्त्र प्राप्त गर्दादेखि  अर्थात् शिशुअवस्थादेखि नै सुरु भएको हो। त्यसपछिका सत्ता सम्हालेका प्रधानमन्त्री चाहे ती नेपाली काङ्ग्रेसका हुन् वा एमाले वा माओवादी  सबैले आ-आफ्नो खुवी र गच्छेअनुसार नेपालको केही न केही भूभाग वा नदीनालाहरू भारतलाई लाँदै दिंदै गर्ने प्रतिस्पर्धा नै चलाएका छन्।

जनतालाई ठूलो ढाडस थियो। माओवादीको सत्ता नेपालमा आएपछि, राष्ट्रियता के हो र आमनेपाली जनताले राष्ट्रलाई कति हद्सम्म माया गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनेछन्। अरु जस्तो चानचुने र लरवरे तरिकाले माओवादी सत्तामा होमिएको पनि होइन। करिब १५ हजार जनताको रगतको होली खेलेर सत्ताको सिँहासनमा उक्लेको माओवादीले विगतमका दिनमा अन्य लुरे, छेरुवा एवं काँतर सरकारहरूले गुमाएको नेपालको भौतिक अस्तित्वलाई जसरी भए पनि फिर्ता गराइछाड्ने छ। त्यतिमात्र होइन अरु नेतालाई सरकार चलाउने उपाय समेत सिकाइदिने छ-भन्ने जुन आस र विश्वास आम जनताका भित्री हृदयमा थियो, ती सबै एकाएक बकवास वा मिथ्यामा परिणत भए। माओवादीका प्रचण्डले सेनाको विरासतको छविलाई लात्ताले पड्काउन खोज्दा आफै विचरा भड्खालोमा हुत्तिए। त्यसपछिका माओवादीका प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि देशलाई भड्खालोमा पार्दै, जोगाउँदै, भड्खालेमा पार्दै जोगाउँदै  गर्दै आइरहेका छन्। भारतसँग यिनको कति नजिकको मायापिरती बसेको रहेछ भन्ने कुरा समय समयमा उनीबाट हुने भारतपरस्त सम्झौता वा अन्य राष्ट्रघाती निर्णयहरूबाट छनक प्राप्त गर्न सकिन्छ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भरखरै हेटौंडामा सम्पन्न सातौं माहाधिवेशनमा आफ्नो नेता एवं कार्यकर्ताको बीच लगेको प्रस्तावमा भारत र नेपालको सीमासम्बन्धी विवादलाई  जनमत सङ्ग्रहबाट टुङ्गयाउन सकिने प्रस्ताव लानुले उनी को रहेछन् भन्ने कुरा र्छल· भएको छ। उनले ल्याएको अतिखतरनाक, डरलाग्दो साथै सनसनीपूर्ण प्रस्तावका बारेमा माओवादीका नेता देव गुरुङले तत्कालै प्रतिकार गरेको कुरा राष्ट्रिय दैनिक कान्तिपुरले यसरी प्रकाशित गरेको थियो – लेन्डुप दोर्र्जी जन्माउने तयारी शीर्षकमा काठमाडौं (कास) नेकपा माओवादीका महासचिव रामबहादुर थापाले एमाओवादीको हेटौंडामा जारी महाधिवेशनले लेन्डुप दोर्र्जी जन्माउने तयारी गरिरहेको आरोप लगाएका छन्। पार्टीकार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले क्रान्तिका नाममा धोका दिनेहरू लेन्डुप दोर्र्जी भइरहेको बताएका हुन् । यो प्रचण्डको प्रस्तावलाई राष्ट्रिय अस्मितामाथिको ठाडो हस्तक्षेप भारतबाट हुने कुरालाई महाधिवेशनका सहभागीले बुझि प्रस्ताव पारित हुन दिएनन्। यो घटनापछि त्यस पार्टीभत्र रहेका आम सचेत र राष्ट्रप्रेमी नागरिकहरूले प्रचण्ड महोदयको छविको बारेमा शड्ढाको दृष्टिले हेर्न थालेको सहजै अनुमान गर्न सकिन्छ।

आखिर ‘प्रचण्डलाई ल्यान्डुप दोर्र्जी’ भन्ने विपक्षिको  आरोप के हो त ? के यो आरोपमात्रै हो कि यसको वास्तविक अर्थ  छ ? यस सम्बन्धमा म यसलाई यसरी जोड्न चाहन्छु।

सन् १९७५, १६ मई भन्दा पहिला सिक्किम एउटा सार्वभौम राज्य थियो। त्यहाँ थोन्डुप नामयाल चोग्याल नाम गरेका राजाले राज्य चलाएका थिए। जब भारत सन् १९४७, १५ अगस्टमा बृटिसको अधिपत्यबाट स्वतन्त्र भयो तत्पश्चात सिक्किमका जनतामा पनि एक प्रकारको स्वतन्त्रताको चाहना भयो। आन्दोलन भयो। नयाँ दल एवं पार्टीहरूको उदय भयो। दलहरूका आ आफ्नै चाहना र स्थार्थ हुनु स्वाभाविकै पनि थियो। दलहरूको किचलोबाट वाक्क भएर राजाले संवैधानिक राजा भएर बस्न चाहे। विविध कठिनाइ हुँदाहुँदै पनि विधानसभाको निर्वाचन गराउन तयार भए। भारत सरकारले ५० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा कसरी जिताउने भन्नेतिर लाग्यो। त्यो ३२ सिटका लागि भएको निर्वाचनमा राष्ट्रवादी भनिएको पार्टीले जम्मा १ स्थानमा विजय प्राप्त गर्‍यो भने ३१ स्थानमा लेन्डुप दोर्र्जीको सिक्किम नेशनल कङ्ग्रेस पोलिटिकल पार्टीले  विजय प्राप्त गर्‍यो। त्यसपछि उनी सिक्किमको मुख्यमन्त्री बने। सन् १९७५ मा सिक्किमलाई स्वतन्त्र राज्यको रूपमा राख्ने कि भारतमा विलय गराउने भन्ने विषयमा जनमत सङ्ग्रह गराउने निर्णय भयो। सोही अनुरूप जनमत सङ्ग्रह पनि भयो। तर जनमत सङ्ग्रहमा त्यसको वास्तविक परिणामलाई बन्दुक र बुटमुनि राख्दै ७५ प्रतिशत सिक्किमेलीले  आफ्नो मातृभूमिलाई  भारतमा गाभ्न चाहेको कपोकल्पित, बकवास फर्जिमतको अभीष्ट नाटक मञ्चन गरी उसैले निर्धारण गरिदिएको  आत्मघाती, अवास्तविक निर्णयलाई वास्तविक निर्णयमा प्रमाणित गराउन सफल भए। र भारतले सिक्किमलाई यसरी खेलाई खेलाई समुन्द्रमा हुने मत्स्य आहाराको स्वरूपमा निलिछाड्यो।

त्यसैको अर्को डरलाग्दो कडिको काहालीलाग्दो स्वरूप हो, प्रचण्ड महोदयले नेतृत्व गरेको  गौरवशाली पार्टीको हालसालै हेटौंडामा भएको सातौं महाधिवेशनको खतरनाक कोसेली आम नेपाली जनतालाई। त्यो कोसेली भनेको त्यही भारतीय नेताहरूले खेल्ने गरेको आफ्ना छिमेकीहरूसँगको घिनौन पुनरावृत्ति। जसरी अन्तर्राष्ट्रिय जगतलाई धुलो चटाएर भारतका चतुर नेताहरूले सुन्दर, शान्त र संस्कृति र जैविक विविधताले टिलपिल टिलपिल भएको सिक्किमलाई सजिलै हत्याउन सफल भए, त्यही सुमार्गलाई अङ्गीकार गर्दै पिच गर्ने सिलसिलामा  योजना बनाइरहनुभएको छ हाम्रो गौरवशाली पार्टीका होनाहार महोदय प्रचण्ड। जनमतको फर्जी प्रमाणलाई प्रमाणित गराएर जसरी भारतका बाबु र छोरी प्रधानमन्त्रीहरूले विश्वलाई कानो बनाइदिए। त्यस्तै पाराले नेपालको पनि हविगत गराउनमा उद्यत रहेछन् हाम्रा चर्चित राष्ट्रवादी नेता प्रचण्ड।

प्रत्येक मानिसको मन मस्तिष्कमा केही न केही कुरा सुषुप्त अवस्थामा रहेका हुन्छन्। चाहे त्यो व्यक्तिगत होस् वा सार्वजनिक। त्यस्ता सुषुप्त अवस्थामा रहेका कुरालाई मानिसहरूले खासखास बेलामा ओकल्ने गर्दछन्। कसैको बानी हुन्छ मादक पदार्थ सेवन गरेपछि आफ्नो पारिवारिकदेखि व्यक्तिगत कुरालाई ओकल्ने। कसैको बानी हुन्छ, आफ्नो मन मिल्ने साथीलाई आफ्ना मनमा रहेका कुराहरूको बेलिविस्तार गरी मनलाई हल्का बनाउने। कसैको बानी हुन्छ सभासमारोह वा मानिसको जमातमा आफ्नो अन्तस्करणमा रहेका गुहृय कुराहरू आम सहभागीका माझ सुनाउने। जसले जसरी सुनाए नि यो भनेको उनीहरूको वास्तविक भित्री मनको सबैभन्दा प्रवल, दृढ, अटल एवं भीष्म प्रतिज्ञा नै हो। त्यही प्रतिज्ञाको एउटा अनर्थ, गधापच्चिसी व्यवहार हो हाम्रो महसुर नेताको। यस प्रकारको जथाभावी बोल्ने नेताहरूका पछाडि लागेर हिँड्ने आम सामान्य हामी नागरिक वा शुभचिन्तक जतिपनि छौं, एकपटक हामी कस्तो प्रकारको लेण्डुपको पछाडि लागेर हिँडिए छ भनेर छातीमा हात राखेर सोचौं।

हाम्रो एक मिनेटको पवित्र सोचाइले हामीलाई राम्रो र स्तरीय मार्गमा सद्बुद्धिका साथ हिँड्नमा अवश्य पनि सहयोग गर्दछ। कसैको पछि लाग्नु भनेको हिँड्न नसक्ने मानिसहले सुकेको लठ्ठीको सहारा लिए जस्तै हो। यदि हामीहरू कुनै पार्टीका मानिसहरूलाई राम्ररी नपढिकन तिनीहरूको पछाडि लाग्यौं भने हामी कुन धरातलमा पुगिन्छ राम्ररी सोच्नुपर्दछ। हामी कुन बाटोमा हिँड्नुहुन्छ भन्ने कुरा हामी आफैले विवेकपूर्ण तरिकाले सोच्न राम्रो हुन्छ। तपाईँलाई पार्टीनभइ हुँदैन। पार्टीबना तपाईँको अस्तित्व नै समाप्त हुन्छ भन्ने गलत सोचाइमा हुनुहुन्छ भने, ठीकै छ पार्टीको वास्तविक धरातल बुझेर हाम फाल्नुस्। हामीले यो कुरा पनि बुझ्नु जरूरी छ कि पार्टीनै खाने भाँडो अवश्य होइन। पार्टीकाई खाने भाँडो बनाएकाहरू अवश्य नै ढिलो वा चाँडो जनताको कठघरामा उभिन बाध्य हुनैपर्दछ। चाहे त्यसले समयलाई जतिसुकै तागत लगाएर थमथम्याउने प्रयास गरोस्। पार्टीकाट भाग खोज्नेको दिनहरू अवश्य अल्पकालीन हुन्छन् भने पार्टीकाई दिल खोलेर सहयोग गर्ने वा यसको मलजल गराउनमा सदासर्वदा लागिरहनेको सधैँ जयजयकार हुन्छ।  पार्टीकाट जतिसक्यो लाभ लिनेवालाहरू छिटोभन्दा छिटो मोटाउँदछन् र केही समयपश्चात् उनीहरूको त्यो मोटाइको पर्दाफास पनि हुन्छ। मानिस लामो समय बँाच्नको लागि आफ्नो बाटोको निर्माण आफैले गर्नुपर्दछ। अरुले निर्माण गरेको बाटोमा बाँचेका मानिसहरू कहिल्यै पनि लामो समय बँाच्दैनन्। विदेशीको नियतीलाई नचिनेर आफ्नो नियती ठान्ने, विदेशीको घरआँगनमा हुर्किएर नुनको सोझो गर्ने जो कोहीलाई पनि हामीले चिन्न सक्नुपर्दछ। राजनीतिमा लागेर आफै उभिएको धरतीको खुलेयाम बलत्कार हुन्छ भने सबै नेपालीको मनहरू भाँचिनेछन्। अतः राजनीतिलाई हामीले खाने भाँडोको रूपमा मात्र लियौ भने यसले दुष्कर्म बनाउन सिकाउँछ। त्यसैले त एक दार्शनिकले भनेका थिए राजनीति भनेको सम्पूर्ण दुष्कर्मीहरूको शरणस्थल हो। मौका मिल्नासाथ दुष्कर्मको आभास मञ्चन गर्ने नरसंहारकारी, स्वदेशको खोलमात्र ओढेका मोटामोटा ब्वाँसाहरूको उत्ताउलोपनाको डटेर प्रतिवाद गरौं जसले गर्दा सिक्किमीकरणको खतरालाई बलियो चुनौतीले वशीभूत गरोस्।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width