नेपाली साहित्यमा मोतीराम भट्टको योगदान

डा. पशुपति नाथ तिमल्सेना
भाद्र २५, २०८०
१. विषय प्रवेश
नेपाली साहित्यको विकासमा युवाकवि मोतीराम भट्ट (१९२३–१९५३) को योगदान अद्वितीय रूपमा रहेको छ भन्ने कुरा नेपाली समाजलाई स्पष्ट नै छ । वि. सं. १९२३ भाद्र महिनाको २५ गते कुसेऔंसीका दिनमा जन्मेका मोतीराम भट्टको मृत्यु उनी ३० वर्षको उमेर पुगेर ३१ वर्ष लागेकै दिन अर्थात् १९५३ साल भाद्र महिनाको कुसेऔंसीका दिन भएको थियो । भट्टले लामो आयु नपाए पनि आफू बाँचेका ३० वर्षमा अनेकौं महत्त्वपूर्ण कार्यहरू गरेर नेपाली साहित्य/समाज माझ छाडेर गएका छन् । मोतीराम भट्टले नेपाली भाषाको उत्थान, नेपाली पत्रकारिताको सुरुआत गर्नुका साथै नेपाली साहित्यका विविध विधाहरूलाई नयाँ मोड दिदै एउट युग नै परिवर्तन गरिदिएका छन् । नेपाली साहित्यमा कविता र गद्यआख्यानले विस्तार विस्तार पाइला सार्दै रोकिदै गरेको समयमा अथवा मौलिक गद्यात्मक कृतिहरूको अभाव भएको समयमा मोतीराम भट्टले अमर युग–चिराग प्रज्ज्वलित पार्दै साहित्यिक यात्राका लागि एउटा मूल गोरेटो नै खनिदिएका थिए । उनले आफैले तयार पारेको त्यही अमर–युग चिरागको प्रकाशमा या नेपाली साहित्यको मिर्मिरे–गोरेटोमा आफ्ना सहवर्ती सहयोगीहरूलाई पनि दौडाए । त्यसैले नेपाली साहित्यका क्षेत्रमा उनको योगदान हरेक कोणबाट अमर बन्न पुगेको छ, प्रशंसा योग्य गर्न लायक बनेको छ ।
मोतीराम भट्टले नेपाली भाषा, साहित्य एवं प्रकाशनका क्षेत्रमा जे जति कार्यहरू गरे प्राय: ती सबैजसोमा आफ्ना सहवर्ती साथीहरूलाई पनि उत्प्रेरित गर्दै सहयात्रामा सहभागी गराएरै अगाडि बढेका थिए । उनले साहित्यिक मण्डली खोले, समस्यापूर्तिको क्रम चलाए, जसले गर्दा सामूहिक रूपमा नेपाली साहित्यका विकास हुन थाल्यो । मोतीराम भट्टका यिनै कार्य र प्रयत्नहरूबाट नै सङ्ख्यात्मक एवं गुणात्मक स्थितिबाट पनि नेपाली साहित्यको अभिवृद्धि हुन थालेको हो भन्न सकिन्छ । सािहत्य सिर्जनाका बहुमुखी प्रतिभा युवा युगकवि मोतीराम भट्टले नेपाली साहित्यका गद्य र पद्य विधालाई दुइटै काँधमा बोकेर हिड्ने काम मात्र गरेनन् अपितु कहिले अन्वेषक भएर अग्रज साहित्यकारका कृति खोजेर पाठक समक्ष राखिदिए, कहिले पत्रिका प्रकाशन गरी नेपाली प्रेस जगत्को ऐतिहासिक ढोका पनि खोलिदिए । यति मात्र नभएर प्रेस उद्योगको स्थापना गरेर नेपाल भित्रै मुद्रण प्रकाशनको युगको विकास पनि गरे । नेपाली साहित्यका सन्दर्भमा विशेष गरेर पद्य विधामा मोतीराम भट्टको विशिष्ट योगदान देखा पर्दछ भने गद्य साहित्य एवं गद्येतर अन्य (सायरी, चिठीचपेटा, टिप्पणी आदि) साहित्यिक लेखनको विकासमा पनि उनको योगदान समरेखातुल्य नै अगाडि बढेको देखिन्छ । मोतीराम भट्टको योगदानको मूल्याङ्कन गर्दा कुनै एक पक्षबाट मात्र नगरी विविध पक्षबाट गर्नुपर्ने हुन्छ तापनि प्रस्तुत छलफल पत्रमा युवाकवि मोतीराम भट्टले नेपाली भाषा र नेपाली गद्य–पद्य साहित्य र प्रेस–प्रकाशनको विकासमा पुर्‍याएको योगदानलाई मात्र छलफलको केन्द्रीय पाटो बनाइएको छ ।
२. नेपाली गद्य–पद्य साहित्य र मोतीराम
मोतीराम भट्टको आगमनपछि नै नेपाली साहित्यमा माध्यमिक काल सुरु हुन्छ । मोतीराम भट्टले नेपाली पद्यसाहित्यमा श्रृङ्गारिक भावधाराका कविता, गीत, गजल आदि लेखेर माध्यमिक कालको सोपान खोलिदिएका हुन् । यसै गरी उनले नाटक, जीवनी, समालोचना, पत्रकारिता आदिका क्षेत्रमा पनि एकपछि अर्को नवीनतम प्रयोग गरेर नेपाली साहित्यको विशाल क्षितिज उघार्ने काम गरेका थिए । नेपाली साहित्यको सर्वपक्षीय विकासमा मोतीराम भट्टले गरेका यिनै योगदानहरूको सामान्य चर्चा आउँदा उपशीर्षकहरूमा गरिने छ ।
२.१. नेपाली पद्य साहित्यको विकासमा मोतीराम
नेपाली भाषा लिखित रूपमा आउन थालेको करिब ८०० वर्ष जति भए पनि यस भाषाको साहित्यिक इतिहास पुग नपुग ३०० वर्षकै सेरोफेरोमा नै छ । पृथ्वीनारयाण शाहको शासन कालकै समयमा नेपाली भाषाले साहित्यिक क्षेत्रमा प्रवेश गरेको हो । वि.सं. १८२५ को आसपासतिर सिर्जना गरिएको राजभक्ति भावको ‘पृथ्वीनारायण शाह’ कवितालाई प्रथम नेपाली कविता मान्ने गरिन्छ र यस कविताका रचयिता सुवानन्द दास नै नेपाली साहित्यको पहिलो कविको रूपमा देखा पर्दछन् । नेपाली साहित्यको प्राथमिक कालखण्डको पहिलो चरण अर्थात् सुवानन्द दासदेखि सुगौलीको सन्धि (१८७३) पूर्वको अवस्थाका कविताहरूमा वीर रसको प्रधानता थियो । विशेष गरी यो कालखण्ड नेपाल राज्यको विस्तार या एकीकरणको वृहत् अभियानको समय थियो र योद्धा या सामाजिक जीवमा वीर भावना जगाउनु पर्ने भएको हुनाले पनि कविहरूले सोहीअनुरूपका कविताहरू लेखेका थिए । वि. सं. १८७३ को सुगौलीको सन्धिको कारणले मानसिक आघात परेका नेपाली योद्धाहरूले वीरहरूको गाथा गाउनु आवश्यक देखिएन । त्यसैकारण कवि कलाकारहरूले पनि वीर रसका कविताहरू लेख्न छाडेर भक्तिवादी भावनाका कविता लेख्न थाले । यहीक्रममा भानुभक्त आचार्य, वसन्त पाध्याय, रघुनाथ पोखरेल, यदुनाथ पोखरेललगायतका कविहरू देखा पर्न थाले जसले राम र कृष्णका चरित्रलाई नेपालीमा अनुवाद गरी भक्तिभावनाको प्रचार गर्न थाले । नेपाली साहित्यका क्षेत्रमा मोतीराम भट्टको आगमन नहुँदासम्म यस्तै प्रकारका कविता लेखनले नै निरन्तरता पायो । विशेष गरी वि.सं. १९३८ तिरबाटै नेपाली साहित्यको प्राथमिक कालीन नेपाली कविता–धाराले वीर र भक्तिधारालाई छाड्दै नयाँ मोड लिन पुग्दछ । नेपाली साहित्यमा देखा परेको यो नयाँ मोड भनेको श्रृङ्गारिक धारा हो र यो श्रृङ्गारिक धारा ल्याउन युवाकवि मोतीराम भट्टको विशेष योगदान रहेको छ । नेपाली पद्य साहित्यका परिप्रेक्षबाट हेर्ने हो भने निम्नलिखित पक्षहरूबाट मोतीराम भट्टको योगदानलाई छलफलको विषय बनाउन सकिन्छ ।
२.१.१. नेपाली कवितामा श्रृङ्गारिक धाराको प्रयोग र मोतीराम
माथि नै भनिसकियो वीरधाराबाट भक्तिधारा हुँदै आएको नेपाली कवितालाई मोतीराम भट्टले श्रृङ्गारिक धारामा परिणत गरिदिए । हिन्दी, उर्दू, फारसी, अंग्रेजी आदि भाषा साहित्यको अध्ययन गरेका कवि मोतीरामले समयानुकूल परिस्थितिको फाइदा लिंदै नेपाली कवितालाई भक्तिधाराबाट अलग्याएर श्रृङ्गारिक धारामा ल्याउने कार्य गरे । विशेषत: त्यस बेलाको राजनैतिक शासन व्यवस्थाले पनि सो कार्य गर्न मोतीरामलाई मद्दत पुर्‍याएको छ । विलासिता प्रिय राणाशासकहरू आफ्नो दरबारमा विदेशी ओस्ताजहरूलाई निम्त्याएर श्रृङ्गारिक गजलहरू सुन्ने गर्थे । यस समयमा भक्तिवादी साहित्यको कुनै मूल्य थिएन, जसले गर्दा नेपाली साहित्य फस्टाउनुको बदला शिथिल हुँदै मृत प्राय: अवस्थामा पुग्न लागेको थियो । सचेत साहित्य प्रेमी युवाकवि मोतीरामले नेपाली साहित्यलाई बचाउन राणा शासकहरूको मनोभावनानुकूल हुनेगरी नेपाली भाषामा श्रृङ्गारिक गजलहरू लेखिदिए । उनले चलाएको यही श्रृङ्गारिक मूलधारामा शम्भुप्रसाद, लक्ष्मीदत्त, राजीवलोचन, कृष्णप्रसाद, शिखरनाथ, सोमनाथ, लेखनाथजस्ता समवर्ती/उत्तरवर्ती दर्जनौं कविहरू देखा परे । यिनै मोतीराम भट्ट र उनका सहयात्री कविहरूले चलाएको यही श्रृङ्गारिक मूलधाराले सिङ्गो माध्यमिक कालको नेतृत्व गरेको छ । यसैकारणले कतिपय समीक्षकहरू १९४०–१९७५ सम्मको युगलाई नेपाली साहित्यमा मोतीराम युग भन्ने पनि गर्दछन् । जे होस् नेपाली साहित्यको विकासक्रम लगभग दुर्घटना हुन लागेको समयमा मोतीराम भट्टले तत्कालीन राजनैतिक वातावरण अनुकूल श्रृङ्गारिक काव्यधाराको प्रयोग गरी नेपाली साहित्यलाई जीवन्त बनाउँदै नयाँ मोडमा पुर्‍याइदिए । नेपाली साहित्यमा यो नै उनको प्रथमोप्रथम योगदान हो भन्नुमा स्वाभाविकता नै देखिन्छ ।
राणा–शाह दरबारका रुचि तथा नेपाली भाषा–साहित्यको विकासप्रति मोतीराममा जागेको हुट्हुटीले नाटक लेख्ने/खेल्ने वातावरण बन्यो
२.१.२. कविमण्डलीको स्थापना, समस्यापूर्ति परम्परा र मोतीराम
 वि.सं. १९३८ तिर बनारसमा अध्ययन गर्दाका समयमा मोतीराम भट्टले नेपाली केही साथीहरूलाई जम्मा गराएर एउटा कविमण्डली खोलेका थिए । उक्त मण्डलीमा ८ जना कविहरू भएकोले यसको नाम ‘गफाष्टक’ राखिएको थियो । यस ‘गफाष्टक’ मण्डलीमा मोतीराम एउटा समस्या दिन्थे र सबै गफाडी (कवि) हरूले त्यो समस्यालाई मिलाएर पूर्ति गर्नु पर्दथ्यो जसले गर्दा कविताको अभ्यास हुन्थ्यो । गफाष्टक मण्डली खोल्नुले के अर्थ राख्दछ र समस्यापूर्तिको क्रम चलाउँदैमा के मोतीराम भट्टको विशेष योगदान वा विशेषता ठहरिन्छ त ? प्रश्न उठ्न सक्छ । अवश्य पनि समस्यापूर्ति गर्नु साहित्यिक अभ्यास गराउनु हो भने ‘गफाष्टक’ वा कविमण्डली खोल्नुको अर्थ हो सङ्गठनात्मक सचेततासहित साहित्यिक संस्थाको स्थापना या सूत्रपात गर्नु हो । आज नेपाली साहित्यका क्षेत्रमा विभिन्न साहित्यिक संस्थाहरू खुलेका छन् र नेपाली साहित्यको विकासमा अग्रसर भएका छन् । तत्कालीन वातावरण अनुरूप मोतीराम भट्टले नेतृत्व गरेको कविमण्डली पनि साहित्यिक संस्थाको पूर्वचेष्ठा नै हो भन्न सकिन्छ । त्यस्तै मोतीराम भट्टले चलाएको ‘समस्यापूर्ति’ परम्परा उनकै समयमा मात्र लोकप्रिय थिएन । यसले उत्तरवर्ती कविहरूमा पनि निकै गहिरो प्रभाव पारेको थियो । वर्तमान समयमा पनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान)मा प्रत्येक वर्ष एउटै शीर्षकभित्र केन्द्रित भएर सयौं कविहरूले कविता लेख्ने गर्दछन् । खास अर्थमा भन्ने हो भने यो कार्यक्रम त ‘समस्यापूर्ति’ परम्पराकै निरन्तरता हो भन्न सकिन्छ । यसरी अहिलेसम्म पनि परम्परित रूपमा चल्दै आएको ‘समस्यापूर्ति’ गर्ने कार्यक्रम आफ्नो साहित्यिक यात्राको सुरुमै चलाएर नेपाली कविता विधालाई विकसित पार्दै साहित्यिक यात्रामा अगाडि बढेका मोतीराम भट्टको साहित्यिक देन वा चिन्तन कति दूरदर्शितापूर्ण रहेछ भन्ने कुरा साहित्यका पारखी पाठकहरूले स्वत: अनुमान लगाउन सक्ने कुरा हो ।
२.१.३. नेपाली साहत्यिमा दूतकाव्य परम्परा र मोतीराम
नेपाली साहत्यिमा दूतकाव्यको लेखन परम्परा मोतीराम भट्टबाटै सुरु भएको हो । संस्कृत साहित्यमा दूतकाव्य लेखन परम्परा पहिलादेखि नै भएको थियो र उतिबेला नै यस काव्य परम्पराले निकै व्यापकता पनि पाएको थियो । मेघदूत लेखेर महाकवि कालीदासले संस्कृत साहित्यमा दूतकाव्य लेखनको परम्परा नै चलाएका थिए । त्यसपछि अरू कविहरूले पनि यही परम्पराको अनुशरण गरेर अनेकौं सङ्ख्याका दूतकाव्यहरू लेखे, फलत: हँसदूत, भ्रमरदूत लगायत थुप्रै दूतकाव्यहरूको जन्म भयो । पिकदूत लेखेर मोतीराम भट्टले वि.सं. १९४७ तिरबाटै नेपाली साहित्यमा दूतकाव्य लेख्ने क्रमपरम्परा सुरु गरे । हुन त यिनले लेखेको पिकदूत सर्वथा मौलिक नभएर १७ औं शताब्दीका संस्कृतका विद्वान् अम्बिका चरणले लेखेको ‘पिकदूत’ काव्यकै प्रतिरूप भएको मान्ने पनि गरिन्छ तापनि यी दुई पिकदूत काव्यहरूको तुलनात्मक रूपमा अध्ययन गरी निष्कर्ष भने निकालिएको छैन । चाहे मौलिक होस्, चाहे अनुदित नै किन नहोस् मोतीरामको पिकदूत काव्यले नेपाली परिवेशलाई समेटेको छ र यसले नेपाली कविता विधामा नयाँ आयाम सुरु गरेको छ ।
२.२. नेपाली गद्य साहित्यको विकासमा मोतीराम
साहित्य सिर्जनमा बहुआयामिक प्रतिभाका धनी मोतीराम भट्टले नेपाली पद्य साहित्यमा नयाँ आयाम थपेजस्तै गद्य साहित्यमा पनि नयाँ नयाँ पक्षहरूको खोज प्रयोग गरी नेपाली साहित्यमा विशिष्ट योगदान दिएका छन् । यिनले नेपाली गद्य साहित्यका क्षेत्रमा गद्य विधाका प्राय: सबै पक्षमा उल्लेखनीय कार्य गरेका छन् । उनका ती विशष्टतम केही कार्यहरूलाई यहाँ छुट्टाछुट्टै तर सङ्क्षिप्त रूपमा देखाउने चेष्टा गरिएको छ ।
२.२.१. नेपाली नाट्यपरम्परा र मोतीराम
नेपाली साहित्यको प्राथमिक कालमा नाटकहरू प्राय: लेखिंदै लेखिएनन् भने पनि हुन्छ । वि.सं. १७५५ को ‘हास्य कदम्बक’ र वि.सं. १८७० तिरको ‘मुद्राराक्षस’ जस्ता संस्कृत नाटकहरूको नेपालीमा अनुवाद गर्नुबाहेक यस कालमा नाटकका लागि खास केही कार्य भएन । संस्कृत नाटकको अनुवाद गरिएको भए पनि अनुदित यी दुई नाट्यकृतिहरू केवल आख्यानका रूपमा आएका थिए ।  मोतीराम भट्टको आगमनपछि नै नेपाली साहित्यमा नेपाली नाट्य लेखन थालनी र विकासको भएको देखिन्छ । तत्कालीन समयमा श्रृङ्गारिक विलासी जीवनशैली बिताउन रुचाउने सामन्ती राणा शासकहरूले विदेशी उस्तादहरूलाई झिकाएर आआफ्ना दरबारमा उर्दू फारसीका थिएटरी ड्रामाहरू देखाउनेक्रम व्यापक रूपमा चलेको थियो । विदेशी मुलुकका नाचगान, गजल तथा थिएटरी ड्रामाहरूको व्यापक चलन र बोलवाला रहेको तत्कालीन समयमा शासक मनोविज्ञान बुझेका मोतीराम भट्टले नेपाली साहित्यमा आएर कलम चलाउन थालेका हुन् । वि. सं. १९४४ मा मोतीराम भट्टले ‘अभिज्ञान शाकुन्तल’को नेपालीमा अनुवाद गर्न पुग्दछन् र नेपाली नाट्य लेखन परम्पराको सूत्रपात गर्न पुग्छन् । बनारसी बाबु हरिश्चन्द्रको सम्पर्कमा रहेका मोतीरामले हरिश्चन्द्रकै अनुसरण गर्दै नेपालमा उर्दू फारसी मूलका थिएटरी ड्रामाको बोलवाला रहेको अवस्थामा तत्कालीन वातावरण अनुकूल नेपाली भाषामा नाटक लेख्ने कार्य गरे । संस्कृत नाट्यपरम्परा एवं उर्दू–हिन्दीका इस्क रोमाञ्चक नाटकको बाहुल्यता भएकै समयमा मोतीरामको शाकुन्तल नाटकको अभिनय हुनु पनि नेपाली नाट्य जगत्मा एउटा क्रान्तिकारी कदम थियो । तत्कालीन राणा–शाह दरबारका रुचि तथा नेपाली भाषा–साहित्यको विकासप्रति मोतीराम भट्टमा जागेको हुट्हुटीले गर्दा नेपाली भाषामा नाटक लेख्ने/खेल्ने वातावरण तयार पारिदियो । यिनै तात्कालिक वातावरण र परिवेशले उर्दूहिन्दीका इस्करोमाञ्चकारी नाट्य मञ्चन परम्परालाई तोडेर नेपाली नाटक मञ्चन गर्नसक्ने स्थिति सिर्जना भयो र मोतीरामले नेपाली नाट्यलेखन परम्पराको जग बसाल्न सके । ‘शाकुन्तल’, ‘प्रियदर्शिका’, ‘पद्मावती’ लगायतका नाटकहरू लेखेका भट्टका अन्य केही अपूर्ण नाटकहरू पनि लेखेको पाइन्छ । अन्य केही नाटकहरू लेख्नुका साथै उनले कतिपय नाट्यकृतिहरूको मञ्चन–निर्देशन पनि गरेका थिए भन्ने कुरा विभिन्न ठाऊँमा उल्लेख गरेको पाइन्छ । यसै समयताका मोतीराम भट्टको असामयिक निधन हुनु र सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरलाई पदच्युत गरी देश निकाला गर्नु जस्ता घटना परिघटनाहरूले पनि नेपाली नाट्य जगत्लाई शिथिल तुल्यायो तापनि विस्तार र विस्तार उर्दू फारसी थिएटरी ड्रामाहरू दरबारिया धनाढ्य परिवारमा भने चलिनै रहेका थिए । सम्भ्रान्त सामन्ती परिवारका दरवार या नाट्यशालामा भने तालिमे नानीहरू र उस्तादहरूले गर्ने नाट्याभिनयहरूको मनोरञ्जनात्मक चहलपहल र बोलवाला उत्तिकै रूपमा चम्की नै रहेका थिए । मोतीराम भट्टको मृत्युपश्चात् पनि नेपाली नाटक लेख्ने/खेल्ने परम्परा भने जीवन्त नै रह्यो । पहलमान सिंह स्वाँर लगायत थुप्रै नाककारहरू मोतीराम भट्टले चलाएको मार्गमा अगाडि बढे । यिनै कार्यहरूले गर्दा नेपाली साहित्यमा मौलिक नेपाली नाटक लेख्ने वातावरण तयार भयो र पहलमान सिंह स्वाँरको ‘अटलबहादुर’ जस्तो विद्रोही स्वर बोकेको मौलिक नेपाली नाटकको जन्म भयो । माथि देखाइएको तथ्यबाट के स्पष्ट हुन्छ भने नेपाली साहित्यमा नाट्य विधाका अग्रणी स्रष्टा मोतीराम नै हुन् जसको प्रेरणाबाट आज नेपाली नाटकमा विविध प्रयोग हुँदै आधुनिक नाट्य युगमा प्रवेश गर्ने अवसर मिलेको छ । त्यसैले नेपाली नाटकका क्षत्रेमा मोतीराम भट्टको योगदान अतुलनीय छ, उनी श्रद्धेय छन् ।
२.२.२. साहित्यिक जीवनी लेखनपरम्परा र मोतीराम
नेपालमा वंशावली वा आत्मपरक जीवनी लेख्ने परम्परा निकै पुरानो छ । लोकसाहित्यका गाथाका रूपमा मातम, चाँचडी, पडेली, पैकलो, धमारी, ढुरसो, चैत आदिजस्ता लोकगाथाहरू जीवनीमा आधारित छन् तापनि आधुनिक साहित्यमा खासगरी नेपाली साहित्यमा भने अहिलेसम्मको खोजअनुसार वि.सं. १६६३ को ‘रामशाहको जीवनी’ नामको अज्ञात व्यक्तिको कृतिलाई नै सबैभन्दा पुरानो जीवनी लेखन मानिन्छ । त्यसपछि ‘श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी’ (१८०१ तिर) भन्ने कृति देखा पर्दछ । माथिका यी दुवै जीवनी ऐतिहासिक महापुरुषहरूको जीवनी हो । मोतीराम भट्टले यही जीवनी लेख्ने परम्परालाई साहित्यिक महापुरुषको जीवनी लेखेर अगाडि बढाए । वि.सं.१९४४ मोतीराम भट्टले नेपाली साहित्यका प्राथमिक कालका विशिष्ट कवि भानुभक्त आचार्यबारे ‘कवि भानुभक्तको जीवन चरित्र’ भन्ने कृति लेखेर साहित्यिक व्यक्तित्वको जीवनी लेख्ने कामलाई अगाडि बढाए । विशेष गरेर यसै कृतिबाट उनले साहित्यिक समालोचना र जीवनी लेखनजस्तो नवीन विधापद्धति परम्परालाई अगाडि बढाउने काम गरे । साहित्यिक क्षेत्रमा जीवनी लेख्ने वातावरण नभएको अवस्थामा यस प्रकारको खोज अनुसन्धानमूलक कृति लेखी मोतीराम भट्टले नेपाली साहित्यका क्षेत्रमा महानतम योगदान पुर्‍याएका छन् ।
२.२.३. नेपाली समालोचना र मोतीराम
नेपाली समालोचनात्मक इतिहासको श्रीगणेशाय नम: गर्ने कार्य कवि मोतीराम भट्टबाट वि.सं. १९४१ मा भएको हो । कवि भानुभक्त आचार्यका काव्यकारिताको गुणदोष केलाउँदै उनका काव्यकृतिहरूमा गुणग्राहिता भएको कुरा युवाकवि भट्टले देखाएका छन् । कवि भट्टले आफ्ना पूर्वज कविहरूको मात्र समालोचना गरेनन्, आफ्ना सहवर्ती साहित्यकारहरूको पनि आलोचना गरी कविता लेखनमा अरू प्रेरित गर्ने कार्य गरेका छन् । भट्टले एकातिर समस्यापूर्तिको क्रम चलाए भने अर्कोतिर साहित्य सिर्जनाका लागि ‘कविता गर्ने सरजाम’, ‘अनुप्रास मञ्जरी’, ‘कविताका लक्षण’ जस्ता कविता लेख्ने आधार सामग्री पनि बताएका थिए भन्ने कुरा ‘कविवर मोतीराम भट्टको सचित्र जीवनी’ का लेखक नरदेव पाण्डेले उल्लेख गरेका छन् । यसका अतिरिक्त ‘कवि समूहवर्णनम्’ १९४३ मा मोतीरामले आफ्न समकालीन कविहरू राजीवलोचन जोशी, पद्मविलास पन्त र तीर्थराज पाण्डे आदिका कविताहरूको मूल्याङ्कन गरी आदिकवि, कविशिरोमणि, कविराज, कविकेशरी आदिजस्ता उपाधि पनि दिएका थिए । मोतीराम भट्टले सुरु गरेको समालोचना विधालाई उत्तरवर्ती समालोचकहरूले अगाडि बढाउने कार्य गरे जसको फलस्वरूप आज नेपाली समालोचनाले विभिन्न वाद (प्रणाली) को रूपमा विकसित हुने मौका पायो ।
२.२.४. लेखन प्रकाशनका क्षेत्रमा मोतीराम
मौखिक रूपमा साहित्यको विकास हुँदैन, प्रकाशन नभएसम्म त्यसका पाठक हुँदैनन् भने पनि हुन्छ । नेपाली भाषा साहित्यले वि.सं. १८७३ मा मुद्रित हुन पयो । सर एटनले सम्पादन गरेको ‘ग्रामर अफ द नेपालीज ल्याङ्ग्वेज’ (१९७३) मा ‘मुन्सीका तीन आहान’ पहिलोपटक प्रकाशित भयो  तापनि त्यसपछि नेपालीमा कुनै पनि साहित्यिक कृतिको प्रकाशन हुन सकेको थिएन । मोतीराम भट्टले वि.सं. १९३८–४१ बीचमा भानुभक्तको रामायणको ‘बालकाण्ड’ छपाए, जुन कृति नै अहिलेसम्मको खोजअनुसार प्रकाशित पहिलो नेपाली साहित्यिक कृति भएको मानिएको छ । त्यस्तै वि.सं. १९४२ तिर मोतीराम भट्टले ‘गोर्खा भारत जीवन’ भन्ने पत्रिका सम्पादन गरेका थिए भनिन्छ । नेपाली पत्रिकाको इतिहासमा पनि यो पहिलो कदम नै ठहरिन्छ । नेपालभित्र मोतीरामले आप्mना मामाहरू नरदेव कृष्णदेव पाँडेसँग मिलेर वि. सं. १९४५ मा ‘मोतीकृष्ण कम्पनी’ नामको पुस्तक पसल खोले भने वि.सं.१९५० पाशुपत छापाखाना खोलेर नेपाली प्रेस जगत्को इतिहासको नयाँ ढोका उघार्ने काम पनि गरिदिए । यसपछि नेपालमा पुस्तक प्रकाशन गर्ने, पत्रिका छपाउने, पुस्तक पसल राख्ने आदि कार्यहरूले नै छापाखानाको विकास/विस्तार गर्ने कार्यले तीव्रता पाएको हो । यिनै कार्यहरूले नेपाली प्रकाशनका क्षेत्रमा मोतीराम भट्टको योगदान उच्चतम श्रेणीमा नै रहेको छ भन्नु पर्दछ ।
२.२.५. अन्वेषकको रूपमा मोतीराम
नेपाली साहित्यमा अन्वेषकको रूपमा मोतीराम भट्टको नाम विशेष उल्लेख्य छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई नचिन्ने कोही शिक्षित नेपाली छ भन्नु हास्यास्पद नै ठहर्ला । नेपाली भाषालाई शिष्ट साहित्यको क्षेत्रमा प्रवेश गराएर कथ्य नेपाली भाषालाई स्तरीयता प्रदान गर्ने महत्त्वपूर्ण कवि भानुभक्त आचार्य र उनको ‘रामायण’को शोध–खोज एवं प्रकाशन गरी नेपाली समाजमा राखिदिने पहिला व्यक्ति युवाकवि मोतीराम भट्ट नै हुन् । वि.सं. १९३८ तिर मोतीराम भट्टले भानुभक्तलाई खोजे, नेपाली भाषा साहित्यका क्षेत्रबाट जिउँदो तुल्याए र प्रत्येक नेपालीका झोपडीमा पुर्‍याएर परिचित गराउने कार्य गरे । यसरी लुकेछिपेका प्रतिभाहरूलाई खोजेर पाठक समक्ष उभ्याएर चिनाउने कार्य गर्नु पनि मोतीराम भट्टको प्रशंसनीय योगदान ठहर्छ ।
३. निष्कर्ष
 नेपाली साहित्यको माध्यमिक कालका अधिष्ठाता, सिर्जनाका बहुमुखी प्रतिभा, उत्साही युवक मोतीराम भट्टले नेपाली साहित्यलाई अतुलनीय ज्योति–पुञ्ज प्रदान गरेका छन् जुन पुञ्ज कहिल्यै पनि निभ्दैन । नेपाली साहित्यका गद्य र पद्य विधालाई समान गतिमा एक एक काँधमा बोकेर हिंड्ने मोतीराम भट्टले सङ्ख्यात्मक एवं गुणात्मक दुवै पक्षबाट नेपाली साहित्यलाई धनी बनाएका छन् । नेपाली भाषा एवं साहित्यिक क्षेत्रको विकासलाई मात्र दृटिकेन्द्रमा राख्ने मोतीराम भट्टले नेपाली साहित्यलाई विविध विधा र नयाँ नयाँ मोडमा पुर्‍याएर जुरुक्क उठाएका छन् । कहिले पुस्तक पसले, कहिल्ये प्रकाशक, कहिले अन्वेषक, कहिले जीवनीकार, कहिले समालोचक, कहिले नाटककार/नाट्यनिर्देशक हुँदै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार एवं विकास गर्नका मोतीराम भट्टले जुन योगदान दिएका छन् त्यो अतुलीय छ, सर्वकाल स्तुत्य छ । त्यसैले नेपाली भाषा साहित्यका क्षेत्रमा सदा अमर मोतीराम भट्ट सम्पूर्ण नेपाली समाजमा श्रद्धेय व्यक्तित्वका रूपमा स्थापित हुन पुगेका छन् ।
सन्दर्भ सामग्रीहरू
१. त्रिपाठी वासुदेव (२०२७), सिंहावलोकन, काठमाडौं : साझा प्रकाशन ।
२. पाण्डे नरदेव (२०३७), मोतीराम भट्टको जीवनी, दो. सं., काठमाडौं : साझा प्रकाशन ।
३. प्रधान हृयचन्द्र सिंह (२०४०), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं : साझा प्रकाशन ।
४. भट्ट मोतीराम (१९४८), कवि भानुभक्तको जीवन चरित्र, बनारस : बाबु रामकृष्ण वर्मा ।
५. भट्टराई शरच्चन्द्र शर्मा (२०३७), नेपाली साहित्यको इतिहास (मध्यमिक काल), काठमाडौं : त्रि.वि. पाठ्यक्रम विकास केन्द्र ।
६. रिसाल राममणि (२०३१), नेपाली काव्य र कवि, काठमाडौं : साझा प्रकाशन ।
७. शर्मा मोहनराज, दयाराम श्रेष्ठ सम्भव (२०३४), नेपाली साहित्यको संक्षिप्त इतिहास, काठमाडौं : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
८. शर्मा तारानाथ (२०३९), नेपाली साहित्यको इतिहास, दो. सं., काठमाडौं : सहयोगी प्रकाशन ।
९. श्रेष्ठ दयाराम सम्भव (२०३२), नेपाली साहित्यका केही पृष्ठ, काठमाडौं : साझा प्रकाशन ।
१०. श्रेष्ठ रमेश (२०३५), नेपाली कविताका प्रवृत्ति, काठमाडौं : साझा प्रकाशन ।
११. सत्याल यज्ञराज (२०२३), नेपाली साहित्यको संक्षिप्त विवेचना, काठमाडौं : रत्न पुस्तक भण्डार ।
प्रस्तुत लेख २०४४ भाद्र ८ गते १२२औं मोती जयन्तीका सन्दर्भमा महेन्द्र पुस्तकालय नेपालगन्जद्वारा आयोजित कार्यक्रममा गोष्ठीपत्रका रूपमा प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width