नागरिकको समय नै देश विकासको आधारशिला

डा. दीपकप्रसाद बास्तोला
असाेज २२, २०८०

नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक कुशल लिडर अर्थात् नेतृत्व गर्ने पोलिटिकल लिडरको आवश्यकता पर्दछ । राजनीतिमा लागेकाले राजनीतिक दलमा अथवा स्वतन्त्र भएर राजनीति गर्नु राम्रो कुरा हो । तर दिन रात केवल राजनीति जपेर हिन्नु राम्रो अवश्य हैन । विकसित देशमा राजनीति गर्नेहरूले चुनावको बेलामात्र को राम्रो छ ? कसले राम्रो काम गर्न सक्छ भनी मूल्यांकन गरेर भोट दिने र चुनाव जितेकाले कानुनअनुसार काम गर्ने हुन्छ ।

यहाँ चुनाव नभए पनि बाह्रै महिना नेता र भोट दिने सबैलाई चुनावमा जस्तै राजनीति लागिरहेको हामी देख्दछौं । के यो बढी भएन र ? समयको सदुपयोगबाट मात्र विकास सम्भव हुन्छ भन्ने कुरा विकसित देशबाट हामीले सिक्नुपर्छ । टाइम इज मनी अर्थात समय नै पैसा हो भन्दा फरक नपर्ला । एउटा व्यक्तिको घरमा, सडकमा, काममा आदि सबै ठाउँमा राजनीतिले समय बर्बाद गरेमा काम कुन दिमागले गर्ने त ? अत: चुनावको केही समयअघि देखि मात्र राजनीतिमा चासो दिने हो कि ? बाँकी महत्वपूर्ण समयमा आफ्नै पेसासम्बन्धी काम गरेर देश विकासमा टेवा दिने हो भने हाम्रो देश नेपालको विकास हुन धेरै समय लाग्दैन । मेरो विदेशको आफ्नै अनुभवले पनि नेपालमा राजनीतिक नेतृत्वले बाहेक सबैले राजनीति वर्षैभरि गरिरहन पर्दैन भन्ने मेरो बुझाइ छ । राजनीति गर्ने ठाउँभन्दा अरु ठाउँमा राजनीति गर्न आवश्यक छैन ।

अब के गर्दा देश विकासको बाटोमा अघि बढ्छ त ? भन्ने प्रश्न को जवाफको लागि निम्नानुसार गर्न उपयुक्त देखिन्छ ।

राजनीतिमा लागेकाले स्वतन्त्र भएर राजनीति गर्नु राम्रो कुरा हो । तर दिन रात राजनीति जपेर हिँड्नु राम्रो अवश्य हैन

हाल भएका विश्वविद्यालयलगायत सबै शैक्षिक संस्था राजनीतिबाट मुक्त गरी पढ्ने र पढाउने वातावरणको विकास गर्नुपर्दछ । सरकारी कार्यालयमा भएका ट्रेड युनियनका सबै संरचनाको खारेजी हुनुपर्दछ । राजनीति धेरै हुँदा र काम गर्ने समय कम हुँदा हालै त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र विदेशी विश्वविद्यालयको कपी पेस्ट गरेको हामीले समाचारमा पढेको कुरा हो । एउटा प्रश्नपत्र तयार गर्ने गुरुको समय नभएर त होला भनी सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा भएका धेरै नागरिक समाजले शैक्षिक संस्थाका कुनै पनि तहमा र सरकारी तहमा पनि राजनीतिक सांगठनिक संरचना खारेजीको माग गरेकाले पनि हाम्रो देशमा राजनीति गर्ने अलि बढी भएकै देखिन्छ । नागरिक समाजहरूले भने जस्तै राजनीतिलाई कमाएर खाने स्थल नबनाइकन देश सेवाको भावनाले काम गरेमा र राजनीति गर्न पर्नेले मात्र गरेमा बाँकी धेरैको समय बचत भएर देश विकासका विभिन्न कामको लागि लाग्न फुर्सत हुने देखिन्छ ।

नागरिक समाजहरूले भने जस्तै अरु दलहरूले पनि यस किसिमको सोचलाई आत्मसात् गरी देश विकासमा लाग्ने समयको बचतमा ध्यान दिने बेला भएको महसुस सबै नेपालीले गरेका छन् । राजनीति गर्ने र चुनावमा जितेर सम्बन्धित ठाउँमा पुगेका बाहेक सबैले आफ्ना कामहरू गरेर देश विकासमा टेवा दिने समय आयो । समय खेर नफालौं । विकसित देशमा हामीभन्दा धेरै मेहनत र समय लगाएर काम गरेर मात्र आजको ठाउँमा आएका हुन् । हामी नेपाली पछि पर्नुमा समय खेर फाल्नु पनि प्रमुख कारणमध्ये एक हो । समयको बचत गरी देश विकासको लागि आफ्नो स्किलअनुसारको काममा लागौं, यसबाट नै देश र हामी नेपालीको कल्याण हुने देखिन्छ । राजनीतिक संगठनमा लागेकाहरूले समेत दुरदर्शी भएर नेतृत्व गर्न राम्रो हुन्छ । धेरै भातृसंगठन बनाएर आफ्नो पार्टीको फाइदा हुने सोचबाट देशको विकास हुँदैन भन्ने कुरा हामी सबैले महसुस गरेको कुरा हो । हाल प्रचलित व्यस्थापनको टुलमा PEST अर्थात् Political, Economic, Social  / Technology  को विकास गरेर देशको विकास हुने मान्यता पनि छ । तर political कुरा मात्रले देश विकास हँुदैन भन्ने प्रमाणित भएको छ । अत: साँच्चिकै देश विकास गर्ने हो भने पोलिटिकल केही सीमित व्यक्ति हरूले गरेर बाँकी सबै देशको आर्थिक विकास, सामाजिक विकास र प्राविधिक विकासमा केन्द्रित हुनुपर्ने नेपालको आजको आवश्यकता हो । हामी सबै नेपालीले राजनीतिको समय बचत गरी देश विकासमा लगाउने कि ? चिनी धेरै खाएमा तितो हुने छ भन्ने नेपाली उखानलाई आधार मान्ने हो भने पनि नेपालको विकास नहुनुमा राजनीति सबै ठाउँमा बढी नै भएर हो कि भन्ने प्रश्नको उत्तर हामीले खोज्ने बेला आएको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width