कांग्रेस महामन्त्रीहरुलाई खुलापत्र

किशोरदत्त बराल
असार २०, २०८०

आदरणीय महामन्त्रीज्यूहरू,
नेपाली कांग्रेस
केन्द्रिय कार्यालय

नेपाली कांग्रेसको योजना निर्माणमा प्रजातान्त्रिक समाजवाद प्राप्तिका निम्ति राष्टिय संकल्प निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी यो छोटो पत्र यहाँहरूबीचमा प्रेषित गरेको छु । हुन त यो पत्र सार्वजनिक मिडियामा प्रेषित नगरी सोझै तपाईंहरूलाई भेटेर दिन पनि सकिन्थ्यो तर पनि त्यसो गरिनँ । यो पत्रभित्र उठाइएका विषयहरूले सार्वजनिक बहस खोज्ने भएकाले तपाईंंहरूलाई आफ्नो धारणा निर्माणका लागि सजिलो होस् भनेर पनि मैले यसो गरेँ । यसलाई यसरी नै बुझिदिनु होला ।

महामन्त्रीज्यूहरू, कुनै पनि असल लक्ष्य प्राप्तिका लागि गरिने दृढ अठोटलाई संकल्प भनिन्छ । हामीले राजनीतिमा लागेर प्राप्त गर्न खोजेको लक्ष्य के हो ? त्यसको प्राप्तिका लागि हामीले गरेको संकल्प के हो ? हामी राजनीतिमा किन र केका लागि लागेका हौं ? नेपाली कांग्रेसको संगठन के को प्राप्तिका निम्ति बलियो र क्रियाशील बनाउनुपर्ने हो ? हामीले नेपाली कांग्रेसको संगठन बलियो बनाउनुपर्ने निर्वाचन जित्न र सत्ता प्राप्त गर्नका लागि मात्रै हो या यो भन्दा पनि पर केही छ ? त्यो भन्दा पनि पर केही छ भने त्यो के हो र कहाँ छ ? नेपाली कांग्रेसको संगठन बलियो बनाउनु पर्दछ भनेर छलफल र बहस गरिरहँदा यो छलफल र बहसमा देश र जनता कहाँनेर पर्दछन् ? नेपाली कांग्रेसको राजनीतिक संगठन अरु राजनीतिक पार्टीको संगठन भन्दा के कारणले फरक छ ? यी प्रश्नहरूको उत्तर नखोजीकन गरिने कुनै पनि गतिविधि, बैठक, क्रियाकलाप र भाषणले हामीलाई पुर्‍याउने भनेको अहिलेको भन्दा पनि दर्दनाक अवस्थाभित्र मात्रै हो । यी प्रश्नहरूको उत्तर नखोजीकन गरिने राजनीति राजनीति नै होइन । जुन देशका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू राजनीति नै नभएको विषयलाई राजनीति भन्दछन् । त्यस्तो राजनीतिले देश र जनतालाई कहाँ पुर्‍याउँछ ? यसैले यी प्रश्नहरूको उत्तर नखोजी संगठन निर्माणका लागि गरिने कुनै पनि बैठक, छलफल र कार्यक्रमहरूले हामीलाई कही पनि पुर्‍याउँदैनन् । यसैले यही असार २१ गते हुन गइरहेको जिल्ला सभापतिहरूको बैैठकमा आफ्ना धारणाहरू राख्ने समय मिलेछ भने त्यहीं राखौंला । यदि मिल्ने अवस्था देखिएको छैन भने माथिका प्रश्नहरूको उत्तर लिएर मात्रै जिल्ला सभापतिहरूको बैठकको एजेन्डाहरूमा प्रवेश गरिदिनु हुन म नेपाली कांग्रेसका महामन्त्रीज्यूहरूसँग सादर अनुरोध गर्दछु ।

आदरणीय महामन्त्रीज्यूहरू, हिजो पार्टीका संगठनहरू क्रियाशील वा परिचालित हुँदा सिंगो समाज क्रियाशील र परिचालित हुन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताहरूको कुरा र भाषणमा विश्वास गरेर जुरुक्क उठ्थ्यो समाज । आजको अवस्था त्यस्तो छैन । आज पार्टीका संगठनहरू उठ्दा समाज सुत्न थालको छ । यसैले अब राजनीतिक पार्टीहरूले संगठन गर्ने शैली, व्यवहार, संगत र प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने भएको छ । अध्ययन अनुसन्धानहरू भन्दछन् अब राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूलाई देख्दा र सुन्दा निदाउन खोज्ने समाजलाई उठाउन पुरानो संगठन शैली, कार्यक्रम र व्यवहारबाट सम्भवनै छैन । अब नेपाली कांग्रेसले आफूलाई मुलुककै सबैभन्दा जेठो र ठूलो राजनीतिक पार्टी हो भनेर गर्व गर्ने हो भने कांग्रेसका नेता कार्यकर्ताहरू देखेर मुण्टो बटार्ने समाजमा विश्वास निर्माण गर्न र समाजलाई परिचालित गर्नका लागि समाजले देख्न, सुन्न र महसुस गर्न सक्ने कार्यक्रम .र योजनाहरूका साथ त्यसको प्रभावकारी कार्यान्वयनका लागि संकल्प गर्न सक्नुपर्दछ । अबको राजनीतिमा संगठनले समाजको परिचालन गर्ने होइन, समाजले राजनीतिक संगठनको परिचालन गर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा राजनीतिक पार्टीहरूले आफ्नो संगठन परिचालित गर्ने योजना र कार्यक्रममात्रै होइन, समाज परिचालित गर्न सक्ने तागतिला कार्यक्रम र योजनाहरू खोज्नुपर्ने भएको छ । अब राजनीतिले समाज परिचालनका लागि जनता र समाजलाई सपना र विश्वास दिलाउन नसक्ने हो भने संगठन निर्माण वा क्रियाशीलताका लागि गरिने कुनै पनि प्रयासहरू कामयावी हुने अवस्था नै देखिँदैन । मैले यो किन भनिरहेको छु भने माथिका यी प्रश्नहरूको उत्तरभित्र संगठनको शक्ति, जनताको भरोसा र समृद्ध नेपालको चित्र भेटिन्छ ।

आदरणीय महामन्त्रीज्यहरू, यहाँहरूलाई राम्रोसँग जानकारी नै छ, आधुनिक समयमा परिवर्तित परिस्थितिसँगै विभिन्न अर्थव्यवस्थाका प्रयोगहरू गरिएका छन् । यसरी प्रयोग गर्ने क्रममा संसारमा केही समय सामन्तवादी अर्थ व्यवस्थाको स्थान औद्योगिक क्रान्तिमा आधारित पुँजीवादी अर्थव्यवस्थाले लियो । औद्योगिक विकासको चरणमा पुँजीवादले अधिकतम उत्पादन र मुनाफा कमाउन खोज्ने नीतिका कारण शोषणको प्रवृत्ति बढ्न थाल्यो भन्ने बुझाइले निजी स्वामित्वको अन्त्य गरी सामूहिक स्वामित्व र सामूहिक श्रम कायम गर्नुपर्ने धारणाका साथ वैज्ञानिक क्रान्तिकारी साम्यवादको नारा दिँदै माक्र्सवादी अर्थव्यवस्थाको जन्म भयो । साम्यवादीहरूले केही हदसम्म माक्र्सवादी आर्थिक ढाँचाको प्रयोग गरे पनि समानताको नाममा माक्र्सवादको अमानवीय चिन्तन र त्यसको आर्थिक ढाँचा सार्वभौम मानवीय चेतनाका लागि स्वीकार्य नभएका कारण एकथरी समाजवादीहरूले सम्पूर्ण मानवीय मूल्यलाई समेटेर आर्थिक समानता र राजनीतिक स्वतन्त्रता दुवै धारलाई एकसाथ लिएर जानसक्ने प्रजातान्त्रिक समाजवादी आर्थिक ढाँचाको निर्माण गरौं ।

नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादी आर्थिक ढाँचाको प्रवर्तक विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्छ । २०१२ सालमा वीरगञ्जमा भएको नेपाली कांग्रेसको छैटौं महाधिवेशनमा प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आधिकारिक रुपमा पार्टीको महŒवपूर्ण आदर्शको रुपमा प्रवेश गराउनुभयो । अहिले यो नेपाली कांग्रेसको मूल आदर्श बनेको छ ।

बिपीको विचारमा प्रजातान्त्रिक समाजवाद उत्पादन प्रक्रियामा पुँजीवादी पद्धति र वितरण प्रक्रियामा साम्यवादी पद्धतिसँग नजिक छ । पर्याप्त उत्पादन नभई पूर्णरुपले यो लागु हुन सक्दैन भने उत्पादित वस्तुको न्यायोचित तथा विवेकपूर्ण वितरण विना पनि यो फस्टाउन सक्दैन । त्यसैले पुँजीवादमा राजनीतिक पक्ष प्रजातन्त्र हो भने आर्थिक पक्ष जति पनि धन आर्जन गर्न पाउनुपर्छ भन्ने आर्थिक निरंकुशता हो । त्यहाँ राजनीतिक स्वतन्तत्रा हुन्छ तर आर्थिक समानता हुँदैन । त्यस्तै साम्यवादमा राजनीतिक पक्ष एकदलीय तानाशाही व्यवस्था हो भने आर्थिक पक्ष समान वितरणका नाममा शोषण हो । त्यसैले प्रजातान्त्रिक समाजवाद एक मात्र पूर्ण व्यवस्था हो, जहाँ राजनीतिक स्वतन्त्रता र आर्थिक समानता दुवै प्रबल रहन्छन् । यसैले नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल आदर्श मानेको हुनुपर्दछ ।

प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति बिपी कोइरालाले प्रचूर उत्पादन र त्यसको विवेकपूर्ण तथा न्यायोचित वितरणमा जोड दिनु भएको छ

बिपी कोइरालाका अनुसार प्रजातान्त्रिक समाजवाद भनेको समुन्नत गाउँ हो, गाउँका जनताको खुसी र समृद्धि हो । यो लक्ष्य प्राप्ति लागि वस्तुको उत्पादन र त्यसको विवेकपूर्ण वितरण हुनु पर्दछ भन्ने बिपीको मौलिक आर्थिक नीतिको मूल मर्म हो । यसका लागि हामी कहाँनेर छांै ? के गरिरहेको छौं ? र के गर्नु पर्ने हो ? भन्ने कुराको लेखाजोखा र बहस हामीले कहाँ र कहिले गर्ने हो ?

आदरणीय महामन्त्रीज्यूहरू, अब एकै छिन उत्पादनसँग सम्बन्धित भएर छलफल र विचार विमर्श गरौं त । उत्पादन भएन भने हामी कसरी वितरण गर्न सक्छौं ? उत्पादन र वितरण कसले गर्ने हो ? नेता तथा कार्यकर्ताहरूको काम अरुले उत्पादन गरेका वस्तुहरूको वितरण गर्ने मात्रै हो कि स्वयं उत्पादनका क्रियाकलापहरूसँग पनि जोडिने हो ? जसले उत्पादन गर्ने साहस र सीप राख्दछ, त्यसले मात्रै विवेकपूर्ण वितरणको नैतिकता राख्दछ । एउटाले उत्पादन गर्ने र अर्काले वितरण गर्ने परिपाटी समाजशास्त्रको कुनै पनि सिद्धान्तभित्र पर्दैन । गाउँ सहरमा बस्ने सोझा जनताहरूले उत्पादन गर्दछन् र हामी राज्यको माथिल्लो तहमा बसेर त्यसको वितरण गर्दछौं भन्ने अप्राकृतिक सोचका कारण हामी बर्बाद भएका हौं । प्रजातान्त्रिक समाजवादलाई आफ्नो आदर्श मान्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू यसतर्फ गम्भीर हुनैपर्छ । यसैले प्रजातान्त्रिक समाजवादको आर्थिक लक्ष्य प्राप्तिका निम्ति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई कसरी उत्पादनका गतिविधिसँग जोडेर उत्पादनको अभियानमा सामाजिक रोल मोडेल बनाउन सकिन्छ ? के कस्ता आर्थिक क्रियाकलाप र गतिविधिहरूमार्फत् नेपाली कांग्रेसलाई समुदायका हरेक वर्गहरूसँग जोड्न सकिन्छ ? नेपाली कांग्रेसको संगठन विस्तारका लागि समुदायमा जाँदा आर्थिक विपन्नता र अभावसँग जुधिरहेका बेरोजगार युवाहरूलाई नेपाली कांग्रेससँग कुन रणनीतिक आर्थिक योजनामार्फत जोडेर उनीहरूलाई आफ्नो भविष्यप्रति भरोसा जगाउन सकिन्छ भन्ने विषयमा गहन छलफल र विचार विमर्श गर्ने र यसका लागि आवश्यक पर्ने ठोस कार्यक्रमको तर्जुमा गरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई उत्पादनको आर्थिक अभियानमार्फत संगठन विस्तारको अभियानमा लगाउन अत्यन्तै आवश्यक छ ।

यदि हामीले नेपाली कांग्रेसलाई उत्पादनका निम्ति गम्भीर र जिम्मेवार बनाउन सक्यौं र हामी देश, समाज र प्रजातान्त्रिक समाजवादप्रति इमानदार भएर उत्पादनका गतिविधिसँग जोडिएर प्रशस्त उत्पादन गर्न सक्ने क्षमतामा पुग्यौं भने त्यसको न्यायोचित अथवा विवेकपूर्ण वितरण हाम्रा लागि फेरि अर्को चुनौतीको विषय बन्दछ । बिपी कोइरालाले भन्नुभए जस्तै हामीले उत्पादन गरिएका वस्तुहरूको न्यायोचित तथा विवेकपूर्ण वितरण गर्न सकेनौं भने समानताको नाउँमा झनै ठूलो शोषण हुन्छ । यसैले यसतर्फ पनि हामी उत्तिकै जिम्मेवार र संवदेनशील हुनुपर्दछ । यसैले न्यायोचित वितवरणका लागि आवश्यक पर्ने विवेकको निर्माण कसरी गर्ने ? प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति यो अर्को डरलाग्दो चुनौती हामीसँग छ । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति आवश्यक पर्ने न्यायोचित वितरणलाई ध्यानमा राखेर नै होला बिपी कोइरालाले मानिस ठूलो होइन, असल हुनुपर्दछ भन्ने भनाइ सूत्रबद्धरुपमा नेपाली समाजमा राख्नुभयो । यो सूत्रको मर्मलाई बुझ्ने, व्याख्या गर्ने र त्यसको कार्यान्वयन गर्ने जिम्मा नेपाली कांग्रेका नेता तथा कार्यकर्ताहरूलाई लगाउनुभयो । तर हामीले यसलाई भाषणमा बोल्ने विषयमात्रै बनायांै । यसको मर्मभित्र पसेर त्यो भनाइको उचाइलाई नाप्न सकेनांै । यसैले मानिसलाई कसरी असल बनाउन सकिन्छ र विवेक निर्माण गर्ने बाटो र रणनीति के हुनसक्छ भन्ने पनि नेपाली कांग्रेसको संगठन निर्माणमा व्यापक छलफलको विषय बन्नुपर्छ ।

यसैले नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिको निम्ति इमानदार हुने हो भने तपसिल अनुसारका अभियानहरूलाई प्रभावकारी कार्यान्वयनको तहमा लैजाने योजना नेपाली कांग्रेसले निर्माण गर्न सक्नुपर्छ । यदि प्रजातान्त्रिक समाजवादलाई भाषण गर्ने विषयमात्रै बनाएर यसलाई औपचारिकतामा मात्रै सीमित राख्ने हो भने बिपी कोइरालाले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक अवधारणा गलत थियो र अहिले यो समयसापेक्ष छैन भनेर भन्न सक्ने हिम्मत नेपाली कांग्रेसले गर्न सक्नुपर्छ ।

आदरणीय महामन्त्रीज्यूहरू, मैले नेपाली कांग्रेस, कास्कीको सभापतिको हैसियतबाट प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा सघाउ पुर्‍याउन बिपी शिक्षा अभियान (:ष्ककष्यल द्यए भ्मगअबतष्यल) लाई सबै जिल्लाहरूमा सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी यो विषयलाई जिल्ला सभापतिहरूको बैठकमा छलफलका लागि प्रस्ताव गर्न अनुरोध गरेको छु । यदि यसलाई छलफलका लागि पेस गर्न सकिएन भने पनि नेपाली कांग्रेसको संगठन निर्माणको योजना बनाउँदा यसतर्फ अलिकति भए पनि ध्यान पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

अब म बिपी शिक्षाको बारेमा संक्षिप्तरुपमा यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु । समुन्नत नेपालको निर्माणका लागि बिपी कोइरालाले परिकल्पना गर्नु भएको आर्थिक नीति भनेको प्रजातान्त्रिक समाजवाद हो । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति बिपी कोइरालाले प्रचूर उत्पादन र त्यसको विवेकपूर्ण तथा न्यायोचित वितरणमा जोड दिनु भएको छ । प्रचूर उत्पादनका लागि उद्यमशीलता र विवेक निर्माणका लागि ठूलो मानिस होइन असल मानिस विकास गर्ने शिक्षा दिनुपर्दछ । यसरी समाजवाद प्राप्तिका निम्ति प्रचूर उत्पादन गर्नुपर्ने र त्यसको विवेकपूर्ण वितरणको आधार तयार पार्ने शिक्षा नै बिपी शिक्षा हो । यसले बिपी शिक्षा अभियानमार्फत समाज परिचालन गरी समृद्ध नेपाल निर्माण गर्नका लागि तपसिलअनुसारका कार्यक्रम प्रभावकारीरुपमा समाजका हरेक क्षेत्रमा लागुगर्ने गरी सांगठनिक योजनाको निर्माण गर्नेतर्फ चासो प्रकट गरिदिनुहुन महामन्त्रीज्यूहरूसँग हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रमहरू

१. उत्पादनसँग कांग्रेस
२. शिक्षासँग प्रज्ञासहितको उद्यमशीलता

आदरणीय महामन्त्रीज्यूहरू, नेपाली कांग्रेसले जनतासँग जोडिएर बलियो संगठन निर्माण गर्ने र बलियो संगठनको तागतबाट प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्ति गर्ने हो भने तपशिल अनुसारको राष्ट्रिय संकल्प निर्माण गर्नुपर्ने आवश्यकतातर्फ पनि यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।

संकल्पहरू:

१. नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्ताहरू कुनै न कुनै उद्यमशीलतासँग जोडिएर रोजगारी सिर्जना गर्ने गराउने छौं (एक नेता, एक उद्यमशीलता )

२. हामी पूर्णकालीन कार्यकर्तामा होइन, उद्यमशील कार्यकर्तामा विश्वास राख्छौं ।

३.नेपाली कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताहरूले आफूसँग भएको जग्गा जमिनलाई बाँझो राख्ने छैनौं ।

४. घरमात्रै भएका तर अरु जग्गा जमिन नभएका नेता कार्यकर्ताहरूले पनि आफ्नो घरको छतमा कौसी खेती गरेर भए पनि कृषि उत्पादनसँग जोडिने छौं ।

५. अब नेपाली कांग्रेसका हामी कार्यकर्ताहरू विना काममा नेताहरूको घर वरिपरि र पार्टी कार्यालयमा भेटिने छैनौं । हामी जहाँ हुने छौं, जनताको बीचमा हुनेछौं, हामी जे गर्ने छौं जनताका निम्ति गर्ने छौं ।

६. नेपाली कांग्रेसका प्रत्येक नेता कार्यकर्ताहरूले दिनको २ घन्टा इमानदारपूर्वक पार्टीलाई दिने हो भने यो पर्याप्त हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । बाँकी समय समाजका लागि र आफ्नो पेसा व्यवसायका लागि दिने छौं ।

७. राजनीति सेवा हो, यसैले हामी राजनीतिलाई पेसा बनाउँदैनौं ।

८. बिपी शिक्षा अभियान नेपाली कांग्रेसको रक्त सञ्चार हो । यसको प्रभावकारी कार्यान्वयनका लागि हामी प्रतिबद्ध छौं ।

९. विद्यालय शिक्षामा उद्यमशील माइन्डसेट र प्रज्ञा सिर्जना गर्ने पाठ्यक्रमको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनको वातावरण निर्माण गर्ने छौं ।

१०. प्रज्ञा तथा विवेक निर्माण गर्ने शिक्षालार्ई राजनीतिको प्रभावले कमजोर पार्ने हुँदा विद्यालय र विश्वविद्यालय शिक्षाभित्र कुनै पनि किसिमको राजनीतिक प्रभाव रहन दिने छैनौं ।

११. हामी अब भाषण र आसनमा होइन, कर्ममा विश्वास गर्दछौं ( शब्द विनाको सन्देश)

१२. हामी उद्यमशीलताको क्षेत्रमा रोल मोडेल बन्दछौं ।

पत्र धेरै लामो हुने भएका कारण बिपी शिक्षा अभियान र यसभित्रको मर्मलाई विस्तृतरुपमा यहाँ समावेश गर्न सकिनँ । पछि भेटमा तथा कुनै कार्यक्रममार्फत् यसको प्रारुपको बारेमा पूर्ण जानकारी गराउने नै छु । संकल्पसहितका माथि उल्लेखित विचारहरू छलफल र विचार विमर्शका लागि यहाँहरूका बीचमा राखिएको हो । तपाईंहरूले देखाउने सांगठानिक कौशलता, अनुभव र सार्वजनिक छलफल र बहसबाट आउने विचारहरूले माथि उल्लेखित विचारहरू माथि केही थपघट गरी यसलाई परिपक्व विचारको रुपमा अगाडि बढाउन मद्दत गर्नेछ भन्ने विश्वासका साथ बिदा हुन्छु । हवस् त धन्यवाद । जय नेपाल

किशोरदत्त बराल
सभापति
नेपाली कांग्रेस, कास्की

Related News

सम्बन्धित समाचार

hero news full width