अमर इतिहास रचना गरेर अस्ताएका कमल पंगेनी

युवराज पौडेल
श्रावण २७, २०८०

स्याङ्जाली प्रजातन्त्रको इतिहास गरिमामय छ । निरंकुशताविरुद्ध जेहाद छेड्ने थुप्रै योद्धाहरू स्याङ्जाली धर्तीले जन्माएको छ । जमानसिंह गुरुङ, खगेन्द्र रेग्मी, गोपालमान श्रेष्ठ, वेदप्रसाद पनेरु, तारापति सुवेदी, श्रीप्रसाद जिटी सूर्यप्रसाद रेग्मी, शिवकुमार अधिकारीहरू लगायत थुप्रै पुराना पुस्ताका चेतनशील व्यक्तित्वहरूको त्याग र समपर्पणले निरंकुश शासकका बलिया किल्लाहरू भत्किएका थिए ।

स्याङ्जाली माटोले जन्माएका नयाँ पुस्ताका नेताहरूमध्ये भूइँतहका नेता थिए– कमल पंगेनी । कमल पंगेनीको देहावसान भएको पनि गत शनिबार ५ वर्ष पूरा भइसकेछ । शनिबार उनको पाँचौ स्मृति दिवश स्याङ्जादेखि राजधानीसम्म मनाइयो । पंगेनीका सुकर्महरूको चर्चा गरियो । व्यक्तित्वका विभिन्न आयामहरूका सम्बन्धमा चिन्तन मनन भयो । औपचारिक कर्मकाण्डभित्र पनि पंगेनी चर्चा गर्न लायक पात्र भएको वक्ताहरूका भावहरूबाट बुझ्न सकिन्थ्यो ।

कमल पंगेनी वास्तवमा स्याङ्जाको पछिल्लो कालखण्डमा उदाउँदो तारा थिए । उनको राजनैतिक जीवनको पाटो पनि अलि फरक किसिमको देखिन्छ । पंगेनी स्याङ्जाको तत्कालीन खिलुङ देउराली गाविस वडा नं ८ उजेलीडाँडा भन्ने ठाउँको मध्यमवर्गीय किसान परिवारमा जन्मिएका थिए । दहथुम माविमा खगेन्द्र रेग्मी जस्ता राजनीतिक व्यक्तिसँग अध्ययन गर्ने अवसर पाउनु उनको लागि सौभाग्य थियो । नेविसंघको संगठन बनाउने कुरामा सानैबाट तीक्ष्ण बुद्धिको टाठो केटो दखेपछि खगेन्द्र सरको रोजाइमा पंगेनी पर्नु स्वाभाविक थियो । खगेन्द्र सरको प्रशिक्षणले बालक पंगेनीभित्रको राजनीतिक चेतना सलबलाएको थियो ।

दहथुम माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेर पनि गुरु खगेन्द्र अझै सन्तुष्ट थिएनन् किनभने बोर्ड फस्ट नै हुने बुद्धि कमलमा रहेछ । कमल पंगेनी एसएलसी पास गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा विज्ञान विषयमा आइए भर्ना भएपछि उनको राजनीतिक जीवनको अर्काे मोड सुरु हुन्छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य भएर पंगेनीले संगठनमा प्रतिबद्ध र लगनशील भएर काम गरे । नेपाल विद्यार्थी संघको राजनीतिमा उनका सहयात्री थिए–धनराज गुरुङ । उनी गण्डकीबाट नेविसंघको प्रतिनिधित्व गर्दै २०४४ सालमा केन्द्रीय सदस्यसमेत भए । पछि धनराज गुरुङ पंगेनीकै समर्थन र सहयोगमा नेविसंघ केन्द्रीय उपसभापति भए ।

कमल पंगेनी पोखरामा पढ्दै गर्दा नै आर्थिक अभावको कारण माउन्ट अन्नपूर्ण बोर्डिङमा विज्ञान र गणित विषय पढाउने शिक्षक बने । पढाउँदै राजनीति गर्नु पंगेनीका लागि चुनौती नै थियो । पैसाको पछि लाग्ने स्वभाव भने उनको कहिल्यै भएन । जीवनको अन्त्यसम्म पनि उनी आर्थिक उपार्जनका लागि हिँडेनन् भन्ने कुरा विभिन्न तथ्यले पुष्टि गर्छ । जिल्ला सभापतिदेखि संविधानसभा सदस्य निर्वाचित भएका पंगेनीको मर्ने बेलासम्म पनि उजेलीडाँडाको पैतृक घरबाहेक कतै घर थिएन ।

उनी सादा जीवन र उच्च विचार अपनाउने एकप्रकारका सन्त स्वभावका थिए । उनमा हिन्दू सनातन धार्मिक तथा अध्यात्मिक चेतना थियो । मृत्युको अघिल्लो दिन उनी रामनदीधाममा वृद्धवृद्धाहरूसँग भजनकीर्तनमा नाचिरहेका थिए । साउन बारेका पंगेनीले शाकाहारी खानेकुरामात्र खाएको साथमा रहेका तत्कालीन प्रदेश सांसद भागवत् प्रकाश मल्लले बताएका थिए । गीताका थुप्रै श्लोकहरू उनलाई कण्ठै थिए । गीताको कर्मयोगी चिन्तनबाट उनी अलि बढी प्रभावित भएको बुझिन्थ्यो । पवित्र मुक्तिनाथबाट बगेको कालीगण्डकीको किनार रामनदीधाम जस्तो पावन ठाउँमा त्यो पनि वृद्धवृद्धाहरूको साथमा सबैलाई खुसी बनाएर त्यस ठाउँ र आश्रमको योजना समेत बयरघारीको अस्थायी निवासमा फर्किएका पंगेनी अकस्मात ह्दयघातका कारण अस्ताए ।

२०३६ सालको आन्दोलनम उनी गिरफ्तार समेत भएका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति गर्दै गरेको समय भएका कारण २०४६ सालको जनआन्दोलनमा उनी पोखराबाटै सक्रिय सहभागी भएका थिए । २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा पनि उनी निरंकुशताविरुद्ध सडकमा खटिए । पंगेनी २०६४ साल र २०७४ सालको निर्वाचनमा पराजित भए पनि २०७० सालको दोस्रो संविधानसभामा क्षेत्र नं २ बाट निर्वाचित भएका पंगेनीको संविधानसभाबाट संविधान जारी गर्ने क्रममा महत्वपूर्ण भूमिका रहेको छ । संविधानका विभिन्न विधेयकहरूमा उनले गहकिला सुझावहरू दिएका थिए । उनी मरेर गए पनि उनको हस्ताक्षरमा जारी भएको संविधान मुलुकमा कार्यान्वयनमा छ । यो उनको अमर इतिहास हो ।

करिब ८ वर्ष जिल्ला सभापति भएका पंगेनी जनता र कार्यकर्ताबाट आउने कडा शैलीका कुरा पनि धैर्यसँग सुन्थे

२०६७ सालमा नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापति भएका पंगेनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापतिसमेत गरेर ८ वर्ष जिल्ला सभापति भए । जिल्ला सभापति हुने क्रममा संगठन बलियो बनाउन उनी जिल्लाका कुनाकुन्दरामा पुगे । थुप्रै भुँइ तहका जनता भेटे । जनताका समस्या र पीडासँग अझै परिचित हुने मौका पाए । जनता र कार्यकर्ताबाट आउने कडा शैलीका कुरा पनि धैर्यसँग सुन्न सक्ने क्षमता पंगेनीमा थियो ।

२०७० को निर्वाचनमा भएको पराजयको समीक्षाका लागि आँधीखोला ५ कृषि भन्ने ठाउँमा एउटा पालिकास्तरीय समीक्षा बैठक थियो । त्यस बैठकमा सौभाग्यले यो पंक्तिकार पनि पंगेनीका साथमा थियो । आँधीखोलाका पुराना पुस्ताका नेता प्रजातन्त्रका सेनानी वेदप्रकाश पनेरुले उक्त समीक्षा बैठकमा पंगेनीलगायत नेतृत्व वर्गको प्रवृत्तिका कारण निर्वाचन हारिएको भन्दै पंगेनीप्रति लक्षित भएर कडै ढंगले असन्तुष्टि व्यक्त गरे । पंक्तिकारलाई लागेको थियो, यति कडा शब्द प्रहारबाट पंगेनी कति आगो भए होलान्, अब उनको बोल्ने पालोमा कति आक्रोश पोख्लान् । तर आफ्नो बोल्ने पालो आएपछि पनेरुको कुरामा कत्ति पनि असहमति नजनाई पनेरु लगायतका पुरानो पुस्ताकै कारण आफूहरू आज यसरी बोल्न पाएको भन्दै असाध्यै शालीन भएर उनी प्रस्तुत भए । त्यस दिन मैले पंगेनीमा उच्च राजनीतिक चरित्र रहेछ भन्ने कुरा व्यावहारिक रुपमै बुझ्न पाएको थिएँ ।

२०७० को निर्वाचन हार्नुका महत्वपूर्ण केही कारणमध्ये गुटगत प्रवृत्ति पनि भएको निष्कर्ष निकालेका पंगेनीले स्याङ्जा कांग्रसलाई गुटगत प्रभावबाट मुक्त राख्ने अठोटका साथ जिल्ला दौडाहामा निक्लिने क्रममा नै मृत्युवरण गरेका थिए । संगठन बलियो बनाउने उनको उद्देश्य थियो ।

वास्तवमा कमल पंगेनी भुँइतहका असाध्यै सरल नेता थिए । बिपी, किसुनजी, गणेशमानहरूको आदर्शबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेका भएर होला उनी जनताको घरमा बस्न रुचाउँथे । दु:ख पाएको कार्यकर्ता भनेपछि मर्न तयार हुन्थे । बालक, युवादेखि वृद्धसम्म क्षमताले भ्याएसम्म सबैलाई सहयोग गर्थे । राजनीति उनका लागि सेवा थियो ।

नेपालका ब्युरोक्रेट्सहरूसँग उनको राम्रो सम्बन्ध थियो । उनी स्याङ्जाली जनताका खानेपानी, सिंचाइ, पुल, सडक, बाटो लगायत विभिन्न समस्याहरू लिएर सिंहदरबारका ढोकाढोका पुग्दा कर्मचारीसमेत छक्क पर्थे । उनले सबै प्रकारका कर्मचारीको विश्वास जितेका थिए । काम कसरी फत्ते गर्नुपर्छ भन्ने कुरा उनलाई राम्ररी थाहा थियो ।

निजामती क्षेत्रमा स्याङ्जा विशेष अगाडि नै भएको जिल्ला मानिन्छ । स्याङ्जाली अफिसरहरू मन्त्रालयका सचिवदेखि विभिन्नस्तरका पदमा कोही न कोही भई नै रहन्छन् । त्यसैले पनि उनलाई जनताका काम गर्न सजिलो थियो । कानुन र प्रशासनिक विषयको ज्ञान, बोलीमा मिठासता, सबैसँग मिल्न सक्ने र समन्वय गर्न सक्ने क्षमता भएका पंगेनीले धेरै स्याङ्जालीका कामहरूमा निस्वार्थ सहयोग गरेका थिए । उनी जनप्रिय नेता थिए भन्ने कुरा उनको मृत्युपछि आँखामा आँसुका थोपा चुहाउँदै गरुङ्गो ह्दय लिएर स्याङ्जाको सदरमुकामदेखि रामनदीधामसम्मको सडकमा पोखिएको त्यो विशाल मानव सागरबाट नै स्पष्ट हुन्थ्यो ।

उनी पूर्वीय ज्ञान परम्परामा विश्वास राख्थे । पछिल्लो समय उनमा मेडिकल उपचार पद्धतिभन्दा आयुर्वेदप्रतिको विश्वास बढेको देखिन्थ्यो । उनले सुगरको औषधी छाडेर घरेलु आयुर्वेद दबाइ खाएको भागवतप्रकाश मल्ल, अर्जुनप्रकाश अर्याल लगायतका नेताहरूलाई बताएका रहेछन् । यसमा पंगेनीले अलि विचार नपुर्‍याएको लाग्छ । अनि बेसरी छाती दुखेपछि उपचारका लागि पाल्पा मिसन लैजान सांसद मल्ल लगायतले गरेको अनुरोधलाई पटकपटक अस्वीकार्नु पनि पंगेनीको केही कमजोरी नै भयो कि भन्ने लाग्छ । जे होस् ५६ वर्षको छोटो जीवन बाँचेर पनि पंगेनी स्याङ्जाली जनताको मनमुटुमा बस्न सफल भए यही नै उनको जीवनको सबैभन्दा ठूलो प्राप्ति हो ।

Related News

सम्बन्धित समाचार

hero news full width