वार्षिक राशिफल २०७७

ज्योतिष रामजी ओझा
वैशाख १, २०७७
Rashifal

मेषः चू चे चो ला लि लु ले लो अ
मेष राशिका जातकको लागि २०७७ साल प्रमादी नामक संवत्सर ज्यादै प्रभावशाली रहेको छ । जगल्लग्न अष्टम दृष्टिमा परेर पनि राशिको मालिक उच्च अवस्थामा भएर उच्च स्थानमा रहेका छन् । आत्मविश्वास आत्मवलकोे वृद्धि हुनेछ । मित्र तथा शुभचिन्तकहरुको सहयोग सद्भावले जोखिम प्रकृतिका कार्यलाई पनि सजिलैसँग सम्पन्न गर्न सकिने छ । राशि प्रवेशसँगै राशिमालिक मंगल उच्च हुनुको साथै सूर्य, राहु, केतु चारवटै ग्रह उच्च भई भावकारक बनेका छन् । महत्वपूर्ण काम गर्ने अवसर मिल्नेछ । राजनीति एवं सामाजिक कार्यमा अपेक्षित सफलता प्राप्त गर्न सकिने छ । रोजगारीका नयाँ अवसर प्राप्त हुनेछन् । व्यापार व्यवसाय एवं पेशाबाट आशा गरे अनुसार आम्दानी गर्न सकिनेछ । भाग्य कर्म र पराक्रम सप्रिएको छ । राम्रा अवसरहरु प्राप्त हुनेछन् । अवसरलाई कार्यान्वयन गर्न सकिनेछ । आयआर्जन सोचे जस्तै हुनेछ । ठूलाबडा व्यक्तिको सहयोगले गर्दा ऐतिहासिक कार्य सम्पन्न गर्न सकिने छ । राजनीतिमा उच्च पद प्रतिष्ठा मिल्नेछ । कर्मचारी वर्गमा उत्साह उमङ्ग हुनेछ । शैक्षिक क्षेत्र फलदायक रहेको छ । कुल कुटुम्वका व्यक्तिको सहयोग सद्भाव मिल्नेछ । सम्वत्सरका अधिकांश समय उत्तम रहेको छ । तर जेठ, मंसिर र चैत्र महिना हानीकारक रहेको छ । महत्वकांक्षा बढ्नेछ । पाप कार्यमा चञ्चलता बढन सक्छ । नास्तिकता र अव्यवहारिकपनले गर्दा सरोकारवाला व्यक्तिहरुले आलोचना गर्नेछन् । आँफैमा पनि आत्मग्लानीको आशय प्रकट हुनसक्छ, अनर्थको खर्च दुर्घटना, विवाद हुनसक्छ । मान्यजनको सल्लाहले कामव्यवहार गर्दा कल्याण हुनेछ ।

वृषः इ उ ए ओ वा वी वु वे वो
वृष राशिका जातकको लागि २०७७ साल अधिकांश समय अनुकुलको रहेको छ । राशिकुण्डली अनुसार वर्ष प्रवेशसँगै राशिको मालिक स्वगृही भई आफ्नै राशिमा विराजमान हुँदा शारीरिक स्फुर्ति बढ्नेछ । धेरै काम व्यवहारमा सरोकार रहनेछ । परिस्थिति अनुकूलका काम व्यवहारहरु सम्पन्न गर्दा आत्मबल आत्मविश्वास बढ्नेछ । सकारात्मक सोचाई रहने छ । जनसम्पर्क बढ्नेछ, धर्मकर्म एवं अध्यात्म अनुष्ठानका कार्यमा सहभागिता रहनेछ । शुद्ध निश्चल सोचाई रहने छ । नयाँ सम्बन्ध गासिने छ । देश देशान्तर सम्म सम्पर्क बढ्नेछ । उपहार, कोशेली प्राप्तिको योग परेको छ । पढाई लेखाईमा सोचे जस्तै नतिजा प्राप्त हुँदा विद्यार्थी वर्गमा नयाँ उत्साह हुनेछ । पुरस्कार प्राप्तीको योग परेको छ । धार्मिक यात्रा हुनसक्छ । नयाँ मित्रहरु बन्नेछन् । काम व्यवहार प्रति ध्यान जानेछ । आर्थिक आर्जन पनि अपेक्षित गरिने छ । प्रेम भाव बढ्ने, वैवाहिक जीवन सुमधुर रहनेछ । साहित्य, कला, कानूनी कार्यमा सफलता मिल्नेछ । उपहार कोशेली मिल्नेछ । तर जनैपूर्णिमा पछि मंसिर १ गते सम्म आठौं (आढैया दशा) शनिको प्रभावले गर्दा स्वास्थ्यमा बाधा, द्वितीय राहु, बाह्रौं सूर्य, अष्टम केतुको प्रभावले दुर्घटना आर्थिक हानी, विवाद चोरी परिवन्धन परिस्थिति उत्पन्न हुनसक्छ । दैनिक विपत्तिको सामना गर्न पर्ला । वक्रिग्रह तपाईको मुखमा वसेको हुँदा वोलीचाली, आनीवानीमा संयमितता अपनाउनु होला ।

मिथुनः का की कु घ ङ छ के को
बार्षिक कुण्डली अनुसार ग्रहबल आफ्नै राशिमा, एकादशस्थानमा सूर्य भएर पनि अष्टम मङ्गल, वृहस्पति र शनिको प्रभावले गर्दा अदृष्यवाधाको सामना गर्नुपर्नेछ । अनर्थको दोषारोपणले गर्दा मनोबल गिराउने छ । मानसिक अशान्ति, अपव्यय आफन्तजनहरुबाट धोका, दाम्पत्य मतभेद, व्यर्थको भ्रमण, अध्ययन अध्यापनमा अवरोध, स्वास्थ्य समस्या, शत्रु वृद्धि, सवारी दुर्घटना, चोरी जस्ता अप्रिय परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । तपाईँको लागि प्रमादी नामक संवत्सरमा कुल देवको दोष रहेको छ । तर आफ्नो कुलिय परम्परा अनुसारका धर्म, संस्कारलाई अवलम्वन गर्न सक्नु भयो भने समय अनुकुलकै बन्नेछ । जस्तै सत्यवादी, कुलोचित, नित्यनैमित्तिक कर्म ‘न्यायागतधनस्तत्वज्ञान निष्ठो तिथिप्रिय । श्रद्धकृत सत्यवादी च गृहस्थथोपि विमुच्यते ।’ शत्रुलाई परिचालन गर्नसक्नु भयो भने वर्ष ज्यादै प्रभावशाली रहेको छ । कस्तो कार्य सञ्चालन गर्ने भन्ने तपाईँकै हातमा रहेको छ । मात्र छाडा प्रवृत्तिलाई त्याग्न सक्नुपर्छ । अरुले आँट्नै नसकेको काम व्यवहारलाई सम्पन्न गरी समाजमा प्रस्तुत हुँदा धेरै व्यक्तिको समर्थन मिल्नेछ । आकस्मिक धनार्जनको वातावरण वनाउन सकिने छ । राजनैतिक क्रियाकलापमा प्रभुत्व बढ्नेछ । देश देशान्तर अवलोकन गर्ने सुअवसर मिल्नेछ । कृषक वर्गको लागि समय अनुकूल बन्नेछ, पशुचौपायबाट आर्थिक आर्जन गरिनेछ । खनिज, फलाम, एवं जलचरका कार्यबाट मानसम्मान मिल्नेछ । नित्य नैमित्तिक कार्यमा ध्यान दिनु आवश्यक छ ।

कर्कटः हि हु हे हो डा डि डु डे डो 
प्रमादी नामक संवत्सरमा कर्कट राशिको मालिक चन्द्रमाले मन्त्रिपद प्राप्त गरी वर्ष प्रवेशको समयमा देवगुरुको घरमा सकारात्मक सोचाईको साथ रहेको छ । कर्कट राशिका जातकको लागि ज्यादै सुवर्णमय समय रहेको छ । ऐतिहासिक कार्य योजनाहरु रचिने छ । सहमतिको आधारमा काम व्यवहारहरु गरिने छ । दाजुभाई, साथीसंगी दिदीवहिनीहरुवाट अपेक्षित सहयोग मिल्ने छ । कल्याणकारी एवं लोकहितका काम व्यवहारमा लगानी गर्ने अवसर मिल्ने छ । धर्म,संस्कृति संरक्षणमा तनमन जानेछ । देशदेशान्तरसम्म जनसम्पर्क बढ्नेछ । उपहार, पुरस्कार, मानप्रतिष्ठा प्राप्त गर्ने अवसर मिल्ने छ । छोराछोरी एवं सन्तानको कार्यवाट सन्तोष मिल्ने छ । तरल पदार्थ, दूध, घ्यू, विजुली, कृषिजन्य कार्य पशुपंक्षीपालन, भूमि, भवन कारोवारबाट आकस्मिक लाभ मिल्ने छ । तर यो वर्ष राजा नीचो अवस्थामा र व्ययस्थानमा वक्रिग्रह रहेको हुनाले आर्थिक पारदर्शितालाई ध्यान दिन सकिने छैन । आवश्यकता भन्दा ज्यादै उदारवादी हुँदा अरुले तपार्इँको कमजोरीको फाइदा लिनेछन् । आर्थिक कारोवारमा र सवारी यात्रा गर्दा सावधान हुन आवश्यक छ । स्वास्थ्यमा पनि मौसमी प्रभाव पर्नसक्छ । खानपान एवं व्यवहारमा ध्यान पुर्‍याउन आवश्यक छ ।

सिंहः मा मी मु मे मो टा टी टु टे
सिंह राशिका जातकको लागि २०७७ प्रमादी नामक संवत्सर ज्यादै प्रभावशाली रहेको छ । इमान्दारीका साथ काम व्यवहार गर्ने हो भने भाग्य, कर्म, आय, पराक्रम सवै सप्रिएको छ । राशिको मालिक नै उच्च भई भाग्य स्थानमा रहेको हुनाले सकारात्मक सोचाईको उदय हुनेछ । आदरभाव जाग्ने छ । धेरै कार्यमा सरोकार रहने छ । धार्मिक एवं आध्यात्मिक जागरण बढ्ने छ । पुण्यकारी कार्य गरी लोक हितको कल्याण गरिने छ । निकै राम्रा काम गर्ने अवसर मिल्ने छन् । नयाँ सम्बन्धहरु स्थापित हुनेछन् । उच्च स्तरीय व्यक्तिको सहयोग सद्भाव पाइने छ । विशिष्ट व्यक्तिको सहयोग सद्भाव पाइने छ । राज योगको प्रभाव परेको छ । उच्चपदीय दायित्व निर्वाह गरिने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । छैटांै मंगल र शनिको प्रभावले शत्रुको नाश गर्ने छन् । व्यापारव्यवसाय एवं पेशावाट अपेक्षीत धनार्जन गरिने छ । दिर्घकालीन भविष्यका कार्य योजनाहरु रचिने छ । ऐतिहासिक कार्यको शुुरुवातीले मन प्रसन्न भएको बेलामा छोराछोरी एवं कर्मचारी वर्गको अप्रिय समाचारले मनस्थिति तर्सन सक्छ । यो वर्ष तपाईँको छायाँको प्रभावले सन्तान एवं कर्मचारीलाई डसेको छ । तिनीहरुले केही गल्ती गरेपनि मेरै ग्रह राशिको प्रभावले भएको हो भनी चित्त बुझाउँदा कल्याण हुनेछ । तपाईँले शिर झुकाउन परे यही तत्वमा पर्ला अरु क्षेत्रबाट तपाईँको विजय नै हुनेछ । झुटो वोल्नु र अशुद्ध भोजन हानीकारक छ । किन भने तपाईँलाई यो वर्ष कूल र नागदेवको शक्ति प्राप्त हुनेछ ।

कन्याः टो. पा.पी.पू.ष ण ठ पे पो
प्रमादी नामक सम्वत्सरमा परिश्रमशिल भइनेछ । कामव्यवहारमा ज्यादै दुःख गर्न मन लाग्ने छ । असन्तोष भावना रहने छ । चतुर्थ केतु र अष्टम सूर्यको प्रभावले स्वास्थ्यमा समस्या पर्न सक्छ । मातृ स्थान विग्रिएका कारण मातापिताको काम व्यवहारमा समस्या पर्न सक्छ । मनमा भय, शंका र चिन्ता लागिरहने छ । व्यापार व्यवसायमा समस्या पर्न सक्छ । स्थानान्तरणको सम्भावना रहेको छ । कर्मचारीवर्गसँग मतभेद बढ्न सक्छ, राजनीति एवं प्राशासनिक कार्यमा ठक्कर पर्न सक्छ । यात्राको योग परेको छ । वैदेशिक कार्यमा सफलता पाइने छ । किनकी आफ्नो राशिको मालिकको पूर्णदृष्टि परेको छ । दाम्पत्य जीवनमा प्रेमभाव बढ्ने छ । नयाँ–नयाँ ठाउँको अवलोकन हुनेछ । नयाँ मित्रहरु बन्नेछन् । नयाँ व्यक्ति एवं देश–देशान्तरसम्म सहयोगको आदान प्रदान हुनेछ । सकारात्मक सोचाईको वृद्धि हुनेछ । अरुको भलाई एवं कल्याणकारी कार्यमा तनमन जानेछ । आफ्नो घरको काम, व्यापार व्यवसायलाई मतलब हुनेछैन । अरुको काम गर्दा नै आनन्द आउने छ । धार्मिक आस्था बढ्ने छ । माङ्गलिक कार्यमा सहभागी भइने छ । छोराछोरीप्रति स्नेह बढ्ने छ । पढाईलेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ, पुरस्कार उपहार प्राप्तीको योग परेको छ । राशिको मालिकको पूर्ण दृष्टि परेकाले बुद्धि र भाग्यस्थान सप्रिएको छ । चिट्ठा एवं आकस्मिक धनार्जन हुन सक्छ । शैक्षिक एवं सामाजिक पदप्रतिष्ठा मिल्ने छ । वैदेशिक कारोवारमा सफलता मिल्ने छ । मितेरो साईनो बढ्ने छ । इष्टमित्रको सहयोग ऐतिहासिक बन्न सक्छ ।

तुलाः रा री रु रे रो ता ती तु ते 
जगल्लग्नको हिसावले तपाईको प्रमादी नामक सम्वत्सर छायाँ परेको छ । चतुर्थ शनिले स्वास्थ्य समस्या आउनेछ । सप्तम सूर्य र नवौं राहुले अधर्मी बनाउन सक्छ । महत्वकांक्षाले गर्दा परिस्थिति विग्रन सक्छ । अरुले गल्ती गर्ने अपजस र सजाय तपाईँलाई हुनसक्छ । मुद्दामामिला, कलझगडा पर्न सक्छ । चोरी तथा कपटबाट हानी नोक्सानी, कष्टदायक यात्रा, विश्वासघात हुनसक्छ । तर वर्ष कुण्डली र आद्रा प्रवेश कुण्डलीवाट हेर्दा त्यति डराउन पर्दैन । राशिको मालिक शुक्र एकादश भावमा रही नयाँ आम्दानीका श्रोतहरुलाई हेरी रहेका छन् । वुध ग्रहको प्रभावले नयाँ अवसरहरुको खोजी गरेका छन् । दशौं सूर्यले आत्मवल आत्मविश्वास बढाएको छ । उच्चस्तरीय व्यक्तिसँग सम्वन्ध बढाइने छ । जस्तोसुकै कार्यान्वयन गर्न सकिने छ । तर खर्च र परिश्रम ज्यादा नै हुन्छ । तपार्इँका कूल देवता र पितृदेवता रिसाएका छन्, कुलीय धर्मलाई अंगाल्न सक्नुभयो भने शिर झुकाउन पर्दैन । कलागला, साहित्य साधनामा ध्यान केन्द्रीकृत हुनसक्छ । नयाँ रहस्यमय कार्यलाई अगाडि बढाउँदा विपक्षीहरु आश्चर्यमा पर्नेछन् । आफूलाई दवाउन सक्रिय भएका व्यक्तिहरु नातो लगाउँदै आउने छन् । तर आर्थिक कारोवारमा भने कानूनी प्रकृया पूरा गरेर मात्र गर्नुहोला । यात्रा पनि जोखिम बन्न सक्छ । साइत मिलाएर मात्र गर्नुहोला । राशिको मालिक स्वगृही भएको हुनाले आफुले भन्दा दाम्पत्य साथिलाई गुरुको स्थान दिएर काम व्यवहार गर्दा कल्याण हुने देखिन्छ ।

वृश्चिकः तो ना नी नु ने नो या यी यु
यो वर्ष प्रमादी नामक संवत्सर वृश्चिक राशिलाई प्राप्त भएको छ । भने राशिको मालिक मंगल उच्च स्वरुपले पराक्रम स्थानमा रहेका छन् । साथमा भावकारक वृहस्पति र स्वगृही शनि पनि सँगै छन् । सुखद् अवसर प्राप्तिको दृष्टिले ज्यादै प्रभावशाली रहेको छ । उच्च सूर्यको प्रभावले शत्रुहरुलाई छायाँ पार्दै पराक्रमको गति बढ्नेछ । स्वगृही शुक्रले पूर्ण दृष्टि दिएर आत्मवल आत्मविश्वास बढाएका छन् । देशदेशान्तरसम्म पनि सम्बन्ध विस्तार गरिनेछ । समय ज्यादै प्रभावशाली रहेको छ । जोखिम प्रकृतिका कार्यलाई पनि सजिलै सम्पन्न गरी समाजमा प्रस्तुत हुँदा मानसम्मान मिल्ने छ । पराक्रम सप्रिएको छ । साथीसंगी, इष्टमित्रलाई मानसम्मान गर्दै आर्थिक आर्जन गर्न सकिने छ । काम व्यवहारबाट आकस्मिक लाभ गरी सफलता प्राप्त गर्दा नयाँ उत्साह उमङ्ग मिल्ने छ । नक्षत्र स्वामीहरु वृहस्पति, शनि र वुधको सहयोग सुझावलाई मित्ररुपले स्विकारेर राशि स्वामी मङ्गल अगाडि बढ्दा ऐतिहासिक कार्य सम्पन्न गर्न सकिने छ । साथै शुक्रको प्रभावले देशदेशान्तर अवलोकन गर्ने अवसर, दाम्पत्य सहयोग सुमधुर बन्नेछ । आकस्मिक लाभको योग परेको छ । व्यापार व्यवसाय एवं पेसाबाट अपेक्षित धनार्जन गर्न सकिने छ । घर परिवार एवं समाजमा मेलमिलाप हुनुको साथै धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी भइने छ । भौतिक सुख सुविधा यावत् चिजवस्तु प्राप्त भएर पनि मार्केश ग्रहको रुपमा चन्द्रमा, केतु र राहु रहेको हुँदा सवारी दुर्घटना, रोग व्याधीको सम्भावना रहेको छ । आकस्मिक दुर्घटना रोग व्याधीवाट जोगिने उपाय गर्दा वर्षभरी निकै राम्रो वातावरण बन्दछ ।

धनुः ये यो भा भी भू ध फ ढ भे
धनु राशिले वार्षिक ग्रहचलित चक्र अनुसार यस वर्षभित्र पद प्राप्त गरेर पनि राहु र शनिको षडाष्टक योगले कुटुम्वीया योग वनाएको छ । तपाईँको ग्रहको र राशिको प्रभावले कुलकुटुम्बका काम व्यवहारमा समेत समस्या बनाउने छ । दाम्पत्य मतभेद बढ्न सक्छ । विष योग पनि परेकोले खानपान एवं आनिवानीमा विचार पु¥याउनु होला । अनर्थको तनाव र अपयस एवं मानसिक चिन्ता बढ्नेछ । संचित धनको नोक्सान, लुटपाट चोरी जस्ता अप्रिय घटना घट्न सक्छन् । शत्रु वृद्धिको सम्भावना छ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । ग्रह चक्र अरिव भएर पनि तपाईँको आनीवानी खानपानमा र धर्मकर्ममा ध्यान पु¥याउनु भयो भने अदृष्य शक्ति तपाईँका कूल देवता र नाग देवताले दिइराखेका छन् । अरुले गर्नै नसक्ने काम सम्पन्न गरी साथीसंगी एवं समाजका व्यक्तिहरुलाई चमत्कार देखाउन सकिनेछ । पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । व्यापार व्यवसाय एवं पेशाबाट अपेक्षित लाभ आर्जन गर्न सकिनेछ । साथीसंगीहरु तपाईँको समर्थनमा जुट्ने छन् । नयाँ प्रविधिका कार्यमा चमत्कार देखाउन सकिने छ । छोराछोरी, सन्तान र कर्मचारी वर्गको कर्मवाट आकस्मिक लाभ प्राप्त हुनेछ । देशदेशान्तरको रहस्यमय यात्रा हुनसक्छ । सद्वुद्धिको प्रभावले राजनीति एवं सामाजिक कार्यमा उच्चपद प्राप्त हुन सक्छ । तर दाम्पत्य जीवनमा र आगो, पानी, विजुली, जस्ता चिज वस्तुमा वेवस्ता नगर्नुहोला । अमृत र विष के प्राप्त गर्ने तपार्इँको हातमा नै छ । अरुसँग खोज्न जान पर्दैन । यो वर्ष (२०७७) साल तपाईँको लागि तक्षक नामक कालसर्प योगको प्रभाव परेको छ ।

मकरः भो जा जी जू जे जो ख खि खु खे खो गी
राशिचक्र अनुसार यो दशौं स्थानमा पर्दछ । यसको पहिचान पनि आफ्नैपनको छ । किनभने यो राशिले अभिजित शक्ति प्राप्त गरेको छ । ग्रहहरुको प्रभाव अनुसार मध्य साढेसाती र अन्त्यसाढेसाती परेको छ । आर्थिक कारोवार यात्रा र सवारी साधनमा ध्यान पु¥याउन सक्नु भयो भने अरु चिजवस्तु एवं व्यवहारमा ज्यादै राम्रो छ । राशिबाट छैटौं र बाह्रौ वक्रि ग्रहको प्रभाव परेको छ । यसले अप्रिय घटना घटाउन सक्छ । अरु ग्रहहरु ज्यादै भावकारक रहेका छन् । पराक्रमको वृद्धि हुनेछ । जे जानिएको छ, अरुलाई बुझाउन सकिने छ । पढाई–लेखाई एवं प्रतिभाका कार्यबाट कृतिदायक एवं ऐतिहासिक काम गरेर प्रदर्शन गर्न सकिने छ । छोराछोरी एवं विद्यार्थीको कार्यवाट सन्तोष मिल्ने छ । दाजुभाई साथीभाई एवं इष्टमित्रको सहयोग सद्भाव अटुट रहने छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्ने छ । दाम्पत्य जीवन सुखमय रहने छ । देशदेशान्तरको रमाईलो यात्रा हुनेछ । नयाँ मित्रताको खोजी हुनेछ । माङ्गलिक कार्यको आयोजना गरिने छ । अरुको कार्यमा पनि सहभागी हुँदा मान सम्मान पाइने छ । राजनीतिमा नयाँ पदप्रतिष्ठा मिल्न सक्छ । धर्म, कानून, संस्कृतिमा छुटै किसिमको पहिचान बनाउन सकिनेछ । आर्थिक कारोवारमा ध्यान पु¥याउन सकेमा जग्गाजमिन, व्यापार व्यवसायबाट अपेक्षित लाभको साथै सफलता प्राप्त गर्न सकिने छ । औषधी, औजार, मेशिनरी कार्यबाट लाभ हुनेछ । कला साहित्य एवं रहस्यमय कार्यबाट उपहार पुरस्कार प्राप्तिको योग परेको छ । खोज अनुसन्धान सफलदायक रहेको छ ।

कुम्भः गु गे गो सा. सि. सू. से. सो द
तपाईँको लागि यो २०७७ साल मध्यम प्रकृतिको रहेको छ । बाह्रांै शनि, मंगल र वृहस्पति अदृष्यबाधाको प्रभाव परेको छ । यसले विशेष गरी अप्रिय दुर्घटना, चोरी, कलझगडा जस्ता प्रकृतिको अवस्था आउन सक्छ । आर्थिक नोक्सानी हुनेछ । झुट्टा आरोप लाग्न सक्छ , स्वास्थ्यमा वाधा, काम व्यवहारमा विलम्ब, दुःख, शारीरिक समस्या आइपरे पनि अरु ग्रहको भाववल राम्रै छन् । व्यापार व्यवसाय एवं पेशाबाट अपेक्षित लाभ लिन सकिने छ । उद्योगधन्दा, कृषिजन्य पदार्थ दुग्धजन्य पदार्थमा अपेक्षित लाभ हुनेछ । कलाकृति आकृतिका कार्यबाट प्रतिष्ठा मिल्ने छ । कूलकुटुम्व र सहोदरका व्यक्तिको सहयोग सद्भाव पाइनेछ । अन्तरदृष्टि ग्रहको प्रभाव परेकोले खोज अनुसन्धान एवं ज्योतिष भविष्यवाणी जस्ता कार्यमा दाम र नाम दुवै कमाई हुन सक्छ । पढाईलेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । तर सन्तान स्थान विग्रिएको छ । छोरा छोरीको काम व्यवहार एवं स्वास्थ्यमा वाधा पर्नेछ । सन्तानको लागि अनर्थको खर्च र चिन्ता पर्न सक्छ । भाद्र २५ गतेवाट छोराछोरी एवं विद्यार्थी वर्गको काम व्यवहारमा प्रगति हुन्छ । फेरी व्यापार व्यवसायमा मन्दी आउन सक्छ । आफ्नै स्वास्थ्यमा आलस्यता हुनसक्छ । चञ्चलपन बढ्ने छ । राम्रो अवस्था हुँदा पनि विकल्पको खोजी गरिनेछ । अनर्थको दुःख र खर्च हुनेछ । जसलाई विश्वास गर्यो त्यसैले धोका दिनेछन् । आर्थिक लाभ भएर पनि चित्त शान्ति हुनेछैन । माता पिताको लागि खर्च बढ्नेछ । काम व्यवहार गर्दा दाम्पत्य रोहवरमा गर्दा अल्प काम बन्नेछन् ।

मीनः दी दु थ झ ञ दे दो चा ची
मीन राशिका व्यक्तिहरुको लागि यो २०७७ साल ग्रहबल भावबल दुवै सप्रियको छ । वर्ष राजा स्वस्थानमा रहेका छन् । वर्ष मन्त्रि कर्मस्थानमा रहेका छन् । राशिको मालिक आय स्थानका रहेका छन् । एकादश स्थानवाट शनि मंगलले नयाँ आम्दानीका श्रोतहरु खोजी रहेका छन् । सकारात्मक सोचाईको वृद्धि हुनेछ । योजनाबद्ध रुपले कामव्यवहार गरिने छ । सरोकारका व्यक्तिलाई मानसम्मान दिन सकिनेछ । सहमतिको आधारमा काम अगाडी बढाउँदा ऐतिहासिक कार्यको शुरुवाती गरिने छ । देश देशान्तरको अवलोकन गर्ने सौभाग्यता मिल्ने छ । वैदेशिक कार्यमा सफलता मिल्ने छ । नयाँ मित्रहरु बन्नेछन् । पतिपत्नी बीच घनिष्ठ सम्वन्ध रहने छ । परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा प्रगति, उन्नति हुनेछ । नयाँ उत्साह उमङ्ग प्राप्त भएर पनि राजनीति एवं प्रशासनिक क्षेत्र हानीकारक रहनेछ । चतुर्थ राज्य र द्वितीय स्थान विग्रिएको छ । उच्चस्तरीय व्यक्तिबाट अपहेलना हुनसक्छ । सञ्चित धनको नोक्सान, जागिर पेशामा सरुवा, विशेष गरी मातापिता, हाकिम, मालिकको काम व्यवहारमा हानिकारक रहनेछ । सञ्चित धनको खति हुनसक्छ र स्वास्थ्यमा पनि ध्यान पुर्‍याउँदा बुद्धिमानी भइने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width