सुनका सिक्री गलामा, राहतका झोला हातमा

रासस
चैत्र १९, २०७६
RS_KTM_LOCKDOWN_19_04012020b

लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले काठमाडौँ महानगरपालिका–१० का विपन्न वर्गलाई एक हप्तालाई पुग्ने गरी पाँच किलो चामल, दुई किलो दाल, आधा लि. तेल, नूनलगायतका खाद्यान्न सामग्री वितरणका लागि तयारीमा राखिएको सामग्री । वडा कार्यालयबाट एक हजार जनाको नाम सङ्कलन गरी सबैलाई बाढ्ने तयारी गरिएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन् । राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं। २६ का अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिनुभयो ।

मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्याङ्कसमेत नहुँदा यस्तो समस्या आउने गरेको उहाँले सुनाउनुभयो । सम्पन्न मानिससमेत पाँच किलो चामल लिन लाममा बस्ने गरेका छन् ।

“मजदुर, विपन्न, असक्तलाई राहत दिने भनिएकामा हुनेहरु पनि लाममा बसे, तपाइँहरु किन लाममा भन्दा खान पाइएन भन्छन्, सामान किन्न नपाएको भए पसललाई भनिदिन्छु भन्दा पनि राज्यले दिएको सुविधा हो भन्दै पाँच किलो चामल बोकेर हिँडे, भूकम्पका बेला हुनेखाने एवं घरमा क्षति नभएकाले पनि राहतको त्रिपाल बोकेर हिँडेजस्तो अवस्था आएको छ”, अध्यक्ष तिवारीले भन्नुभयो ।  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ ।

ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ । वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ । बाँकीको तथ्याङ्क बिहीबार दिउँसोसम्म सङ्कलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ ।

लकडाउनका कारण अत्यावश्यक बजार पसलसमेत राम्रोसँग नखुल्दा पैसा हुनेले पनि किनेर खान नपाएको गुनासो वडा कार्यालयमा आउन थालेको छ । त्यस्तालाई पसलको सम्पर्क नं। दिएर पठाउने गरिएको छ । राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी एक पटकमा पाँच सात जनालाई मात्र राहत दिने गरिएको छ । सरकारले मजदुर वर्गलाई राहत दिन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

वडा नं। १४ ले भने महानगरपालिकाले निर्णय गर्नुअघि नै श्रमिक वर्गलाई राहत वितरण शुरु गरेको थियो ।  राहतको चामल लगी बेचेर रक्सी खानेका लागि भने वडाले कुम्भेश्वर महादेवस्थानमा निःशुल्क भोजन गराउन शुरु गरेको छ वडाध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width