गजल वाचनमा पूर्व अध्यक्ष एकसाथ

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७६
gajal

पोखरा । गजल सन्ध्या पोखराले नियमित गजल वाचन २ सय श्रृंखला पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।फागुन १० गते हुने कार्यक्रममा संस्थाका सम्पूर्ण पूर्व अध्यक्षको संयुक्त गजल वाचन राख्ने तयारी गरेको हो ।

संस्थाको स्थापनाकालदेखि विभिन्न समयमा नेतृत्व प्रदान गरी संस्थालाई हालको अवस्थासम्म ल्याई पुर्याउन अहोरात्र खट्ने व्यक्तिहरूको सम्मानमा यसप्रकारको कार्यक्रम आयोजना गर्न लागिएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले बताए । संस्थापक अध्यक्ष दिलीप दोषीसहित दीपक समीप, रुपिन्द्र प्रभावी कटु, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत, अमृत सुवेदी गरी ८ जना पूर्व अध्यक्षलाई एउटै मञ्चबाट सुन्न पाइने छ ।

पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा हरेक गजलकारले ५–५ थान गजल सुनाउने छन् ।‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ २०५९ सालमा संस्थाको स्थापना भएको हो । नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका अलावा विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला, अन्तरक्रिया लगायत संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ आयोजना गर्दै आएको छ । यसका अलावा नेपाली गजलमा विशिष्ट योगदान दिने सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्य पनि संस्थाले गर्दै आएको संस्थाका सचिव त्रुपकले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै